दैनिक २ हजार नेपाली रोजगारीमा जानबाट रोकिए

18 March, 2026

Hom Karki

पश्चिम एसियामा युद्धको प्रभाव बढ्दै गएपछि दैनिक दुई हजारभन्दा बढी नेपाली रोजगारीका लागि खाडी मुलुक जानबाट रोकिएका छन् । सरकारले खाडी क्षेत्रमा तनाव बढेको भन्दै श्रम स्वीकृति रोकेपछि श्रम भिसा पाइसकेका श्रमिक पनि रोकिएका हुन् । सरकारले नयाँ श्रमिक मात्र होइन, बिदामा आएकाको पनि नवीकरण रोकेको थियो ।

श्रम स्वीकृति नपाएका श्रमिकलाई अध्यागमन विभागले हवाई यात्रामा रोक लगाएको छ । परराष्ट्र सचिव अमृत राईको अध्यक्षतामा बसेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ ले पश्चिम एसियाका मुलुकका नयाँ र पुराना श्रमिकलाई स्वीकृति नदिन श्रम मन्त्रालयलाई सिफारिस गरेको थियो । यसकै आधारमा वैदेशिक रोजगार विभागले १२ देशका लागि १७ फागुनदेखि नयाँ र पुराना दुवै खाले श्रम स्वीकृति दिन बन्द गरेकामा मंगलबारबाट ७ देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र तुर्किएका लागि पुनः श्रम स्वीकृति मात्र खुला गरिएको हो ।

नयाँ श्रमिकका लागि भने अझै बन्द छ । कुवेत, बहराइन, इराक, लेबनान र इजरायलका लागि भने नयाँ र पुराना दुवै खाले श्रम स्वीकृति बन्द छ । वैदेशिक रोजगार विभागका अनुसार गत माघसम्म नयाँ र पुरानासहित ७० हजार ५ सय ३ जनालाई रोजगारीका लागि श्रम स्वीकृति दिइएको थियो । तीमध्ये ४८ हजार २ सय २६ जनाले पश्चिम एसियाका १२ देशमा जान श्रम स्वीकृति लिएका थिए । नेपाली श्रमिकको प्रमुख ५ गन्तव्य मुलुकमध्ये ४ गन्तव्य खाडीका कुवेत, यूएई, साउदी र कतार हुन् ।

विमान सेवा नियमित नहुँदा युरोपको भिसा भएका श्रमिकले पनि उड्न पाइरहेका थिएनन् । १६ फागुनमा अमेरिका र इजरायलले इरानमाथि हमला थालेका थिए । लगत्तै इरानले अमेरिकी बेस क्याम्पलाई लक्षित गरी खाडीका सबै देशमा जवाफी हमला गर्न थालेपछि असुरक्षा बढेको हो । फागुनमा विभागले नयाँ र पुराना गरेर ५२ हजार जनालाई श्रम स्वीकृति दिएको थियो । १६ फागुनसम्ममा पश्चिम एसियाका १० देशमा नयाँ भिसा पाइसकेका १४ हजार ५ सय ३६ जनालाई मात्र श्रम स्वीकृति दिइएको थियो, तीमध्ये पनि धेरैजसो उड्न पाएका छैनन् ।

यूएई जान दुई लाख रुपैयाँ खर्च गरिसकेका सिन्धुलीका उज्ज्वल थापाले हातमा आएको रोजगारी धरापमा परेको बताए । मेडिकल, भिसा र कागजी प्रक्रिया पूरा गरेर उनी २१ फागुनको चुनावपछि उड्ने तयारीमा थिए । ‘अब जान पाइएन भने पैसा पनि डुब्ने हो कि भन्ने डर छ,’ उनले भने,‘घरमा सबैले आशा गरेर बसेका छन्, म के जवाफ दिऊँ !’ उनी बिरामी श्रीमतीको थप उपचारका लागि कमाउन यूएई जान खोजेका हुन् । ‘बिरामी श्रीमतीको उपचार गर्नु छ, छोराछोरीको भविष्यका लागि पनि जानैपर्छ, कहिले गएर ऋण तिरौ भन्ने छ, अहिले जान पाइएन भने के गर्ने ?’ उनले भने, ‘एकातिर खाडी क्षेत्रमा असुरक्षाको डर भयो ।

अर्कोतिर घरपरिवारको जिम्मेवारी सामुन्ने छ । जान डर पनि लाग्छ, नजाँदा घर चल्दैन । यो अवस्था निकै गाह्रो भयो । राति पनि राम्रोसँग निद्रा लाग्न छाडेको छ ।’ वैदेशिक रोजगार व्यवसासी संघका तृतीय उपाध्यक्ष वैकुण्ठ पौडेल वैभवले भिसा पाइसकेका करिब २० हजार ५ सय श्रमिकलाई पनि रोकिएको बताए । ‘भिसा पाइसकेका यूएईमा जाने १० हजार, साउदी अरब जाने ५ हजार ५ सय र कतार जाने ५ हजार श्रमिक रोकिएका छन्, उनीहरूका सबै प्रक्रिया पूरा भइसकेको छ,’ उनले भने, ‘उड्नका लागि काठमाडौं आएका श्रमिकले घर फर्कनुपरेको छ ।’ पश्चिम एसियामा बढेको युद्धको तनावले नेपालीको रोजगारीमा धक्का लागेको उनले बताए । ‘बहराइन जान ७३ श्रमिक काठमाडौं आइपुगेका थिए, उनीहरू सबैलाई बस भाडा दिएर घर पठाएको छु,’ उनले भने, ‘अब कहिले उड्ने निश्चित छैन ।’

वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले ७ वटा देशका लागि पुनः श्रम स्वीकृति दिने निर्णय मंगलबार भएकाले बिदामा आएका नेपालीलाई रोजगारदाता देशमा जाने बाटो खुलेको बताइन् । ‘इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम नवीकरण दिने निर्णय भएको छैन,’ उनले भनिन्, ‘यी देशका विमानस्थल सञ्चालनमा आइसकेका छैनन् । परिस्थितिअनुसार थप निर्णय हुँदै जान्छ । नयाँको हकमा अझै परिस्थिति अनुकूल बनिसकेको छैन ।’

केही श्रमिक क्याम्पमै, केही फर्कंदै इरानले खाडी देशमा हमला जारी राखेपछि ती क्षेत्रमा कार्यरत नेपाली श्रमिक क्याम्पमै बस्न थालेका छन् । कतिपय कम्पनीले त श्रमिकलाई नेपाल फिर्ता पठाउन थालेका छन् । इरानले यूएईको शाहा ग्यास फिल्ड, फुजैराह तेल बन्दरगाह, साउदी अरबको रस तनुरा, इराकको मजनुन तेल क्षेत्र, ओमानको सलालाह बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ । कतारको मिसाइद र स्लाफानको परियोजनामा पनि आक्रमण गरेको छ ।

त्यस्तै दुबई अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी हमला भएको छ । यी क्षेत्रमा हजारौं नेपाली श्रमिक कार्यरत छन् । कुवेत विमानस्थलमा कार्यरत सर्लाहीका राम पासवानले दुई सातादेखि क्याम्पमा नै बसिरहेको बताए । यूएईमा करार अवधि समाप्त भएका र बिदामा आउने नेपाली फर्किरहेका छन् । कतार, कुवेत र बहराइनबाट साउदी हुँदै नेपाल आउन लागेका छन् । असुरक्षित भएका वा अति जरुरी परेकालाई नेपाल आउन चाहेमा परराष्ट्र मन्त्रालयले साउदी अरब हुँदै नेपाल फर्कन सहजीकरण गरिरहेको छ । कतार, कुवेत, बहराइन र यूएईसँग साउदी अरबको जमिन जोडिएको छ ।

खाडी क्षेत्रका अधिकांश स्थानमा हवाई उडान पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट आंशिक रूपमा सञ्चालन भइरहेका छन् । यूएईबाट फ्लाई दुबई र एयर अरेबियाले सीमित उडान गरिरहेका छन् । दुबई विमानस्थलमा अस्थायी अवरोधपछि उडान पुनः सञ्चालनमा ल्याइएको छ । तर, सीमित उडान भएकाले टिकट पाउन भने निकै कठिन छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले गन्तव्य देशका सरकार, श्रमिक पठाउने देशका सरकार, रोजगारदाता र अन्तर्राष्ट्रिय संस्थाहरूलाई आप्रवासी श्रमिकको जीवन, सुरक्षा र आधारभूत अधिकार जोगाउन तत्काल आवश्यक पहल लिन आग्रह गरेका छन् ।

‘नेपालीसहित आप्रवासी श्रमिको सुरक्षाका लागि गन्तव्य देशका सरकारहरूले प्रारम्भिक रूपमा सतर्क बनाउने प्रणालीलाई बलियो बनाउनुपर्छ, सुरक्षित आश्रयस्थल र मानवीय सहयोगमा भेदभाव नगरी सबैलाई समान पहुँच दिनुपर्छ,’ इक्विडेमका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले भने, ‘रोजगारदाताले स्वदेश फिर्न चाहेमा श्रमिकको कागजात वा तलब रोक्नु हुँदैन, यो संकटको अवस्थामा तलब रोक्ने वा कामबाट निकाल्ने रोजगारदातामाथि कडा कारबाही गर्नुपर्छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024