दैनिक सात करोड रेमिटेन्स

30 September, 2014

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका जिल्लाबासीले दसैंखर्च पठाउन थालेपछि म्याग्दी सदरमुकाम बेनीबजारका बैंक र वित्तीय संस्थामा रेमिटेन्स लिन आएका सर्वसाधारणको भीड लाग्न थालेको छ। दैनिक ७ करोडसम्म रकम भुक्तान गरिरहेको सेवा प्रदायक संस्थाले जनाएका छन्।

नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, निलगिरि विकास बैंक, माछापुच्छ्रे बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, बैंक अफ काठमाण्डू, धौलागिरि बचत तथा ऋण सहकारी संस्था, ग्लोबल–आइएमई बैंक, बुद्ध बहुउदेश्यीय सहकारी, बेनी बचत तथा ऋण सहकारी संस्था, कस्तुरी बुद्ध बहुउदेश्यीय सहकारीलगायत एक दर्जन सहकारी संस्थाले दैनिक पाँच लाखदेखि एक करोड रुपैयाँसम्म वितरण गरेको बताएका छन्। ‘दैनिक एक करोड वितरण गरिरहेका छौं। अष्टमीसम्मै यस्तै भीड लाग्ने गर्छ,’ निलगिरि विकास बैंक निमित्त कार्यकारी प्रमुख अनुमान श्रेष्ठले भने। बेनीमा केन्द्रीय कार्यालय रहेको बैंकले भुरुङ तातोपानी, बावियाचौर, दरवाङ शाखा र गलेश्वरमा रहेको एक्स्टेन्सन काउन्टरबाट रेमिटेन्स भुक्तानी गर्छ। जिल्ला भित्रिने ८० प्रतिशतभन्दा बढी रकम खाडी मुलुकबाट आउने गरेको वित्तीय संस्थाले उपलब्ध गराएको तथ्यांकले देखाउँछ। सदरमुकामका साथै पश्चिम म्याग्दीको दरवाङस्थित न्यु दरबाङ बचत तथा तथा ऋण सहकारी संस्था, पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी, ताकम बहुउदेश्यीय सहकारीमा समेत सर्वसाधारणको भीड विहानैदेखि लाग्छ। एकजनाले न्यूनतम १० हजारदेखि ३ लाखसम्म लिन आउने गरेको कस्तुरी बुद्ध बहुउद्देश्यीय सहकारीका प्रबन्धक लोकेश पुनले बताए।

‘रकमको आकार हेर्दा उपभोग्य वस्तुमा खर्च गर्ने किसिमको देखिन्छ। हामीले अनावश्यक खर्च नगर्न सुझावसमेत दिने गरेका छौं,’ उनले भने। दसैंमा भित्रेको पैसा ३० प्रतिशतमात्र बैंकमा फिर्ता हुने गरेको सेवा प्रदायक संस्थाको भनाइ छ। दसैंतिहारका लागि करिब ८० करोड हाराहारी रेमिटेन्स भित्रिने गरेको छ। जिल्लाबाट करिब २० हजार रोजगारका सिलसिलामा गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रेमिटेन्स भित्रिएसँगै बजारमा सामान खरिद गर्नेको भीड बढेको छ। क्यालेण्डरको तालमेल नमिल्दा

यस वर्ष दसैं छिट्टै् परेपछि विगतको तुलनामा रेमिटेन्स वितरण कम भएको वित्तीय संस्थाले बताएका छन्। दैनिक एक करोडसम्म रकम भुक्तानी गर्ने गरेकोमा यस वर्ष घटेको धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक देवराज पौडेलले बताए। ‘खाडी मुलकबाट भित्रिने रकममा असर देखिएको छ। केहीले खाता हेरेरसमेत फर्कनुपरेको छ,’ पौडेलले भने। नेपाली र अंग्रेजी क्यालेन्डरमा तालमेल नमिल्दा विदेशमा हुनेले तलब सापटी वा अन्य माध्यमबाट पठाउने गरेको बताए। अघिल्ला वर्षमा असोजको तेस्रो साता दसैं पर्ने गरेको र अक्टोबर महिना सुरु भइसक्ने तर, यसपालि सेप्टेम्बर नै नसकिएकोले कामदारले तलब बुझ्न नपाउँदा रेमिटेन्स कम भएको उनको अनुमान छ। सबैजसो वित्तीय संस्थाले उपलब्ध गराएको विवरणमा अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले रेमिटेन्स घटेको छ। ‘सेप्टेम्बर पहिलो साता धेरै भित्रिँदा आप्रवाह बढ्ने अनुमान गरिए पनि त्यस्तो देखिएन्। दसैंतिहारको बीचमा बढ्न सक्छ,’ सहकारीका एक कर्मचारीले भने। यसैबीच, नेपाल बैंक लिमिटेडले पाँच करोड नयाँ खुद्रा नोट वितरण गरेको शाखा प्रबन्धक सूर्यप्रसाद बरालले जानकारी दिएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024