देवेन्द्र भट्टराई
दक्षिण-पश्चिम एसियाको एउटा कुनोजस्तो लाग्ने अरब मुलुक ओमानमा आज ४० हजार नेपालीको बसोबास पुगेको छ भन्दा आश्चर्य लाग्न सक्छ । यो भीडमा सिन्धुली, झाङ्गाझोली- ७ का ३५ वर्षे डीबी क्षत्री पनि श्रम, सीप र संघर्षको दुनियाँमा हराइरहेका छन्, जो यही भीडबाट उठेर अहिले गैरआवासीय नेपाली संघ, ओमानमा अध्यक्ष बन्न पुगेका छन् । एउटा निम्न मध्यमवर्गीय नेपालीको नियति र संघर्षका प्रतीक-पात्र पनि हुन् डीबी, जो सिन्धुलीमा जन्मेर, भारतको मणिपुरमा पढेबढेर अरबको साउदी अरेबिया हुँदै ओमानमा १२ वर्षदेखि भाग्यरेखा कोर्नमा व्यस्त छन् ।
नगरकोटको क्लब हिमालयमा काम गरिरहेका बेला फ्रि-अफरमा दमामस्थित अल-ताजास रेष्टुरेन्टमा कामदार बनेर सन् १९९८ मा साउदी गएका डीबीले रेगिस्तानको दुनियाँमा सास्ती व्यहोरिरहेका असंख्य नेपालीको दिनदशा नजिकबाट बुझ्न सुरु गरे । सन् २००६ सम्म दमाममा काम गरेपछि रेष्टुरेन्टको प|mेन्चाइज शाखा खोल्न उनी ओमानको मस्कट पुगेका थिए । ‘त्यसबेला ओमानमा मुस्किलले १० हजार नेपाली थिए होलान्, अहिले यो संख्या बढेर ४० हजार नाघेको छ’, उनी भन्दै थिए— ‘यता नेपालमा सशस्त्र द्वन्द्वको अन्त्य, गणतान्त्रिक नेपालको अभ्युद्वय अथवा लोकतान्त्रिक पद्धतिको थालनी भयो भनेर जे-जति मन्तव्यहरू बाहिर आए पनि देशबाट युवाश्रम बाहिरिने क्रम भने रोकिएको छैन ।’ ओमानका मस्कट, सललह, सुर, एबि्रज, स्वाहार अथवा अन्य भित्री सहरहरूमा समेत अहिले नेपाली अनुहारहरू देखिन थालेका छन् । ‘नेपाली समुदाय आफैं आफ्ना गन्तव्यहरू खोज्दै र अवसर पहिल्याउँदै बाहिर गएका हुन् । सम्भावनाहरूको खोजी गर्ने काममा यो राज्य अहिलेसम्मै लागिपरेको छैन’, छोटो छुट्टीमा घर आएका क्षत्री भनिरहेका थिए— ‘ओमान पुग्ने हुन् अथवा तुर्केमिनिस्तान जाने हुन्, सबै आफ्नो बाटोका आफैं गाइड बनेका छन् ।’ आफ्ना नागरिक कहाँ, कुन हविगतमा के गरिरहेका छन् भन्ने ख्यालसमेत राज्यले नगरिरहेको यथास्थितिमा यो ‘दुःखको खबर’ सुनाउन यसपाला डीबी यता आएका रहेछन् । ओमानलाई साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले हेर्ने भए पनि भौगोलिक दूरी र सहज पहुँचको अभावमा ओमानवासी नेपालीहरू आफ्ना असाध्य कष्ट, हैरानी र समस्याका कुराहरू आफैंमा राखेर बसेको अवस्थामा रहेछन् ।
‘नेपाल तथा ओमानबीच कूटनीतिक र व्यापारिक सम्बन्ध विस्तारका लागि पनि मस्कटमा नेपाली दूतावास अनिवार्य छ भन्ने सुनाउन आएको छु’, परराष्ट्र मन्त्रालयमा सचिव मदनकुमार भट्टराइसँग डीबी भनिरहेका थिए । परराष्ट्र जाँदा उनले साथमा साउदी अरेबियाका नवनियुक्त राजदूत उदयराज पाण्डे पनि लिएर गएका थिए, साक्षीका रूपमा । ओमानमा राम्रो व्यापारिक छवि बनाएका डा. रासिद अली इब्राहिम अल बलुसी अथवा अहम्मद बिन जइद नासर अल महरामीलाई नेपालका लागि ओमानमा अवैतनिक राजदूत बनाउने नाम र सम्बद्ध संस्थाको सिफारिससमेत लिएर उनी यता आएका थिए । दूतावास खोल्ने अथवा कन्सुलर नियुक्त गर्ने बारेमा ओमान नेपाली एकता समाजका अध्यक्ष शोभाकान्त लामिछाने, सगरमाथा समूहका सागर अधिकारी, नेपाली समाज ओमानका अध्यक्ष गोविन्द गुरुङसहितको लिखित आवेदन र आग्रह लिएर डीबी काठमाडौं आएका हुन् । सरकारले ओमान हेर्नेगरी श्रम सहचरी नियुक्त गर्ने घोषणा गरेको तर नियुक्त हुने सहचरीले साउदी अरेबियाको रियादबाटै ओमान मामिला हेर्नेसम्मको ‘अपरिपक्व र अव्यावहारिक’ निर्णयमा सचेत गराउन पनि उनी लागिपरेका थिए ।
डीबीका अनुसार, ४० हजारमध्ये झन्डै १२ हजारको संख्यामा नेपाली युवतीहरू हाउसमेडका रूपमा ओमानमा कार्यरत छन् । दैनिक १६ देखि २० घन्टासम्म काम गर्ने यी युवतीहरूले व्यहोरेको शारीरिक र मानसिक शोषणको मुद्दालाई सम्बोधन गरिदिने पनि कोही छैन । कुवेतमा एउटी डोल्मा शेर्पा अथवा ओमानको सललहमा लुसाङ तामाङको विषयले मिडियामा ठाउँ पाए पनि अझै धेरै युवतीहरू बोली बन्द गरेर बसेको अवस्थामा छन् । ‘श्रम र रोजगारीभन्दा पर्तिरका धेरै कठिनाइ लुकेका छन्, हाउसमेड काममा’, उनी भन्दै थिए— ‘सरकारले हाउसमेड खुला गर्दा इजरायल वा कोरियामा भएजस्तै भाषा र सीपको अनिवार्य तालिम प्रावधानलाई समेत समेट्नुपथ्र्यो ।’ आइरन गर्न अथवा वासिङ मेसिन चलाउनसमेत नजान्ने युवतीलाई कानुनी वा गैरकानुनी बाटोबाट काममा पठाउँदैमा न व्यक्ति न राज्यलाई कुनै फाइदा हुनसक्ने उनको बुझाइ छ ।
यही दशैंभित्रमा मस्कटमा ‘काठमाडौं किचेन’ रेष्टुरा खोल्न लागेका डीबीले बुझेको शिक्षाको परिभाषा पनि भिन्न छ । ‘शिक्षा भनेको जागिर खान र विदेश जानमात्रै होइन भन्ने बुझाउनुपर्यो, राज्यले आफ्ना नागरिकलाई आत्मनिर्भरताको शिक्षा दिलाउनुपर्यो’, उनी भन्छन् । परदेशको जीवनका बारे निकै जानकार रहेका डीबीका अनुसार देश छाडेर जाने र बाहिर दुःख पाउनेमा सबैभन्दा बढी ‘लहैलहै’को भूमिका छ । कुराको चुरो नबुझी र आफ्नो धरातल पत्तो नपाइकन विदेश जानेहरू धेरैजसो पीडित बन्ने गरेका छन्, आफ्नो कारणले आफैं पीडित हुनेको संख्या बढी छ— ओमानमा पनि ।
खाडीमा साउदी अरेबियापछिको ठूलो मुलुक ओमानसँग द्विपक्षीय सम्बन्ध विस्तारका अनेक आयाम लुकेका छन् । सिंगो खाडी मुलुकहरूको क्षेत्रीय ट्रान्जिट-एयरपोर्ट विस्तार भइरहेको मस्कटमा रोजगारीका अनन्त सम्भावना बाँकी छन् । वर्षमा २/३ पटक बृहतस्तरमा पर्यटक उत्सव मनाउने ओमानका सहरहरूमा अझै पनि नेपालको भूगोल र अवस्थितिबारे केही थाहा दिन सकिएको छैन । ‘हाम्रो पर्यटन बोर्डले चाइनिज, जापानिज, कोरियन, अंग्रेजीसहितका भाषामा नेपाल प्रबर्द्धनका पर्चा-पम्प्लेट छाप्ने गरेको छ’, डीबी भन्दै थिए— ‘खर्च गर्ने, घुम्ने र रमाउने स्वभाव भएका अरबी जगतका लागि उनीहरूकै भाषामा नेपालबारे जानकारी-पत्र बाँड्न किन नसकिएको हो ? यो जिज्ञासा खोइ, कसलाई राख्ने ?’