देश छाड्न खोज्नेहरूको ताँती

31 July, 2026

Madhujang Pandey

सरकारले स्वदेशमा भने जस्तो रोजगारीको वातावरण नबनाइदिएका कारण देश छाड्न खोज्नेहरूको ताँती झन् भयावह बनेको छ। दैनिक वैदेशिक रोजगारीमा झोला बोकेर जाने करिब दुई हजारको भिड, वैदेशिक रोजगार विभाग तथा कोरिया इपिएस शाखा, राहदानी विभाग लगायत सम्बन्धित सबै सरकारी कार्यालयमा पुगेर सेवा लिनेहरूको चाप विगतका वर्षमा भन्दा निकै बढेको छ।

बेलाबेलामा हुने त्रासदीपूर्ण राजनीतिक घटनाक्रम एवं विविध कारणले स्वदेशमा भएका उद्योग कलकारखाना एकपछि अर्को गर्दै धमाधम बन्द भएको, स्वरोजगार तथा साना उद्योग व्यवसाय सञ्चालनका लागि लगानीको वातावरण बिग्रनु र आर्थिक मन्दीको असरले स्वदेशमा काम नपाएर बाध्यताले देश छाडेर बिदेसिन खोज्नहरूको यस्तो लाइन लागेको हो।

विमानस्थलबाट अघिल्ला वर्षहरूमा दैनिक करिब एक हजार पाँच सयको संख्यामा मात्र विभिन्न मुलुकमा जाने गरेका थिए। अहिले देश छाडेर बिदेसिनेहरू पाँच सयभन्दा बढी छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयले अध्यागमन कार्यालयको तथ् यांकलाई आधार बनाएर सार्वजनिक गरेको विवरणअनुसार अहिले हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजारको संख्यामा नेपाली बिदेसिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को ३२ असारसम्म कुल सात लाख ९२ हजार १ सय ८७ जना नेपाली कामदार श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका छन्। यसमध्ये पुरुष कामदारको संख्या ६ लाख ९७ हजार ९६ जना रहेको छ भने महिला कामदारको संख्या ९५ हजार ९१ जना रहेको छ।

अघिल्लो आव २०८१/८२ मा कुल ८ लाख ३९ हजार २ सय ६६ जना श्रम स्वीकृति लिएर बिदेसिएका थिए। अघिल्लो आवको तुलनामा यो संख्या (४७ हजार ७९ जना) ५.६ प्रतिशतले कमी हो। यस वर्ष सरकारले वैदेशिक रोजगारीका लागि कामदार पठाउन खुला गरेका १ सय १० देशमध्ये संयुक्त अरब इमिरेट्स (युएई) मा सबैभन्दा धेरै १ लाख ८३ हजार ५ सय ८० जना नेपाली कामदार श्रम स्वीकृति लिएर गएका छन्। अहिले मध्यपूर्वी क्षेत्रमा अमेरिका र इरानबिचको युद्धको त्रास जारी रहेका कारण अधिकांश नेपालीको रोजाइ दक्षिण कोरिया र युरोपियन श्रम गन्तव्य मुलुकतर्फ नै हुन थालेको छ।

दक्षिण कोरियामा जाने आकर्षण बढेसँगै काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा देश छाडेर विभिन्न मुलुकमा जाने तयारीमा रहेकाहरूको लामै ताँती छ। बुधबार र बिहीबार अत्यधिक भीडमा देखिएको सो ताँती राहदानी बनाउनेको हो।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा नेपाली कामदार पठाउन विगतका वर्षमा जस्तै सन् २०२६ का लागि कोरियामा जाने नेपाली कामदार छनोट गर्न गत सोमबारबाट कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएपछि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट लिन भिड लागेको छ। पासपोर्ट बनाउने लाइनमा युवायुवती बढी देखिन्छन्।

आगामी १७ साउनसम्म कोरियन भाषा परीक्षाका लागि आवेदन दिन पाइने भएका कारण इपिएसमार्फत दक्षिण कोरिया जान खोज्ने सेवाग्राहीको चाप बढेसँगै गत सातादेखि राहदानी विभागमा सेवाग्राहीको लामो ताँती लागिरहेको छ। यस्तो चापलाई मध्यनजर गर्दै राहदानी विभागले बिहीबारदेखि विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गर्न थालेको छ।

पछिल्लो समय सरकारले हालसम्मकै धेरै डाटा ट्रान्सफर गरेर नयाँ प्रणालीबाट ई–पासपोर्ट जारी गर्न सुरु गरेको र दैनिक १५ सय राहदानी छापिएको दाबी गरे पनि देश छाड्ने तयारीमा रहेका सेवाग्राही राहदानी लिन विभागमा पुग्दा घन्टौंसम्म लामो लाइनमा बसेर सास्ती भोग्न बाध्य छन्। सेवा सुधार्न सरकारले अनेक प्रयास गरेको दाबी गर्दै आए पनि अझै सेवाग्राहीले पाउने सास्ती उस्तै छ।

लामो समय लाइनमा बस्दा कहिले सर्भर डाउन भएको समस्या तथा कागजपत्रमा हस्ताक्षर गर्ने र प्रमाणित गर्ने हाकिम नभएको भन्दै विभागका कर्मचारीले विगतमा भन्दै आएको भनाइमा पनि कुनै परिवर्तन नदेखिएको अधिकांश सेवाग्राहीको गुनासो छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा घन्टौं लाइन लागेर पनि बिहीबार राहदानी बनाउन नपाएका नुवाकोटका सेवाग्राही रामकृष्ण श्रेष्ठले सरकारले राम्रो सेवा दिएको दाबी गरे पनि अझै सेवा लिन विगतमा भोग्दै आएको बाध्यता नहटेको गुनासो गरे। यसअघि तीन वर्ष कतारको वैदेशिक रोजगारीबाट फर्किएर म्याद सकिएको राहदानी बनाएर अब दक्षिण कोरिया जाने तयारीमा रहेका श्रेष्ठले नागरिक दैनिकसँग भने, ‘यहाँ घन्टौंसम्म कुर्नुपर्ने, पटकपटक सर्भर प्रणाली अवरुद्ध हुने, अनलाइन भुक्तानी स्वीकार नहुने, अपोइन्टमेन्ट छिटै बन्द भइहाल्ने तथा राहदानी वितरणमा ढिलाइ हुने समस्या सेवाग्राहीले भोगिरहेका छन्।’

दिनभर लाइनमा बसेर पनि आफ्नो काम नसकिएको आक्रोश पोख्दै श्रेष्ठले भने, ‘आफूले खोजेको मितिमा अपोइन्टमेन्ट पनि नपाइने यो कस्तो सेवा हो ? अर्का सेवाग्राही रामेछापका हिक्मत कार्कीले पनि विगत दुई/तीन दिनदेखि आफूले राहदानी बनाउन दिनभर लाइनमा पसेर पालो कुर्दै बस्दा अझै काम नसकिने हो कि ? भन्ने निश्चित नभएको बताए। श्रेष्ठ र कार्की त प्रतिनिधि पात्र मात्र हुन्। अहिले राहदानी विभागमा पुगेर दिनभर लाइनमा बसेर पनि समयमा काम नभएपछि धेरैले यस्तो समस्याबारे जानकारी गराएका छन्।

सन् २०१८ देखि फ्रान्सेली कम्पनी आइडिमियाले सञ्चालन गर्दै आएको राहदानी छपाइ तथा व्यवस्थापनको जिम्मेवारी अहिले सरकारले जर्मन कम्पनी ‘म्युहलबउर’ र ‘भेरिडोस’ लाई हस्तान्तरण गरेको छ। कम्पनी परिवर्तन गर्दा सरकारले पहिलेको प्रणालीभन्दा अझ आधुनिक, गुणस्तरीय, छिटो र सर्वसुलभ सेवा दिने लक्ष्यसहित पुरानो ठेक्का अन्त्य गरेर नयाँ ई–पासपोर्ट प्रणाली लागु गरेको दाबी गरेको थियो, तर व्यवहारमा भने अपेक्षाअनुसार काम हुन नसकेको सेवाग्राहीको आरोप छ।

लाइनमा बसेका अधिकांश सेवाग्राहीका अनुसार सबै प्रक्रिया पु¥याएर आवेदन दिँदा राहदानी लिन झन्डै दुई साताको समय पाउने अवस्था छ। सरकारको यस्तो काम गर्ने तरिकाबाट सेवाग्राहीले सास्ती भोग्नुपरेको उनको भनाइ छ। कोरियन भाषा परीक्षामा सहभागी हुन आवेदन दिने सेवाग्राहीको चाप बढेसँगै राहदानी विभागले पनि बिहीबारबाट विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गरेको छ।

राहदानी विभागले आगामी २२ साउनसम्म विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गरिने बताएको छ। विभागले सार्वजनिक बिदाको दिनमा समेत राहदानी सेवा प्रदान गर्ने निणर्य गरेको जनाएको छ। विभागका अनुसार राहदानी वितरण कार्य पहिलो सिफ्ट बिहान ७ देखि २ बजे र दोस्रो सिफ्ट दिउँसो २ देखि राती ९ बजेसम्म सञ्चालन हुनेछ। विभागले सेवाग्राहीको सहजताका लागि शनिबार र सार्वजनिक बिदाका दिनसमेत बिहान १० देखि बेलुकी ४ बजेसम्म राहदानी सेवा उपलब्ध गराउने जनाएको छ।

इपिएस कोरिया शाखाले यस वर्ष कुल सात हजार २ सय जना नेपाली कामदार पठाउन भाषा परीक्षाको आवेदन खुलाएपछि अहिले वैदेशिक रोजगारीको आकर्षक श्रम गन्तव्य मूलुक दक्षिण कोरिया जाने तयारीमा रहेका युवाको चाप बढेको हो।

पछिल्लो एक सातादेखि विशेषगरी दक्षिण कोरिया जानका लागि लिइने इपिएस भाषा परीक्षाका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेको छ। सोही कारण राहदानी विभागमा पुगेर राहदानी लिने सेवाग्राहीलाई सहजरूपमा सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।

यसैगरी शनिबार र आइतबारको सार्वजनिक बिदाको दिनसमेत विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा सञ्चालन गर्ने जनाएको छ। अहिले इपिएस भाषा परीक्षाका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेसँगै राहदानी बनाउन आउनेको चापसमेत बढेको हो। कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढाउन राहदानी अनिवार्य हुने भएकाले पछिल्लो एक सातादेखि राहदानी लिन सेवाग्राहीको चाप बढेको विभागले जनाएको छ।

सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्दै समयमै सेवा उपलब्ध गराउने उद्देश्यले अतिरिक्त समय र दुई सिफ्टमा सेवा सञ्चालनको व्यवस्था गरिएकाले अब विस्तारै चप कम हुने विभागले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024