दसैं मान्न प्रवासीको हुल

27 September, 2011

माधव ढुंगाना

विगत ५ वर्षदेखि बुबाआमाको हातबाट टीका र आशीर्वाद थाप्न नपाएका स्याङ्जा पुतलीबजार ३ का चण्डीराज शर्मा यसपटक दसैं धुमधामले मनाउन घर फर्केका छन् ।

मुम्बईस्थित ‘अलइन्डिया गार्मेन्ट’ मा सुरक्षा गार्ड उनी आइतबार बिहान सुनौली हुँदै काँधमा झिटीगुन्टा र त्यसमाथि चारवर्षे छोरा बोकेर नेपाल भित्रिँदै थिए । साथमा श्रीमतीले एउटा झोला र काखे छोरी च्यापेकी थिइन् । ‘यसपटक त बुवाआमा र इष्टमित्रको हातबाट टीका थाप्ने भनेर बिदामा आएको,’ तिन दिनको यात्राले थकित भए पनि घर पुग्न फुर्तिलो बनेका शर्माले भने, तर सिमा क्षेत्रमा रहेका दलालले पो हैरान पार्ने गरेका छन् । पर्वत फलेवासका धनबहादुर विकको आगमन भने अलि फरक छ । तीन वर्षअघि आमाको उपचार गर्न डेढ लाख रुपैयाँमा साहुलाई बन्धकी दिएको जमिन अहिले फर्काउने योजनाले उनी भारतको गाजियावाद बाट हानिएका हुन् । ‘वर्षौंदेखिको आमा, बाबु, श्रीमती छोराछोरीसँगको अत्याहट त छँदै छ, बन्धकीमा रहेको जमिन फर्काउने मुख्य उद्देश्य हो,’ उनले भने, दसैं र साथीभाइसँगको रमाइलो आफ्नै ठाउँमा छ ।

शर्मा र विकजस्तै दसैंका निम्ति झिटीगुन्टा र बालबच्चा च्याप्दै दसैंका लागि सुनौली-भैरहवा नाकाबाट हजारौंको संख्यामा प्रवासी नेपालीको हुल चौबीसै घन्टा देखिन थालेको छ । उनीहरूको आगमनले सिमाना र बसपार्क क्षेत्र पूरै व्यस्त देखिन्छ । यही मौका छोपेर सिमानाका विभिन्न खाले नेपाली र भारतीय दलाल पनि मौकाको फाइदा उठाउन लागिरहेका छन् ।

घर फर्केका प्रवासी नेपालीका अनुसार, रिक्सावाला, गाडीवाला, ट्राभल्स एजेन्सी, होटेलवाला, चेकजाँचका सुरक्षाकर्मी तथा कर्मचारीबाट विभिन्न बहानामा पैसा असुल्ने गर्छन् । बसवालाले पनि बीच बाटोमा ओर्लिनुपर्ने यात्रुलाई पुरै दुरीको भाडा लिने गरेका छन् । होटेलवालाले कोठा र खानाको भाउ महँगो गराउने, सुरक्षाकर्मीले चेकजाँचको नाममा पैसा असुल्ने गरेको आरोप पीडितको छ ।

सुनौली नाकाबाट बिशेषगरी भारतको दिल्ली, मुम्बई, पंजाव, राजस्थान, कस्मीर, गुजरात, बैग्लोर, लखनउ, गोरखपुर कानपुर, इलाहावाद, मुरादावाद, बनारस, देहरादून, मद्रासलगायत सहरमा कार्यरत रूपन्देही, नवलपरासी, पाल्पा, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, तनहुँ, म्याग्दी, गोरखा, चितवन, धादिङ, गुल्मी, अर्घाखाँची, नुवाकोटका प्रवासीको परिवार दसैं मनाउन घर फर्किने गरेको छ ।

सामान्यतया, १८ घन्टाभन्दा बढी समय लाग्ने यात्रामा अधिकांशले भारतको गोरखपुरसम्म रेलमा र त्यहाँबाट बस र जिपमा सिमानासम्म आउने गरेका छन् । दसैंको निम्ति भारतमा अध्ययनरत नेपाली विद्यार्थी र भारतीय सेनामा कार्यरतको संख्या पनि बाक्लिदो छ । दुवै देशका सिमा नाकामा रहेका दलालबाट जोगिन बिद्यार्थीले निकै सजगता अपनाउने गरेको पाइन्छ । ‘यस्तो बेलामा अलि चलाख नहुने हो भने त रिक्सादेखि गाडीवालसम्म सबैले ठग्न थालिहाल्छन्,’ भारतको रुटकी विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै गरेका पोखरा नदीपुरका शिव क्षेत्रीले भने नेपालमा भन्दा भारततिर भन्सारका कर्मचारी र सुरक्षाकर्मीले बढी सताउने गर्छन् ।

घर फर्केका परिवारलाई सीमा क्षेत्रमा कुनै पनि ठगी र अवैध असुली हुन नदिन बिशेष सुरक्षा योजना लागू गरिएको दाबी प्रशासनले गरेको छ । नेपालको सीमावर्ती बेलहिया इलाका प्रहरीका निरीक्षक वीरेन्द्र गोदारले दसैंतिहारमा आवतजावत गर्ने नेपाली यात्रुलाई लक्षित गरी दुईवटा सिसिटिभी जडान गरी हरेक गतिविधि नियालिनुका साथै सादाका सुरक्षाकर्मी परिचालन गर्न थालिएको बताउँछन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024