सप्तरी सदरमुकाम राजविराज नगरपालिका–१६ बोरियास्थित सदा बस्तीका चार जना युवक भोटेकोशोको बाढीमा परेर सम्पर्कविहीन भएको शनिबार ११ दिन भएको छ । तर, उनीहरूको कुनै खोजखबर नहुँदा सिंगो दलित बस्ती नै यतिबेला चिन्तित छ ।
बस्तीका २८ वर्षीय सुरेन्द्र सदा पाँच महिनाअघि जीविकोपार्जन गर्न नुवाकोटस्थित किस्पाङ गाउँपालिकाको ‘त्रिशूली थ्री बी’ जलविद्युत् आयोजना पुगे । त्यहाँ उनले मजदुरका रूपमा रोजगारी पाएपछि काम गर्न थाले । तर, गत भदौ १० मा आएको भीषण बाढीपछि सुरेन्द्र सम्पर्कविहीन हुँदा उनको परिवार चिन्तामा छ । श्रीमान् सुरेन्द्र सम्पर्कविहीन भएपछि उनकी २४ वर्षीया श्रीमती द्रोपतीदेवी अहिले राम्ररी बोल्न सक्ने अवस्थामासमेत छैनन् । श्रीमान्को खबर पर्खिरहेकी द्रोपतीको घरमा यतिबेला आशाभन्दा बढी सन्नाटा छाएको छ ।
श्रीमती, दुई छोरी र एक छोरासहितको परिवारको जीविकोपार्जनका लागि सुरेन्द्र सप्तरीबाट नुवाकोटको सुरुङ पसेका थिए । सुरेन्द्रकी ८ वर्षीया छोरी चाँदनी भने अझै बुवा घर फर्किने आशामा छिन् । उनलाई बुवाको वास्तविक अवस्थाबारे केही थाहा छैन । उनका लागि बुवा अझै पनि काममा गएका छन् र काम सकेर घर फर्किनेछन् । ‘बुवा नोकरी गर्न त्रिशूली धार जानुभएको छ । मंगलबार बुवासँग गफ भएको थियो । काम सकेर बुवा आउनुहुन्छ,’ चाँदनीले भनिन् ।
राजविराज नगरपालिका–१६ बोरियाका सुरेन्द्र सदा एक्लो मात्रै ‘त्रिशूली थ्री बी’ जलविद्युत् आयोजनामा काम गर्ने स्थानीय थिएनन् । उनीसँगै सोही सुरुङमा ४५ वर्षीय बेचन सदा, ३० वर्षीय शिवकुमार सदा र २२ वर्षीय सुनिल सदा पनि काम गर्थे । गत भदौ १० गते रसुवा–नुवाकोट क्षेत्रमा भीषण बाढी आउँदा उनीहरू आयोजनास्थलमै थिए । त्यसयता भने चारै जना सम्पर्कविहीन रहेको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिए ।
‘आमा क्यान्सरले बितिन्, बुवा बाढीमा बेपत्ता भए’
बोरियाकी किरणकुमारी सदाका लागि यो पीडा झन् असह्य छ । गत कात्तिकमा उनले क्यान्सरबाट आमा गुमाइन् । आमाको मृत्युको पीडाबाट सम्हालिन नपाउँदै अहिले बुवा बेचनको कुनै खबर छैन । एकपछि अर्को पारिवारिक विपत्तिले उनको परिवारमाथि बज्रपात भएको छ ।
‘पैसा नभएर आमालाई उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लैजान सकेनौं । यतै उपचार गराउँदा धेरै ऋण भयो,’ बेचनकी छोरी किरणकुमारीले भनिन्, ‘त्यहीँ ऋण तिर्न र आमाको वर्षीमा लाग्ने खर्चको जोहो गर्न बुवा त्रिशूलीको सुरुङमा काम गर्न जानुभएको थियो । आमा पनि हुनुहुन्न, बुवाको पनि कुनै खोजखबर छैन । भाइ सानै छ । हामी तीन दिदीबहिनी अब कसरी गुजारा चलाउने ? सरकारले जसरी भए पनि बुवाको खोजी गरिदियोस् ।’
आमाको उपचारमा लागेको ऋण तिर्न र परिवारको खर्च धान्न रोजगारीका लागि सुरुङ पसेका बेचन आफैं अहिले परिवारका लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनेका छन् । आमाको निधनपछि अभिभावकको सहारा बनेका बुवाको अवस्था अज्ञात हुँदा किरणसहित उनका दुई बहिनी र सानो भाइको भविष्यसमेत अन्योलमा परेको छ ।
सुरुङमा काम गर्न गएका तीन जना युवा बाढीमा सम्पर्कविहीन भएपछि अहिले शोक र चिन्ताले बोरिया गाउँ नै स्तब्ध छ । किरणकुमारीकी ठूलीआमा तेतरीदेवी सदा गाउँमा रुवाबासी छाएको बताउँछिन् । ‘मेरा चार जना भतिजा–भतिजी छन् । उनीहरूका बुवा बेचनको अहिलेसम्म पत्तो छैन,’ तेतरीदेवीले भनिन्, ‘हामी पनि गरिब छौं । अब यी बच्चाहरूलाई कसरी पाल्ने ? खान–लाउन के दिने ?’
यस्तै पीडामा छिन्, बेपत्ता भएका ३० वर्षीय शिवकुमार सदाकी पत्नी गुडियादेवी । श्रीमान्को अवस्थाबारे कुनै खबर नआउँदा उनको आँखामा आँसु रोकिएका छैनन् । ‘सासु–ससुरासहित चार जना छोराछोरी छन् । आफू पनि बिरामी छु, श्रीमान्को कुनै खोजखबर छैन,’ गुडियादेवीले भनिन्, ‘बाढी गएको अघिल्लो राति श्रीमान्सँग कुरा भएको थियो । त्यसपछि कुनै खबर छैन । प्रहरी कार्यालयमा जानकारी गरायौं, तर अहिलेसम्म कुनै पहल भएको छैन । हामी गरिब–दलितले आफ्नो मान्छे खोज्न कहाँ जाने ? अब सरकारकै भरमा छु ।’
शिवकुमारको अवस्था अज्ञात भएपछि गुडियादेवीमाथि चार सन्तान, सासु–ससुराको जिम्मेवारीसमेत आइपरेको छ । आफू स्वयं बिरामी रहँदा श्रीमान्को अत्तोपत्तो नहुँदा परिवारको दैनिकी कसरी धान्ने भन्ने चिन्ताले उनलाई झन् थिचेको छ ।
उता, रसुवास्थित हाइड्रो प्रोजेक्टमा सिभिल इन्जिनियरका रूपमा कार्यरत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँका २८ वर्षीय दिलीपकुमार मण्डल र ३२ वर्षीय मनिषकुमार मण्डल पनि बाढीपछि सम्पर्कविहीन छन् । दुई होनहार युवाको अवस्था अज्ञात भएपछि उनीहरूको परिवारमा रुवाबासी छ । गाउँ नै शोकमा डुबेको छ ।
दिलीपकी ५८ वर्षीया आमा झुलुरदेवी मण्डल अझ छोराको बाटो कुरिरहेकी छिन् । आँखामा आँसु लिएर उनले सरकारसँग छोराको सकुशल खोजी गरिदिन हारगुहार गरिन् । ‘मेरो छोराको कुनै खबर छैन । उ सुरुङमा काम गर्दै थियो,’ झुलुरदेवीले भनिन्, ‘दुवै हात जोडेर बिन्ती गर्छु, मेरो छोरालाई मलाई फर्काइदिनुस् सरकार ।’
शुक्रबार ‘त्रिशूली थ्री ए’को सुरुङबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडी टोल निवासी इन्जिनियर सञ्जय साहको जिवित उद्धार भएको थियो । अझै सप्तरीका ५१ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन रहेकाहरु रसुवा र नुवाकोट जिल्लामा कार्यरत थिए । बाढीपछि उनीहरु परिवार र आफन्तको सम्पर्कबाट अहिलेसम्म बाहिर छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार बाढीपछि जिल्लाबाट कुल ७१ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो । तीमध्ये १९ जना परिवार तथा आफन्तको सम्पर्कमा फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ । बाँकी ५१ जनाको अवस्था अझै अज्ञात छ ।
सम्पर्कविहीनमध्ये खड्क नगरपालिका–५ का २८ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको पुष्टि भएको छ । नुवाकोटस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने चौधरीको शव पोखराबाट भदौ १४ गते परिवारले बुझेको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।