त्रिशुली नदीमा काम गर्ने मजदुरका सामान फिर्ता

23 July, 2026

Bikash Rauniyar

इलाका प्रहरी कार्यालय धादिङ गजुरीले नियन्त्रणमा लिएको त्रिशुली नदि किनारमा काम गर्ने मजदुरहरुको सामग्री फिर्ता गरेको छ । धादिङको गजुरी गाउँपालिका–६ वन्छेटारस्थित त्रिशुली नदीमा पानीको बहाव बढेपछि मानवीय सुरक्षा तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय गजुरीले उनीहरुको सामग्री नियन्त्रणमा लिएको थियो ।

उजुरी परेपछि इलाका प्रहरी कार्यालय गजुरीले नदि किनारमा काम गरिरहेका मजदुरलाई हटाउँदै उनीहरूले प्रयोग गर्दै आएका थुन्से, साबेल तथा बालुवा निकाल्न प्रयोग हुने फलामका डिब्बालगायत सामग्री नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार त्रिशुली नदीको बहाव बढेपछि मजदुरहरूको ज्यान जोखिममा पर्ने अवस्था देखिएकाले मानवीय सुरक्षालाई प्राथमिकतामा राख्दै सामग्री अस्थायी रूपमा नियन्त्रणमा लिइएको थियो । नदीको बहाव घटेर अवस्था सामान्य बनेपछि नियन्त्रणमा राखिएको सबै सामग्री सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको उनले बताए ।

स्थानीयका अनुसार नदीजन्य पदार्थ उत्खननमा मेशिन प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । तर परम्परागत रूपमा थुन्से, साबेल तथा फलामका डिब्बा प्रयोग गरी बालुवा निकाल्ने अभ्यास वर्षौंदेखि चल्दै आएको छ । यही कामबाट दर्जनौं परिवारले दैनिक जीविकोपार्जन गर्दै आएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024