तिहारमा बिछोडिनुको पीडा

26 October, 2011

दीपेन्द्र विष्ट

निधारभरि रातो टीका र गलामा फूलको माला लगाएका इलामका लक्ष्मीप्रसाद आचार्यको अनुहारमा खुसी थिएन। भाइटीकाको तीन दिनअघि घर छोड्दा उनी न्यास्रो मानिरहेका थिए।

गहभरि आँसु बनाउँदै उनले भने, ‘मलाई तिहारमा घर छोड्दा सही नसक्नु भएको छ, मेरी सानी बहिनी इलाममा छन्, यसपालि मलाई टीका लगाइदिन नपाउँदा उनलाई कस्तो भए होला ? मैले कल्पनासम्म पनि गर्न सकेको छैन।’

 

मजदुरीका लागि मलेसिया जाँदै गरेका आचार्यलाई मंगलबार कोटेश्वर चोकमा आफन्तहरूले घेरिरहेका थिए। स्वदेशमा रोजगारी नपाउँदा तिहारमा धेरैका दिदीबहिनीले दाजुभाइलाई टीका लगाउन नपाएको उनले बताए । उनले भने, ‘गत वर्षको तिहार गाउँमै देउसी खेलर मनाएको थिएँ, यसपालि साथीसँग विछोड भयो।’

 

जयमाला सिंह तिहारमा टीका लगाउन काठमाडौं आएकी थिइन् । अमेरिका बस्दै आएकी सिंहले कामविशेषले भाइटीकाअघि नै काठमाडौं छोड्नुपर्दा निकै खल्लो लागेको बताइन्। तीन महिनाअघि उनी यहाँ आएकी थिइन् । छ वर्षदेखि उनले दाजुभाइलाई टीका लगाउन पाएकी छैनन्। ‘यसपालि त म जसरी पनि तिहार मनाएर जान्छु भनेर आएकी थिएँ, समयको बाध्यताले भाइटीकामै दाजुभाइसँग छुट्टनिुपर्‍यो,’ उनले भनिन्।

 

उनका दाजु मधुकरशमशेर राणाले दाजुभाइ र दीदीबहिनीबीच सद्भाव, प्रेम सम्बन्ध बाँड्ने चाड तिहारमा छुटि्नुपर्दा दुःख लागेको बताए। जयलक्ष्मीमाला सिंहले भनिन्, ‘अर्को तिहारमा म भाइसँग मनाउने गरी आउँछु।’

 

सिंह र आचार्य जस्तै बर्दियाका अनिराम विक, सर्लाहीका सुरेन्द्र मण्डल र उपेन्द्र साहनी पनि आँगनमै आइसकेको तिहार छोड्दा निकै कठिन भएको बताए। ‘उसै पनि परदेश जानु, त्यसैमा भाइटीका छोड्दा सही नसक्नु भएको छ’ अनिराम विकले भने।

 

अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कम्प्युटर अधिकृत शान्ता भुजुले अन्य दिनभन्दा तिहारको बेला वैदेशिक रोजगारीमा जानेको संख्या केही कमी भए पनि त्यति अन्तर नदेखिएको बताए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024