नेपालको वैदेशिक रोजगार गाउँदेखि सहरसम्म धेरै परिवारको जीवनसँग प्रत्यक्ष जोडिएको छ । वैदेशिक रोजगारीमा गएका युवाको श्रमबाट परिवारको आय बढेको छ, बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गर्न सहज भएको छ । घरपरिवारको जीवनस्तरमा सुधार आएकाले देशको सामाजिक विकास सूचकाङ्क उल्लेख्य रूपमा बढ्नुका साथै विप्रेषण आप्रवाहले नेपालको अर्थतन्त्रलाई समेत विशेष योगदान दिएको छ । विप्रेषण र विदेश जाने श्रमिकको सङ्ख्याका अलावा श्रमिकले रोजगारीमा जान गरेको खर्च, करार अनुसारको काम, तोकिए अनुसारको पारिश्रमिक, सुरक्षित कार्यस्थल र समस्या पर्दा राज्य तथा सम्बन्धित संस्थाबाट पाएको सहयोगलगायतका विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । त्यसैले आजको आवश्यकता धेरै नेपालीलाई विदेश पठाउने भन्दा पनि वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, व्यवस्थित र लाभदायी बनाउनु एवं दीर्घकालमा स्वदेशमा नै रोजगारीको सिर्जना गरी विदेशमा काम गर्न जान नपर्ने व्यवस्था गर्नु पनि हो ।
रोजगारीको बदलिँदो स्वरूप
नेपालीहरू गोर्खा सैनिकका रूपमा विदेशमा सेवा गर्ने, भारतमा रोजगारीका लागि जाने क्रमबाट वैदेशिक श्रम आप्रवासनको सुरुवात भयो । पछिल्ला दशकमा यसको स्वरूप निकै परिवर्तन भएको छ । सन् १९९० को दशकपछि खाडी मुलुक र मलेसियामा निर्माण, सेवा, सुरक्षा तथा अन्य क्षेत्रमा नेपाली श्रमिकको माग बढेसँगै संस्थागत वैदेशिक रोजगार विस्तार भयो । कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसियालगायतका मुलुक नेपाली श्रमिकका प्रमुख गन्तव्य बने । पछिल्लो समय दक्षिण कोरिया, जापान, युरोप इजरायल तथा अन्य देश पनि नेपाली श्रमिकका नयाँ गन्तव्यका रूपमा थपिँदै गएका छन् ।
वैदेशिक रोजगारलाई व्यवस्थित गर्न कानुनी र संस्थागत संरचना पनि विकास हुँदै आएको छ । वैदेशिक रोजगार ऐन, २०६४ वैदेशिक रोजगार नियमावली २०६४ तथा अन्य नीतिगत तथा कानुनी प्रबन्धले प्रशासनिक र कानुनी व्यवस्थापन गर्न सहज भएको छ । वैदेशिक रोजगारसम्बन्धी कामलाई व्यवस्थित गर्न वैदेशिक रोजगार विभाग स्थापना भई विभागको जिम्मेवारी श्रम स्वीकृतिमा मात्र सीमित नभई इजाजत पत्रवाला म्यानपावर कम्पनीको नियमन, अनुगमन, उजुरी व्यवस्थापन, ठगी नियन्त्रण तथा अन्य विभिन्न काममा यसको महत्वपूर्ण भूमिका छ ।
अर्थतन्त्रमा ठुलो योगदान
वैदेशिक रोजगारको सबैभन्दा ठुलो आर्थिक योगदान विप्रेषण हो; यसले देशमा विदेशी मुद्रा भित्र्याउन र बाह्य क्षेत्रलाई स्थिर राख्नसमेत योगदान पुर्याएको छ । विदेशबाट फर्किएका श्रमिकसँग सिप, अनुभव, काम गर्ने संस्कार, नयाँ प्रविधिको ज्ञान र उद्यम गर्ने क्षमता पनि आउँछ । त्यसैले वैदेशिक रोजगारबाट प्राप्त लाभलाई विप्रेषणमा मात्र सीमित नराखी सिप र पूँजीलाई पनि स्वदेशको उत्पादन र रोजगारीसँग जोड्न आवश्यक छ ।
वैदेशिक रोजगारमा सरकार, श्रमिकदेखि म्यानपावर कम्पनी, व्यवसायी सङ्घ, स्वास्थ्य संस्था, अभिमुखीकरण संस्था, बिमा कम्पनी, बैङ्क तथा वित्तीय संस्था, वैदेशिक रोजगार बोर्ड, नेपाली नियोग र विदेशी रोजगारदातासम्म धेरै पक्ष जोडिएका हुन्छन् । म्यानपावर कम्पनी, विदेशी रोजगारदाता र नेपाली श्रमिकबिच महत्वपूर्ण माध्यम हुन् । वास्तविक रोजगारदाता र सही रोजगारको पहिचान गर्ने, श्रमिक छनोट गर्ने, करारबारे जानकारी दिने र विदेश पुगेपछि समस्या परेमा आवश्यक सहजीकरण गर्ने जिम्मेवारी व्यवसायीले लिन सक्छन् । केही गलत अभ्यासका कारण सम्पूर्ण म्यानपावर व्यवसायलाई एउटै दृष्टिले हेर्नु उचित हुँदैन । असल व्यवसायीलाई प्रोत्साहन र गलत काम गर्नेलाई कारबाही गर्ने नीति उपयुक्त हुन्छ । स्वास्थ्य परीक्षण पनि वैदेशिक रोजगारको महत्वपूर्ण चरण हो । स्वास्थ्य परीक्षणको उद्देश्य केवल ‘फिट वा अनफिट’ प्रमाणपत्र दिनु मात्र नभई श्रमिकको स्वास्थ्य अवस्था पहिचान गर्नु र कामको प्रकृति अनुसार आवश्यक स्वास्थ्य मापदण्ड पूरा भएको सुनिश्चित गर्नु हो । स्वास्थ्य परीक्षणमा गुणस्तर, पारदर्शिता र विश्वसनीयता कायम गर्नु आवश्यक छ । पूर्वप्रस्थान अभिमुखीकरणलाई पनि औपचारिक प्रमाणपत्र लिने प्रक्रियाका रूपमा मात्र लिनु हुँदैन । श्रमिकलाई सम्बन्धित देशको कानुन, भाषा, संस्कृति, कामको प्रकृति, पारिश्रमिक, करार, कार्यस्थलको सुरक्षा, अधिकार तथा समस्या पर्दा सम्पर्क गर्ने निकायबारे व्यावहारिक जानकारी दिन सकिएमा विदेशमा हुने धेरै समस्या कम गर्न सकिन्छ । बिमा, बैङ्क तथा वित्तीय संस्था र सामाजिक सुरक्षाको पनि महत्वपूर्ण भूमिका हुन्छ । बिमाले दुर्घटना, मृत्यु तथा अन्य जोखिममा श्रमिक र परिवारलाई आर्थिक सुरक्षा दिन सक्छ । बैङ्क तथा वित्तीय संस्थाले विदेशमा कमाएको रकम सुरक्षित रूपमा परिवारसम्म पुर्याउन र बचत तथा लगानीमा जोड्न सहयोग गर्न सक्छन् । यसरी हेर्दा वैदेशिक रोजगारलाई श्रम स्वीकृतिमा मात्र सीमित नराखी श्रमिक विदेश जाने तयारीदेखि स्वदेश फर्किएपछिसम्मको सम्पूर्ण यात्रासँग जोडेर हेर्न उपयुक्त हुन्छ ।
मर्यादित वैदेशिक रोजगार
वैदेशिक रोजगारको सफलता केवल पठाएका श्रमिकको सङ्ख्याबाट मात्र मापन हुनु हुँदैन । श्रमिकको सुरक्षा, करार अनुसारको काम र पारिश्रमिक, गुनासोको सम्बोधन तथा समग्र सन्तुष्टि नै यसको मुख्य आधार बन्नु पर्छ । यसका लागि म्यानपावर व्यवसायमा पारदर्शिता, जिम्मेवारी र व्यावसायिकता अपरिहार्य छ । भर्ती प्रक्रियामा लाग्ने लागत स्पष्ट र डिजिटल हुनु पर्छ भने लुकेको शुल्क पूर्ण रूपमा बन्द गरिनु पर्छ ।
नक्कली मागपत्र, अतिरिक्त शुल्क, मानव तस्करी र करार उल्लङ्घन जस्ता गतिविधिमा शून्य सहनशीलताको नीति अपनाउनु पर्छ । राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन र सम्मानित गर्नुका साथै कानुनविपरीत काम गर्नेलाई कडा निगरानी र निष्पक्ष कारबाही गर्नु पर्छ । व्यावसायिक छाता संस्थाले पनि आचारसंहिता लागु गराउन नेतृत्वदायी भूमिका खेल्नु पर्छ । यस किसिमको नीतिले म्यानपावर व्यवसायको सामाजिक प्रतिष्ठा बढाउनुका साथै वैदेशिक रोजगारीमा जाने श्रमिकको अधिकार र सुरक्षालाई पूर्ण रूपमा सुनिश्चित गर्ने छ ।
डिजिटल समन्वय र नियमन
वैदेशिक रोजगार क्षेत्रको आकार बढ्दै गएको अवस्थामा वैदेशिक रोजगार विभागको कार्यप्रणालीमा पनि समय अनुसार सुधार गरिँदै आएको छ । विभागलाई पारदर्शी, सरल, छिटो र जिम्मेवार बनाउन श्रम स्वीकृतिदेखि उजुरी समाधानसम्मका काम सकेसम्म अनलाइनबाट गर्न सकिने व्यवस्था सुरु भएको छ । श्रमिकले आफ्नो आवेदनको अवस्था मोबाइलबाटै हेर्न सक्ने, आवश्यक कागजातबारे जानकारी पाउने र अनावश्यक रूपमा कार्यालय धाउन नपर्ने व्यवस्थाका लागि विभिन्न सप्टवेयर प्रणालीको प्रयोग भइरहेको छ । म्यानपावर कम्पनीको इजाजत, मागपत्र, गुनासो र कारबाहीसम्बन्धी आधारभूत विवरण सार्वजनिक गर्न सके श्रमिकलाई सही कम्पनी छनोट गर्न पनि सहयोग पुग्छ ।
प्रत्येक श्रमिकको श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, अभिमुखीकरण, बिमा र रोजगारसम्बन्धी विवरण सुरक्षित रूपमा एउटै डिजिटल प्रणालीमा राख्न र उजुरी गरेपछि त्यसको अवस्था कहाँ पुगेको छ भन्ने जानकारी पनि अनलाइनबाट हेर्न सकिने व्यवस्थाका लागि एकीकृत डिजिटल प्रणाली विकासको कामका लागि मन्त्रालयले सरोकारवाला निकायसँग समन्वय गरिरहेको छ । विभागले सबै संस्थालाई समान रूपमा अनुगमन गर्नुभन्दा बढी गुनासो र समस्या देखिएका संस्थामा बढी ध्यान दिने, राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन र समस्या मात्र सिर्जना गर्ने तथा अवाञ्छित गतिविधि गर्ने संस्थालाई जोखिम र कसुरका आधारमा नियमानुसार कडा नियमन गर्ने पद्धति विकास गरिसकेको छ । कर्मचारीले गरेको काम र निर्णयको स्पष्ट अभिलेख राखी सेवामा हुने ढिलाइ र अनियमितता घटाउन प्रत्येक सेवाका लागि लाग्ने समय स्पष्ट गरी सोही अनुसार सेवा दिने व्यवस्था गर्नु विभागले नेपाल सरकारको तत्काल सुधार कार्ययोजनाबमोजिमका कार्य अघि बढाएको छ ।
अबको लक्ष्य
अब वैदेशिक रोजगारको सफलता ‘कति जना विदेश गए ?’ भन्ने प्रश्नले मात्र मापन नगरी कति जना सिपयुक्त भएर गए, कतिले उचित पारिश्रमिक पाए, कतिले करार अनुसार काम पाए, कति सुरक्षित रहे र फर्किएपछि कति जनाले आफ्नो सिप तथा कमाइलाई स्वदेशमा उपयोग गर्न सके भन्ने कुरासमेत हेर्न आवश्यक छ । वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउनु आजको आवश्यकता हो । म्यानपावर व्यवसायीलाई जिम्मेवार र सम्मानित व्यवसायका रूपमा विकास गर्ने, वैदेशिक रोजगारसम्बन्धी कुनै पनि सेवामा एकाधिकार तथा प्रतिस्पर्धा सङ्कुचन हुने अवस्था सिर्जना हुन नदिने स्वास्थ्य तथा अभिमुखीकरण संस्थाको गुणस्तर बढाउने, वैदेशिक रोजगारका सन्दर्भमा श्रमिकले कुनै पनि बिचौलियाको सम्पर्कबिना नै प्रशासनिक काम सम्पन्न गर्न सक्ने वातावरण बनाउन प्रविधिको प्रयोग बढाउने र श्रमिकमैत्री सेवा प्रवाह गर्ने र वैदेशिक रोजगार विभागलाई पारदर्शी, प्रविधिमैत्री तथा जवाफदेही बनाई श्रम आप्रवासनलाई थप व्यवस्थित गर्नु आजको कार्यभार हो ।
अन्ततः हाम्रो लक्ष्य धेरैभन्दा धेरै श्रमिक विदेश पठाउनु मात्र होइन, सुरक्षित रूपमा पठाउने, उचित लागतमा पठाउने, सिपयुक्त बनाउने, विदेशमा समस्या पर्दा सहयोग गर्ने र फर्किएपछि उनीहरूको सिप तथा पुँजीलाई स्वदेशको विकासमा उपयोग गर्ने प्रणाली निर्माण गर्नु हो । त्यसपछि मात्र वैदेशिक रोजगारलाई बाध्यताबाट अवसरमा रूपान्तरण गर्न सकिन्छ । विदेशमा नेपाली श्रमिकले गरेको श्रमको सम्मान, राज्यको जिम्मेवारी र व्यवसायीको इमानदारी जोडिएर मात्र सुरक्षित, मर्यादित र लाभदायी वैदेशिक रोजगारको आधार तयार हुन सक्छ ।