देशमा बलियो आर्थिक उपार्जनको सम्भावना न्यून छ । सरकारले पूर्वाधार निर्माण र उद्यमका अवसर सिर्जना गर्नका लागि प्रशस्त लगानी गर्न सकेको पाइँदैन । लगानी वातावरण बनाउन र सुरक्षाको प्रत्याभूति दिन नसक्दा निजी क्षेत्र फस्टाउन र वैदेशिक लगानी आकर्षित हुन सकेको छैन । परिणामतः हरेक वर्ष श्रम बजारमा आउने करिब पाँच लाख युवामध्ये धेरैको गन्तव्य वैदेशिक रोजगार हुने गरेको छ ।
अहिले पनि हरेक दिन दुई हजार जति युवाले रोजगारीका निम्ति देश छाड्छन् । तीमध्ये धेरै बाध्यतावश जान्छन् । अर्कोतर्फ, आफूसँग भएको सीप र अनुभवअनुसार विदेशमा राम्रो अवसर खोज्नु भने स्वाभाविक हो । यद्यपि, पछिल्ला दशकमा अवैध विधि र बाटो (डंकी रुट) प्रयोग गरेर भए पनि विदेश गइछाड्ने मनोवृत्ति दोहोरिरहेको पाइन्छ । जसले समाजमा अनेकौं दुःखद कथाहरू निर्माण गरिरहेको छ । यो भने चिन्ताको विषय हो । यस मनोवृत्तिको संवेदनशील भएर अध्ययन र सुधारका पहल गर्नु अनिवार्य भइसकेको छ ।
पछिल्ला वर्षमा सार्वजनिक भइरहेका घटना विवरणमा केही समान पाटो देखिन्छ– कोही युवा देशमा ठिकैको रोजगारी गरिरहेको हुन्छ । विदेशमा रहेका साथीभाइ, आफन्त वा देशभित्रैका गिरोहहरूले उसलाई अमेरिका जानका लागि प्रेरित गर्छन् । त्यस युवाले पनि आफ्नो पेसा वा व्यवसायमै राम्रो गर्ने र थप कमाइ गर्नेभन्दा पनि केही लगानी गरेर अमेरिका पुग्ने र धेरै कमाउने सपना देख्छ ।
त्यसपछि गिरोहलाई लाखौं रकम पुर्याएर विभिन्न देशमा महिनौंसम्म चक्कर लगाउने क्रम सुरु हुन्छ । सुरुमा केही लाख दिए हुने र बाँकी रकम कमाएर दिए हुने भनिए पनि विभिन्न देश पुर्याइएपछि अतिरिक्त रकम मागिँदै गइन्छ । अगाडि तिरिसकेको लाखौं रकमको माया, गन्तव्यमा पुग्ने सपना र रकम नतिरेमा आइपर्ने जोखिमका कारण थप रकम बुझाउन बाध्य हुन्छन् । यसरी महिनौंको चक्कर लगाएर पनि केही युवा पुनः नेपालमै फर्किन्छन् । कतिपय सम्बन्धित देश पुग्छन्, तर त्यहाँको सरकारद्वारा फर्काइन्छन् ।
अवैध बाटोबाट अमेरिकालगायतका देश पुग्न सक्ने, लुक्न सक्ने, कालान्तरमा त्यहाँ बस्ने सुविधा पाउने र कमाउन सफल हुने अत्यन्तै न्यून हुन्छन् । समग्रमा ती अपवाद हुन् । अपवाद कहिल्यै पनि अनुकरणीय हुन सक्दैन । तर, समाजमा अपवादलाई नै पछ्याउन खोज्नेहरू पनि छन् । परिणामतः देशमा तुलनात्मक रूपमा राम्रै आम्दानी गरिरहेकाहरू पनि आफ्नो पेसा र व्यवसाय छाड्न तयार देखिन्छन् ।
उनीहरू आफूले अँगाल्दै आएको र अनुभव हासिल गरिसकेको पेसामा प्रगति गर्ने सम्भावनाप्रति विश्वस्त देखिँदैनन् । दोस्रो, अमेरिका पुगिछाड्ने अठोटमा करोड आसपास लगानी गर्न तयार हुनेहरू स्वदेशमा त्यसभन्दा धेरै कम लगानी गरेर पनि सिर्जनशील उद्यम गर्न तयार देखिँदैनन् । यही मनोवृत्तिले ‘डंकी रुट’ थप फराकिलो बन्दै गएको देखिन्छ । सम्बन्धित व्यक्ति गहिरो आघातमा डुब्ने र हतोत्साहित मनस्थितिमा फस्छन् । परिवारै ऋणमा डुब्ने र त्यस्तो ऋण तिर्ने सहज बाटो पनि नदेख्ने अवस्था बन्छ । पारिवारिक विग्रह र बिछोड पनि सिर्जना हुन्छ ।
व्यक्तित्व विकास, योग्यताअनुसारको आर्थिक आम्दानी र सुरक्षित भविष्यका निम्ति मानिस जहाँसुकै पुग्न सक्छ । मानव सभ्यताको विकासक्रमको अभिन्न पक्ष नै अवसर र सहजताको खोजी हो । तर, अवैध बाटो र छिटो आम्दानीको सपना भने प्रायः दुर्घटनामा पर्छ । धेरै नेपाली युवाले यही नियति बेहोरिरहेका छन् । ठूलो लगानी, अवैध यात्रा र अनिश्चित गन्तव्यप्रति प्रेरित गर्नका लागि समाजमा सहजै फैलिने गलत र अपूर्ण सूचनाले भूमिका खेलेको पाइन्छ ।
युवासम्म सफलताका कथा मात्रै पुग्ने गरेको छ । तर कैयौं असफलताका दुःखान्त कथा पुग्दैनन् । जोखिम, अनिश्चितता र असफलताका विवरण पुग्दैनन् । जे–जति देखिन्छ–देखाइन्छ, त्यहाँ सफलता मात्रै चम्किरहेको देखेपछि धेरै जना आकर्षिक हुनु स्वाभाविक हो । गलत र अपूर्ण सूचनामा मौलाएको सपनालाई यथार्थको जगमा उभ्याउन सही सूचना अपरिहार्य हुन्छ । त्यसको जिम्मेवारी सरकारको हो । सरकारले आफ्नो सूचना प्रणालीलाई बलियो र प्रभावकारी बनाउनुपर्छ । युवामैत्री बनाउनुपर्छ । जोकसैले सहजै सही सूचना लिन सक्ने प्रणाली बनाउन सक्नुपर्छ ।
वैदेशिक रोजगारीमा जाने युवामाथि हुने ठगी कम गर्ने बलियो आधार भनेको नेपालभित्रै अवसर सिर्जना गर्नु नै हो । बदलिँदो विश्वले बढाएको महत्त्वाकांक्षादेखि स्वास्थ्य–शिक्षाका अनिवार्य लगानीसम्मलाई धान्न सक्ने गरी आम्दानी सुनिश्चित हुने रोजगारीका अवसर सिर्जना गर्नैपर्छ । रोजगारी स्वतः सिर्जना हुँदैन । त्यसका लागि लगानीका वातावरण तयार गर्नुपर्छ । उद्यमशीलताको वातावरण बन्नुपर्छ । उत्पादनले बजार भेट्ने स्थिति बन्नुपर्छ । राज्यले पूर्वाधारमा प्रशस्त लगानी गर्नुपर्छ, विकास खर्च गर्न सक्नुपर्छ । यी सबै काम त्यतिबेला हुन सक्छन्, जब राज्यले आफ्ना नीतिहरूलाई सहज र अनुमानयोग्य बनाउँछ । नीतिगत स्थिरता दिन्छ ।
लगानीको सुरक्षा सुनिश्चित गर्छ । त्यसो त नेपालमा लगानीकर्तालाई नै आरोपित गर्ने संस्कृति छ । लगानीकर्ताको सुरक्षा गर्न सक्दा आफैंले रोजगारी पाउने सम्भावना वृद्धि हुने चेत नागरिकमा पनि विकास हुन जरुरी छ । यी सबै कामले देशको आर्थिक सुधार र सामर्थ्य वृद्धिमा योगदान दिन्छन् । ‘डंकी रुट’ दुःखान्तहरूलाई पनि न्यूनीकरण गर्छन् ।