टोकन प्रणाली हटेको पहिलो दिन ३१ सय जनाको श्रम स्वीकृति जारी

31 March, 2026

वैदेशिक रोजगार विभागले टोकन प्रणाली हटाएको पहिलो दिन साेमबार ३१ सयजनाको श्रम स्वीकृति जारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहले आइतबार श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न निर्देशन दिएका थिए ।

‘हामीले फस्ट कम, फस्ट सर्भिस हुने गरी टोकन प्रणाली लागु गरेका थियौं । यसलाई हटाएर क्यु फ्रि गरेका छौं । पहिलो दिनमा नै ३१ सय जनाले श्रम स्वीकृति पाएका छन्,’ बिभागका महानिर्देशक मिरा आचार्यले इकान्तिपुरसँग भनिन् ।

यो वैदेशिक रोजगार सुचना ब्यवस्थापन प्रणाली (फेमिस)मा आबद्ध भएको बिभाग, श्रम कार्यालय र विदेशस्थित नेपाली दुतावासबाट जारी गरेको श्रम स्वीकृति हो । विभाग र प्रदेशमा रहेको ७ वटा श्रम कार्यालयले व्यक्तिगत, संस्थागत र पुन: श्रमस्वीकृति दिने व्यवस्था गरेको छ । विदेशस्थित नेपाली दुतावासले पुनः श्रम स्वीकृति मात्रै जारी गरेको छ ।

विभागले फेमिसमा हुनसक्ने चापलाई ध्यान दिई यसअघि ३५ सय वटा अनलाइन टोकन जारी गर्ने गरेको थियो । ‘श्रम स्वीकृतिको लागि फाइल बोकेर भौतिक रुपमा उपस्थीति हुनु पर्दैन । सबै अनलाइनमार्फत नै सेवा दिन्छौं । अब ३५ सयभन्दा बढी श्रम स्वीकृतिको लागि अनलाइन आवेदन भए पनि श्रम स्वीकृति जारी हुन्छ,’ उनले भनिन्, ‘कानुन बमोजिम मागिएको सबै कागजात पुरा राखेर आवेदन भएमा एकदिन पनि लाग्दैन । एकै घण्टामा हुन्छ ।’

उनले जनशक्तिको अभाव भएमा थप जनशक्तिको लागि मन्त्रालयसँग छलफल हुने बताइन् । ‘यो कामको लागि विभागको श्रम स्वीकृति बाहेकका अन्य शाखामा रहेका कर्मचारी पनि परिचालन हुन सक्छ । अन्य शाखाबाट दिइने सेवा प्रवाहलाई पनि ध्यान दिइनुपर्छ,’ उनले भनिन् ।

फेमिसले एकपटक १६ सय जनासम्म सेवाग्राही (युजर)को चापलाई धन्न सक्ने अवस्था छ । त्योभन्दा बढी युजर फेमिसभित्र प्रवेश भएमा ‘प्रणाली डाउन’ हुने जोखिम भने छ ।

यसअघि पनि एकैपटक धेरै सेवाग्राही आउँदा फेमिस प्रणाली नै अवरुद्ध हुने भएका छन् । फेमिस प्रणालीको क्षमता बढाउन अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको लागि बजेट विनियोजन गरेको छ । यसको लागि आन्तरिक गृहकार्य भइरहेको विभागले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024