टिप्परबाट खसेर मजदुरको मृत्यु

19 August, 2026

Hari Krishna Sharma

मुस्ताङको घरपझोङ गाउँपालिकामा गुडिरहेको टिप्परबाट खसेर गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।

सदरमुकाम जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र. ०१–००४ क २७०१ नम्बरको टिप्परबाट घरपझोङ गाउँपालिका–४, पुच्छरढोङमा खसेर रोल्पाको लुङ्ग्री गाउँपालिका–३ निवासी २३ वर्षीय हरिबहादुर पुन गम्भीर घाइते हुनुभएको थियो । उहाँको प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक पुन मुस्ताङमा विकास निर्माणसम्बन्धी कामका लागि आएका मजदुर रहेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो गम्भीर घाइते अवस्थामा अस्पताल पुर्‍याइएका पुनलाई उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो । उहाँका अनुसार पुनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो ।

घटनापछि टिप्पर चालक चितवनको भरतपुर महानगरपालिका–८ निवासी प्रकाशसिंह तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव प्रदेश अस्पताल जोमसोमको शवगृहमा राखिएको छ । शल्यपरीक्षण (पोस्टमार्टम) पछि शव परिवारलाई बुझाइने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024