टाढाको देश, नजिकको पीडा

17 March, 2026

Basira

‘फलानो देशमा अध्ययनरत नेपाली विद्यार्थीको असामयिक निधन।’ कहिले बेलायत, कहिले अमेरिका, कहिले अस्ट्रेलिया वा युरोपका कुनै सहरबाट आउने यस्ता समाचारले घर–घरमा सन्नाटा छाउँछ। अनि, फेरि उही दैनिकी। गम्भीर प्रश्न भने अनुत्तरित रहन्छ। के ती ज्यानहरू जोगिन सक्दैन थिए त ? धेरैजसो यस्ता घटनामा समस्या साझा देखिन्छन्। कोही लामो समयदेखि बिरामी थिए तर डाक्टरकहाँ गएनन्। कोही मानसिक तनाव, एक्लोपन र दबाबसँग जुधिरहेका थिए तर कसैसँग खुलेर बोलेनन्। कोही आपत्कालीन अवस्थामा ढिलो अस्पताल पुगे। यी सबै घटनाले एउटै सत्य देखाउँछ। विदेशमा रहेका धेरै नेपाली विद्यार्थी स्वास्थ्यसेवाबाट टाढा छन्।

नेपालमा बस्ने अभिभावकले समयमै यो यथार्थ बुझ्न सकून् र विदेशमा रहेका छोराछोरीले ‘डाक्टरलाई पछि देखाउँछु’ भन्ने सोच आजै बदलून् भन्ने लेखको अभिप्राय हो। छोरा वा छोरी विदेश पुगेपछि आमाबुबाको मन थोरै हलुका हुन्छ नै। ‘अब त सुरक्षित ठाउँमा पुग्यो’ भन्ने लाग्छ र स्वाभाविक पनि हो। मोबाइलको पर्दामा देखिने मुस्कानले मन ढुक्क हुन्छ। फोनमा कुराकानी हुन्छ। पढाइ कस्तो चल्दै छ, काम कति घण्टा छ आदि। तर, एउटा प्रश्न प्रायः छुट्छ वा सोधे पनि गहिरिएर सोचिँदैन। ‘बिरामी हुँदा डाक्टर देखायौ कि देखाएनौ ?’ अर्थात् बिरामी हुँदा के गर्छौ ? विदेशमा रहेका धेरै नेपाली विद्यार्थीको अदृश्य पीडा हो यो।

आज नेपाली विद्यार्थी बेलायत, अमेरिका, अस्ट्रेलिया र युरोपका सहर–सहरमा फैलिएका छन्। नयाँ देश, नयाँ भाषा, नयाँ जीवन। बाहिरबाट हेर्दा सबै व्यवस्थित देखिन्छ तर भित्रभित्रै धेरै विद्यार्थी एउटा डर बोकेर हिँडिरहेका हुन्छन्। बिरामी हुँदा पनि डाक्टरकहाँ जान डराउने डर। यो डर आकस्मिक पनि होइन। नेपालमा निजी अस्पतालमा तिर्नुपरेको महँगो शुल्कको सम्झना ‘बाहिर त झन् महँगो होला’ भन्ने अनुमान र प्रणाली नबुझ्दाको असहजता। यी सोच र अनुमानहरू मिलेर विद्यार्थीलाई स्वास्थ्यसेवाबाट टाढा पु¥याउँछन्। परिणामस्वरूप सानो रोग पनि चुपचाप सहिदिन्छन्। समयसँगै रोग गहिरिँदै जाँदा कहिलेकाहीँ पढाइ र भविष्य नै हल्लाइदिन्छ।

बेलायतको कुरा गरौं। त्यहाँ पढ्न जाने विद्यार्थीले भिसा लिँदै गर्दा स्वास्थ्यसेवा शुल्क तिरेका हुन्छन्। त्यही शुल्कले उनीहरूलाई उक्त सेवा प्रयोग गर्ने अधिकार दिन्छ। सामान्य अवस्थामा डाक्टर भेट्दा पैसा तिर्नु पर्दैन, अस्पतालको धेरै उपचार निःशुल्क हुन्छ। मानसिक स्वास्थ्यसमेत यही सेवाभित्र पर्छ। तर,, यो अधिकार कागजमै सीमित हुन्छ, जबसम्म विद्यार्थीले आफैं अघि बढेर प्रयोग गर्दैनन्। त्यसमा नाम दर्ता नगरी स्वास्थ्यसेवा सहजै पाउन गाह्रो हुन्छ। तर, धेरै नेपाली विद्यार्थी अहिलेसम्म त ठिकै छु भन्दै यो प्रक्रियालाई पछाडि सार्छन्।

अस्ट्रेलियामा पनि कथा धेरै फरक छैन। त्यहाँ विद्यार्थीले विद्यार्थी स्वास्थ्य बिमा लिनैपर्छ। यो बिमाले जीपी, अस्पताल र औषधिको ठूलो हिस्सा कभर गर्छ। अमेरिकामा भने यो प्रणाली अलि जटिल छ। किनकि, त्यहाँ उपचार सेवा स्वास्थ्य बिमामा धेरै निर्भर हुन्छ। धेरै विश्वविद्यालयले आफ्नै विद्यार्थी बिमा अनिवार्य गरेका हुन्छन् र विश्वविद्यालय स्वास्थ्य केन्द्रमार्फत प्रारम्भिक उपचार दिन्छन्। युरोपका देशहरूमा पनि सरकारी वा अनिवार्य विद्यार्थी बिमाको व्यवस्था छ। देश फरक भए पनि सत्य सबै ठाउँमा उस्तै छ। बिरामी हुँदा चुप लागेर बस्नु कहीँ पनि सुरक्षित विकल्प होइन।

डाक्टरकहाँ नजानुको अर्को मौन कारण भाषा पनि हो। ‘अंग्रेजी राम्रो बोल्न सक्दिनँ’ भन्ने डरले धेरै विद्यार्थी स्वास्थ्यसँग सम्झौता गर्छन्। सोच्छन्– के भन्ने ? कसरी भन्ने ? डाक्टरले नबुझे के होला ? तर, विदेशका डाक्टरहरू विदेशी विद्यार्थी हेर्न अभ्यस्त हुन्छन्। उनीहरूको काम भाषा जाँच्नु होइन, रोग बुझेर उपचार गर्नु हो। कुरा नबुझे फेरि सोधिन्छ वा लेखेर बुझाइन्छ। भाषाको डरले उपचार नगर्नु भनेको भविष्य जोखिममा हाल्नु हो। विदेशी स्वास्थ्य प्रणालीमा अर्को महŒवपूर्ण कुरा आपत्कालीन सेवा र सामान्य उपचारबीचको भिन्नताबारे जानकारी पनि राख्न जरुरी रहन्छ। गम्भीर दुर्घटना, बेहोस अवस्था, सास फेर्न गाह्रो हुने जस्ता स्थितिबाहेकका सामान्य ज्वरो दुखाइ एलर्जी तनावका लागि आपत्कालीन कक्ष धाउनु आवश्यक रहँदैन। यस्ता अवस्थाका लागि जीपी वा सामान्य डाक्टर नै सही ठाउँ हो।

शारीरिक स्वास्थ्यभन्दा पनि बढी चुपचाप पीडा दिने विषय हो– मानसिक स्वास्थ्य। घरबाट टाढा, पढाइको दबाब, कामको थकान, एक्लोपन। यी सबैले विद्यार्थीको मन थकाएको हुन्छ। अझै पनि हाम्रो समाजमा ‘मनको समस्या भनेको मानिसको कमजोरी हो’ भन्ने सोच विद्यमान नै छ। बेलायत, अस्ट्रेलिया र युरोपमा मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यकै हिस्सा मानिन्छ र सरकारी स्वास्थ्यसेवाभित्रै यसको उपचार समेटिएको हुन्छ। अमेरिकामा पनि बिमा वा विश्वविद्यालयमार्फत काउन्सेलिङ सेवा उपलब्ध हुन्छ।

सानो रोगलाई बेवास्ता गर्दा त्यसको असर पढाइमा देखिन थाल्छ। ध्यान केन्द्रित हुँदैन, काम छुट्छ, उपस्थिति घट्छ, र बिस्तारै आफ्नै पढाइ आफैंलाई बोझ बन्न पुग्छ। धेरै विद्यार्थी पछि फर्केर भन्छन्। ‘त्यतिबेला डाक्टर देखाएको भए यति दुःख भोग्नु पर्दैनथ्यो।’ हो, यही ठाउँमा अभिभावकको भूमिका अमूल्य हुन्छ। नेपालमा बसेर पनि आमाबुबाले छोराछोरीको स्वास्थ्य यात्रामा दिशा देखाउन सक्छन्। अभिभावकले फोनमा ‘बिरामी हुँदा डाक्टरलाई देखाइस् ? डाक्टरकहाँ नाम दर्ता गरिस् ? शारीरिक तथा मानसिक स्वास्थ ठीक छ ?’ जस्ता प्रश्न गरे मात्र पनि सन्तानको सहारा बन्न सक्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024