जापानले २३ सय कामदार लैजान परीक्षा लिँदै

4 January, 2020

जापानले २३ सय कामदार लैजान परीक्षा लिँदैकाठमाडौँ — जापानले दुई हजारभन्दा बढी नेपाली कामदार लैजान यही सातादेखि छनोट प्रक्रिया सुरु गर्ने भएको छ । जापानी सरकारका तर्फबाट जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३ सय नेपाली कामदार लैजान छनोट प्रक्रिया सुरु गर्न लागेको हो ।

फाउन्डेसनले सूचना जारी गरी कामदार छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार फाउन्डेसनले पहिलो चरणमा एक हजार कामदार छनोट गर्न जनवरी ७–८, १४–१६, २१–२३, २८–२९ तारिखमा भाषा परीक्षा लिनेछ।

दोस्रो चरणमा १ हजार ३ सय कादार छनाेट गर्नआगामी मार्च ३–५, ९–१२ र १५–१९ तारिखमा भाषा परीक्षा लिइने सूचनामा उल्लेख छ। फाउन्डेसनले परीक्षा शुल्क २५ सय रुपैयाँ तोकेको छ। फाउन्डेसनले कम्प्युटरमा आधारित प्रणालीबाट लिखित, सीप परीक्षणलगायत परीक्षा लिनेछ। परीक्षार्थीले साधारण बोलीचाली तथा प्रस्तुति, जापानी भाषा सुनाइ र पढाइमा उत्तीर्ण हुनुपर्नेछ। दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र वरिपरिको परिस्थितिबारे जापानी भाषामा अभिव्यक्त गर्न सक्ने हुनुपर्ने सूचनामा उल्लेख छ। २ सय ५० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन न्यूनतम २ सय अंक ल्याउनुपर्छ।

नेपाली नागरिकता, राहदानी वा सवारी चालक परिचयपत्र पेस गरेर भाषा परीक्षामा सहभागी हुन सकिने सूचनामा उल्लेख छ। फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गरिने जनाएको छ। गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो। जापानले अघिल्लो वर्षदेखि विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने नीति लागू गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026