बाहिर झमझम परेको बर्खे झरीले वातावरण शीतल छ, केही उदास पनि । कच्ची घरको छानाबाट तप्किएको छ पानीका थोपा । भान्साकोठाबाट धूवाँको सानो मुस्लो आकाशतर्फ उडिरहेको छ । भित्र न्यानो अँगेनाछेउ बसिरहेका छन्– एक अधबैंसे दम्पती ।
‘नमस्कार, अनि सन्चो–बिसन्चो के छ ?’ हाम्रो सामान्य कुशलमंगलबाट सुरु भएको कुराकानी बिस्तारै उनीहरूको जीवनका उकाली–ओरालीतिर मोडिन्छ ।
अँगेनामा दाउराको अगुल्टो ठोस्दै, आगोको झिल्कासँगै सुस्तरी कुरा खोल्न थाल्छन् श्रीमान् । कुरा गर्दागर्दै घरीघरी उनी अँगेनाको आगोतिर हेर्छन्, घरी छेउमै बसेकी श्रीमतीतिर । केहीबेर मौनता छाउँछ । उनको त्यो मौनतामा जीवनका अनेकौं संघर्ष र कथा लिपिबद्ध छन् ।
बाहिर झरीको निरन्तर आवाज र भित्र अँगेनाको मधुरो प्रकाशबीच उनी हाम्रा जिज्ञासा र प्रश्न सुस्तरी मेट्दै छन् । धूवाँले अलि–अलि आँखा रसाए पनि उनीहरूको अनुहारमा आत्मीयता र व्यवहारमा आतिथ्य छ ।
– तपाईंको छोरा खोइ ?
– अमेरिका ।
– अमेरिका ?
– हजुर, अमेरिकाको जेलमा ।
– लौ जेलमा चाहिँ किन नि ?
– दशा लागेर हजुर । करोड रुपैयाँ खर्च भयो, तर छोरा त उता जेलमा पो पर्यो !
रुकुम पूर्वको सिस्ने गाउँपालिका–३, पोखराका सविन (परिवर्तित नाम), विगत १९ महिनायता अमेरिकाको एउटा जेलमा फसेका छन् । उनैका बा–आमासँगको सुरुवाती संवादको अंश हो यो ।
छोरा र आफ्नो वास्तविक नाम उनीहरू बताउन चाहन्नन् । कारण उनी भन्छन्, ‘यता सबै बताए उता छोरोलाई झन् समस्या पर्छ रे ।’ त्यसैले हामी सिधै समस्यामा प्रवेश गर्यौं । र, अघिको कुराकानीलाई निरन्तरता दियौं । उनीहरूले हामीसँग आफ्ना दुःखका कथा खोल्दै गए । हामीले जिज्ञासा राखिरह्यौं ।
‘कमाउन’ भनी घरबाट अमेरिकातर्फ जाँदा सविन भर्खरै १८ वर्ष लागेका थिए । दलालले ‘नाबालकलाई एक्लै पठाउन मिल्दैन, दुबईसम्म सँगै जानुपर्छ’ भनेपछि काठमाडौंबाट ‘भिजिट भिसा’ मा छोरासँगै दुबई पुगेर, दलाललाई छोरा जिम्मा लगाएर आफू नेपाल फिरेको सविनका बुबा बताउँछन् ।
उसलाई मैले दुबई छोडेर आएपछि १४ महिनासम्म त्यहीं राख्यो अनि हामीले यताबाट दलाललाई चाप पारेपछि मात्रै प्रक्रिया अघि बढायो । त्यसपछि ब्राजिलदेखि विभिन्न देश हुँदै थप चार महिना यात्रापछि २०८१ पुस २२ गते ऊ अमेरिका पुगेको खबर आयो,’ उनले सुनाए । बुबाका अनुसार, उता पुगेपछि छोराले भनेको थियो, ‘बाबा म अमेरिका पुगें, यहाँको प्रहरीले पक्रिएको छ । जेलमा राख्छ होला । पिर नगर्नु म आफैं चाँडै सम्पर्कमा आउनेछु ।’ त्यसको झन्डै ३ महिनापछि छोरा सम्पर्कमा आए र भने, ‘जेलमा छु ।’
मानव तस्करको प्रलोभनमा, राम्रो कमाइको सपना देखेर, ज्यानै जोखिममा राखेर अमेरिका पुग्ने युवाको संख्या बढ्दो छ । यही जोखिमपूर्ण र अवैध यात्राको शृंखलाका एक पात्र हुन्– सविन ।
दलालको चंगुलबाट फुत्किएर अमेरिका पुगेका सविन त्यहाँ पुग्नेबित्तिकै पक्राउ परी स्थानीय जेल परेका छन् । सुरुमा छोरो सुरक्षित अमेरिका पुगेर प्रहरी नियन्त्रणमा मात्रै रहेको खबर पाउँदा उनका आमा–बुबामा आशाको सञ्चार भएको थियो । अमेरिका टेकेको खुसीले भरिएको त्यो परिवारको आनन्द भने धेरै समय टिक्न सकेन ।
छोरो जेल परेपछि भोग्नुपरेको कानुनी जटिलताले अहिले परिवारलाई ठूलो चिन्ता र शोकमा धकेलिदिएको छ । दलालले देखाएको आकर्षक सपना र त्यसपछाडि लुकेको भयावह यथार्थले कसरी एउटा सिंगो परिवारलाई पीडामा पुर्याउँछ ? सविनको प्रतिनिधि घटनाले त्यो कथा–वाचन गर्छ ।
अमेरिका जानुअघि भर्खरै कक्षा १२ उत्तीर्ण गरेका सविनको सर्टिफिकेट नआउँदै दुबईको भिसा आयो । आकर्षक रोजगारको सपना र पारिवारिक अभाव पूर्ति गर्ने आशामा घर छाडेका छोरा यतिबेला अमेरिकाको जेलमा छ, उता जान लागेको ऋणको बोझले परिवार थलिएको छ । अँगेनाछेउ खाना पकाइरहेकी सविनकी आमा एकसरो बोल्छिन्, ‘हामीले त छोरालाई पैसा तिरेर जेल पठाएजस्तो भो । त्यो पनि नभेट्ने, नदेख्ने ठाउँमा । पढाइ गरिराथ्यो, अभाव भए पनि दबाब थेन । बेकारमा अमेरिकाको चक्करमा लागेर…एकातिर छोराको पिर, अर्कोतिर साहुको किचकिच ।’ अमेरिका पुर्याउने भनी जम्माजम्मी ८५ लाख त दलालले मात्रै लिएको सविनका बुबा बताउँछन् । अनि सुरुमा छोरा लिएर दुबईसम्म जान ५ लाख र अरू खर्चपर्च जोड्दा ऋण करिब १ करोड ३५ लाख पुगेको छ ।
अमेरिका पुगेको ३ महिनापछि जेल परेको खबर पठाएको छोरासँग सुरुमा महिना–महिना बिराएर फोनमा सम्पर्क हुन्थ्यो । बितेको ६ महिनायता भने भिडियोकलमार्फतै कुरा हुने गरेको परिवारले बताएको छ । ‘सधैंको सोमबार फोन गर्छ । यता ठिकै छ, म चाँडै निस्किन्छु भन्छ । तर, त्यो चाँडै भन्या कहिले हो पत्तो छैन ।’ आमा भन्छिन्, ‘अब अन्तिमपल्ट छोरालाई अदालतले बोलाउँछ र अमेरिकामै राख्ने कि फिर्ता गर्ने भनेर थाहा हुन्छ भनेको पनि ६ मैना भैगो, कैल निस्किने हो, क्यारी निस्किने हो थाहा छैन ।’
‘माओवादी युद्धको असरले यहाँ (स्वदेश) बस्न सकिएन’ भन्ने केस (घटना) बनाएर छोराले अमेरिकामा जेलबाट निस्केर त्यहीं काम गर्न पाउनुपर्ने माग गरिरहेको सविनका बुबाको भनाइ छ । ‘यो दलाल नहुने र पैसाबिना कामै नहुने त कहीं पनि रैनछ । उता पनि एक जना हाम्रैतिरका दलाल भेटिएका छन् । उनीमार्फतै छोराको वकिल राख्नेदेखि जेलमा पैसा–पानी जे आवश्यक पर्छ, यताबाट डलरमा हिसाब गरेर पठाउने काम भइरहेको छ,’ उनले भने, ‘वकिलको तत्कालको खर्च भनेर ऊ अमेरिका पुगेको ४ महिनापछि १० लाख यताबाट पठाइदिएका हौं । त्यसबाहेक महिना–महिनामा ४०–४५ डलर छोराका लागि खर्च यतैबाट पठाउनुपर्छ ।’
छोरालाई जेलबाट निकाल्न यताबाट विभिन्न कागजातसमेत बनाएर पठाइरहेको सविनका बुबा बताउँछन् । त्यही कागजात बनाउन यसबीचमा पनि दुई पटक काठमाडौंसम्म पुगे । ‘जन्मदर्ता, नागरिकता अनि मुद्दामा उल्लेख भएअनुसारका अरू कागजातका साथै हस्पिटलमा उपचार गराएको पुर्जीसमेत बनाउनुपर्ने रहेछ । जन्मदर्ता, नागरिकता त समस्या भएन, बाँकीअरू कागज बनाउने पनि यतै दलाल हुने रहेछन् । उनीहरूलाई पैसा दिएपछि बनाइदिने थाहा पाएर म काठमाडौं पुगेर तिनैमार्फत उता (अमेरिका) पठाएको छु । हेरौं अब के फैसला आउँछ ?’
यही साउन १९ गते सोमबार जेलमा रहेको छोरासँग पछिल्लोपल्ट कुरा भएको बताउने सविनका बा–आमालाई हामीले ‘अमेरिका जेलको अवस्थाबारे छोराले के भन्छन् ?’ भनी सोध्दा जवाफमा आमा भन्छिन्, ‘अरूले सुनाउँदा त्यहाँसम्म पुग्दा अनि जेलको बास निकै मुस्किलको हुन्छ भन्ने सुनेको हो । तर, उसले भने हामीलाई ‘ठिकै छ’ भन्छ । यता हामीले पीर मानौंला भनेर त होला, त्यसो भनेको । हामीले सक्ने गरिरहेका छौं, अनि उसले सक्ने पनि गरिरहेको त होला । बाँकी सबै भगवान्को हातमा छ ।’
‘उसले फोन गर्ने नम्बरमा यताबाट गर्न त मिल्दैन । उसले नै गरेपछि रिसिभ गरेर कुरा गर्ने हो । जेलबाट लामो कुरै गर्न दिँदैन रे । ‘जेलभरिमा एउटा फोन हुन्छ, पालैपालो कुरा गर्ने हो’ भन्छ । सातामा एक दिन टाढैबाट भए पनि देख्न–बोल्न पाएका छौं । यसले पनि थोरै सन्तोष मिलेको छ,’ यस पटक सविनका बुबा बोले ।
रुकुम पूर्वको यो गाउँ (सिस्ने–३, पोखरा) का लगभग प्रायः घरमा अमेरिकासँग जोडिएका तीतामिठा अनेकानेक कथा–व्यथा छन् । अमेरिकास्थित क्यालिफोर्नियाको जेलमा सविन सँगै यहींका अर्का एक युवा पनि १४ महिनादेखि छन् । यो परिवारले पनि छोरा र आफ्नो पूरा परिचय दिएनन् । तर, दुःखको कथाचाहिँ हामीसँग बेलिबिस्तार लगाए ।
पोखराकै आशिष (परिवर्तित नाम) अहिले ३० वर्षका भए । अमेरिका जानुअघि उनले दाङमा किराना पसल चलाइरहेका थिए । नियमित खर्च र पारिवारिक आवश्यकता पूर्ति गर्न उनलाई पसलबाट जसोतसो चलिरहेकै थियो । तर, जब उनी पनि अमेरिकाको जञ्जालमा परे, त्यसपछि उनको जिन्दगी मोडियो । अहिले १९ महिना भयो, बिनाकसुर आशिष पनि सविनसँगै अमेरिकाको जेलमा छन् ।
२०७८ कात्तिकमा तिहारलगत्तै सविनलाई दलालले ‘अमेरिका लैजाने’ भनी काठमाडौं बोलाएको थियो । त्यसपछि छोरालाई दुबईबाट विभिन्न देश लैजाँदै, फिर्ता ल्याउँदै गरेको उनकी आमाले सुनाइन् । ‘अठहत्तर सालको तिहार मानेर हिँडेको छोरो चारदिशा डुलेर एकासी सालको मंसिरमा फरक्कै घर फर्केर आयो । त्यो बेलाको दलालले १५ लाख रुपैयाँ यसैमा खाइदियो । अनि फेरि अर्को दलालले अमेरिका पुर्यायो ।’
पछिल्लो दलालले पनि सुरुमा ५५ लाखमा पुर्याइदिन्छु भन्यो । तर, पछि १५ लाख थप माग्यो । र, दलालले मात्रै जम्मा ८५ लाख लिएको उनकी आमाले बताइन् । त्यसपछि अरू बाटोखर्च, अमेरिकामा वकिल लगाउने, त्यहाँको फुटकर खर्च र कागजपत्र बनाउने आदि काममा अहिलेसम्म एक करोड बढी रुपैयाँ लगानी गरिसकेको आशिषकी आमाको भनाइ छ । तर, प्रतिफल भने अहिलेसम्म लगभग शून्य । उनी भन्छिन्, ‘यता हामी ऋणमा, उता छोरो जेलमा ।’
एकै समय अर्थात् २०८१ साल पुसमै अमेरिका पुर्याइएका सविन र आशिष क्यालिफोर्नियाकै जेलमा भेटिएका हुन् । आशिषलाई सुरुमा चार महिना अन्तै राखेर यो जेलमा पुर्याएपछि अहिले दुई जना सँगै हुने संयोग जुरेको हो । जेलमा रहेका यी युवाको उताको कथा र यता रहेका दुई परिवारको व्यथामा समानता छ ।
आशिषसँग पनि परिवारको सातामा एकचोटि कुरा भइरहेकै छ । तर, उपलब्धि केही छैन । सुस्केरा हाल्दै आमा भन्छिन्, ‘के सोचेका थियौं, के भयो । अब त छोरा निस्के पनि यत्रो ऋण झट्टै तिर्न कसरी सकौंला ? फर्केर आए त झन् हामी जोगी नै हुन्छौं ।’
यी दुई परिवारले आफ्ना जायजेथा सबै बैंकमा राखेर केही लाख ऋण लिएका छन् । तर, यतिले मात्रै नपुगेर बाहिरबाट पनि चर्को ब्याजमा पैसा जोहो गरेका छन् । नियमित आम्दानीको स्रोत नहुँदा बैंकको किस्ता तिर्नै हम्मेहम्मे भएको उनीहरूको दुःखेसो छ । अरू नाता, आफन्त र छरछिमेकबाट लिएको ऋणको ब्याज पनि दिनानुदिन बढिरहेको छ ।
‘पैसा सापटी दिएकाहरू आउँछन्, पैसा माग्छन् । तर, हामीसँग उनीहरूलाई दिने पैसा त छैन नै, अब त जवाफ पनि छैन,’ दबिएको सुस्त आवाजमा सविनका बुबा भन्छन्, ‘यो कस्तो संकट आइलाग्यो । यता हामीलाई साहुले घेरेका छन्, उता छोरालाई अमेरिकाको पुलिसले ।’
अवैध बाटो अर्थात् ‘डंकी रुट’ हुँदै नेपालदेखि अमेरिका पुर्याइदिने भनी एक दशकअघिदेखि नै रुकुमका गाउँ–टोल छिरेका मानव तस्कर (दलाल) ले यहाँका युवालाई अनेकन लोभ देखाए । सुरुमा प्रतिव्यक्ति ८–१० लाख रुपैयाँमा लैजाने गरेका उनीहरूले अमेरिकासम्म प्रतिव्यक्ति झन्डै एक करोड लिने गरेका छन् । अमेरिकाले पछिल्लो सरकारी नीतिमा कडाइ गरेपछि अमेरिका लैजाने लहर त अहिले छैन, तर त्यसको असर निकै गहिरो छ ।
यति ठूलो रकम अन्धाधुन्ध लगानी गरी अमेरिका जान हिँडेकामध्ये धेरैको यात्रा–वृत्तान्त सुखद छैन । कत्ति बाटैमा हराएका छन्, कत्ति मरेका छन्, कत्ति अमेरिका पुगेर पनि यसरी नै वर्षौंदेखि जेलमै बसिरहेका छन्, कत्तिचाहिँ वर्षौंको जेल बसाइपछि रित्तो हात घर फिरेका छन् ।
दुःख र संकटको परिबन्धमा युवा परिरहेको विषयमा सरकार र सरोकारवाला लगभग जानकार छन् । तर, ती ‘तैं चुप, मै चुप’ छन् । यस्तो किन हुन्छ ? सोझा नागरिकलाई गैरकानुनी तरिकाले तेस्रो मुलुक लैजाने कार्यमा संलग्नलाई किन कारबाही हुँदैन ? प्रहरी भन्छ, ‘पीडितको कुनै पनि गुनासो र उजुरी परेको छैन । के आधारमा, कसलाई कारबाही गर्नु ?’