छोराको शव खोज्दै काठमाडौं-साउदी ‘डीएनए’को चक्कर

31 July, 2026

Hom Karki

साउदी अरबमा २९ महिनाअघि आगलागीमा परी ज्यान गुमाएका महोत्तरीका सुनिल साहको शव अन्ततः डीएनए परीक्षणबाट पहिचान भएको छ । आमाको डीएनएसँग मेल खाएपछि साउदीले मृत्यु प्रमाणपत्र जारी गरेको छ भने अब शव निकालेर नेपाल ल्याउने वा दफन अवस्थामै राख्ने विषयमा परिवारसँग परामर्श गरेर प्रक्रिया अघि बढाइने भएको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार रामगोपालपुर-७ ससौला, महोत्तरीका सुनिलकी ५० वर्षीय आमा सोमशिला देवीसँग गरिएको डीएनए परीक्षण नमुनासँग मेल खाएको हो ।

श्रम काउन्सेलर कविराज उप्रेतीले शव पहिचान भएकाले मृत्यु प्रमाणपत्र समेत जारी भएको बताए । ‘यहाँको निकायबाट मृत्यु प्रमाणपत्र बनिसकेको छ,’ उनले भने, ‘अहिलेसम्म डीएनए पहिचान प्रक्रियामै समय गुज्रिरहेको थियो ।’ डीएनएबाट शव पहिचान नभएसम्म प्रहरी रिपोर्ट बन्दैन ।

२३ वर्षीय सुनिल साउदीको राजधानी रियादबाट दक्षिणपूर्वस्थित अल-खार्ज औद्योगिक क्षेत्रस्थित बुन्यान इन्डस्ट्रियल कम्पनी लिमिटेडमा काम गर्थे । काम गरिरहेका बेला आगलागीमा परेर २८ फागुन २०८० (११ मार्च २०२४) मा उनीसहित बंगलादेशी र चिनियाँ नागरिकको पनि ज्यान गएको थियो । ५ अप्रिल २०२४ मा बुन्यान कम्पनीले नेपाली दूतावासलाई पठाएको पत्रमा उद्योगमा कसरी आगलागी भयो भन्ने तथ्य खुलेको छैन । त्यसबेला सनाखत हुन नसकेका कारण डीएनए परीक्षण नगरी शव पठाउने निर्णय भएन ।
आगलागीमा फेला परेको तीन जनाको अवशेषलाई साउदीको दिलाममा गाडिएको छ । दूतावासले परिवारको अनुमति लिएर थप प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ । ‘प्रहरी रिपोर्ट र मेडिकल रिपोर्ट प्राप्त गर्ने कोसिसमा लागिरहेका छौं,’ श्रम काउन्सेलर उप्रेतीले भने, ‘शव दफन गरेको अवस्थामै छाडिदिने हो वा निकालेर नेपाल पठाउने भन्ने विषयमा परिवारसँग छलफल गर्नेछौं ।’

सोमशिलाले भने आफू छोराको शवको प्रतीक्षामा रहेको बताइन् । ‘छोराको अन्तिम संस्कार हाम्रो धर्मअनुसार गर्न चाहन्छौं,’ उनले भनिन्,‘जे जस्तो अवस्थामा छ, त्यस्तै शव चाहिन्छ । आँखाले नदेखेसम्म हाम्रो मनले मान्दैन ।’

५२ वर्षीय बुबा वीरेन्द्र शव ल्याउने प्रक्रियाकै लागि दौडधूप गरिरहेका छन् । ‘श्रीमतीको मन शान्त बनाउन भए पनि शब त ल्याउनैपर्छ । छोरा बितेदेखि ऊ कसैसँग बोल्दिन । हाँस्दिन । खानामा कुनै रुचि छैन । रातभरि सुत्न सक्निन । चिन्ताले शरीर गलेर कमजोर भइसकेको छ,’ उनले भने, ‘आफ्नै आँखा अगाडि अत्येष्टि गर्न सक्यो छोराको आत्माले शान्ति पाउँथ्यो ।’
१२ कक्षासम्म अध्ययन गरेका सुनिल ७ अप्रिल २०२२ मा (२४ चैत २०७८) ‘फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि’ मार्फत साउदी उडेका थिए । त्यहाँ उनी एक हजार रियाल तलब पाउथे । परिवारले सयकडा तीन रुपैयाँ ब्याज दिने गरी २ लाख ऋण लिएर उनलाई साउदी पठाएको थियो । कम्पनीसँग गरिएको करार अवधि समाप्त हुनु ठिक एक महिनाअघि आगलागीमा परेर उनले ज्यान गुमाउनुपर्‍यो ।
पाँच सन्तानमध्ये सुनिल जेठा हुन् । जेठी छोरीको विवाह भइसकेको छ । दुई छोरी र कान्छा छोरा पढिरहेका छन् । सुनिलले महिनाको ३०/४० हजार रुपैयाँ घर पठाइरहेका पनि थिए । उनी साढे ३ धुरमा बाँसले घेरिएको घर भत्काएर पक्की घर बनाउने योजनामा थिए । उनी बितेपछि भने बुबा वीरेन्द्रले मजदुरी गरेर परिवार पालिरहेका छन् । ‘उसको ज्यान नगएको भए मैले मजदुरी गर्नु पर्दैनथ्यो,’ वीरेन्द्र भन्छन्, ‘विदेशबाट छोराले कमाएर पठाएको पैसाले घर खर्च चल्थ्यो ।’

सुनिलको मृत्यु हुनु दुई दिनअगाडि वीरेन्द्रसँग अन्तिम संवाद भएको थियो । ‘काम अप्ठ्यारो छ भनिराख्थ्यो । होली आसपास घर फर्किने कुरा गर्थ्यो । ऊ आउने खबरले हामी खुसी भएका थियौं । तर दुई दिन नबित्दै अर्कै खबर पो आयो,’ उनले सुनाए । सँगै काम गर्ने शुभनारायण मण्डलले घटनाबारे सुरुमा परिवारलाई जानकारी दिएका थिए ।

डीएनएको चक्कर

छोरा सुनिलको शव ल्याउन वीरेन्द्र कैयौंपटक काठमाडौं धाइसके । शोकमा डुबेको यो परिवारलाई काठमाडौं आउजाउ गर्दा ऋणको भार बढिरहेको छ । ‘काठमाडौंमा कति पटक गएँगएँ, कुनै गन्ती छैन,’ उनी भन्छन्, ‘एकपटक जाँदा १०/१२ हजार रुपैयाँ कर्जा थपिन्छ । हामी गरिब छौं । जेथाजमिन छैन ।’
सुनिलको मृत्यु भएको आधिकारिक पत्र पाउन नै रियादस्थित नेपाली दूतावासलाई आठ महिना लाग्यो । त्यसअगाडि दूतावासले कम्पनी र प्रहरी निकायसँग साता र महिनाको फरकमा पटकपटक ‘अपडेट’ लिइरहेको थियो । कम्पनीले प्रहरीबाट कुनै रिपोर्ट नआएको जानकारी दिन्थ्यो ।

२५ नोभेम्बर २०२४ (१० मंसिर २०८१) मा साउदीको विदेश मन्त्रालयले नेपाली दूतावासलाई ‘अति जरुरी’ भन्दै पत्र पठायो । ‘साउदीभित्र मृतक सुनिलको कोही पनि नजिकको पारिवारिक सदस्य भेटिएन । आगलागी घटनापछि फेला परेको शवको अवशेषको पारिवारिक पहिचान निर्धारण गर्न डीएनए परीक्षणका लागि नमुना लिन आवश्यक छ । आपराधिक प्रमाण विभागबाट टोली नेपाल पठाई उनका आफन्तबाट डीएनएको नमुना संकलन गर्नुपर्ने विषय जनाइएको छ,’ पत्रमा भनिएको थियो, ‘मन्त्रालयलाई सम्बन्धित निकायबाट प्राप्त जानकारीअनुसार नेपालका सम्बन्धित निकायमार्फत सुनिलका अभिभावक वा सन्तानको जेनेटिक प्रोफाइल रियादस्थित नेपाली दूतावासमार्फत पठाए पनि हुने जानकारी प्राप्त भएको छ ।’

साउदीले आफ्नो टोली नेपाल पठाउनुभन्दा नेपालबाटै डीएनएको नमुना पठाउने विकल्पमा जोड दिएको थियो । पत्र प्राप्त हुनासाथ नेपाली दूतावासले त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई सुनिलको शव सजिलै सनाखत हुने अवस्था नभएको भन्दै पत्र पठाएको थियो । ‘सुनिलको शव नेपाल फिर्ता गर्नका लागि एकाघर परिवारको सदस्यसँग डीएनए परीक्षण गर्नुपर्ने भएको छ,’ पत्रमा भनिएको थियो ।

कन्सुलर विभागले वडाध्यक्ष शम्भु साहमार्फत वीरेन्द्रलाई काठमाडौं बोलायो । काठमाडौं आए । कन्सुलरले डीएनए परीक्षणका लागि प्रहरी मुख्यालयलाई लेखेको पत्र बोकेर उनी नक्साल पुगे । त्यहाँबाट प्रहरी मुख्यालयले महाराजगन्जस्थित प्रहरी विभागलाई अर्को पत्र लेख्यो । त्यो पत्र बोकेर उनी महाराजगन्ज गए । त्यहाँबाट फेरि त्रिवि शिक्षण अस्पताललाई पत्र लेखियो । त्यसपछि बल्ल वीरेन्द्रले रगतको नमुना दिए अनि घर फर्किए ।

‘मलाई धेरै गाह्रो भयो । कहिले कता जानुपर्ने ? कहिले कता,’ उनले आफूले भोगेको सास्तीबारे सुनाए, ‘ठाउँ नचिन्ने । गाउँमा बसेको मान्छेले सहरका ठूल्ठूला कार्यालय खोज्नुपर्दा धेरै हैरानी पाएँ ।’ शिक्षण अस्पतालले परीक्षण गरेको डीएनएको रिपोर्ट प्रहरी मुख्यालय हुँदै कन्सुलर विभाग पठाइदियो ।

उनको डीएनए रिपोर्ट साउदीस्थित नेपाली दूतावासले १ फेब्रुअरी २०२५ (१९ माघ २०८१) मा पायो । त्यो रिपोर्ट बोकेर दूतावासले सिधै करिब ९० किलोमिटर टाढा रहेको अल–खार्जस्थित दिलाम प्रहरी चौकीमा पेस गर्न सक्ने अवस्था बनेन । दूतावासले रियादमै रहेको विदेश मन्त्रालयलाई बुझायो । त्यो पत्र त्यहाँबाट आन्तरिक मन्त्रालय, प्रहरी मुख्यालय, आपराधिक प्रमाण विभाग हुँदै दिलाम प्रहरी चौकीमा पुग्नुपर्थ्यो ।
डीएनए रिपोर्ट पुग्यो कि पुगेन भनेर हामीले दिलाम प्रहरीमा बुझ्न थाल्यौं । दिलामले जहिले पनि आइपुगेको छैन भनेर जवाफ दिन्थ्यो,’ श्रम काउन्सेलर कविराज उप्रेती भन्छन्, ‘फेरि शून्य (विदेश मन्त्रालय) बाट फलो गर्न थाल्यौं ।’ विदेश मन्त्रालयमा डीएनए रिपोर्ट बुझाएको १० महिनापछि (२८ डिसेम्बर २०२५) दिलाम प्रहरी चौकीले नेपाली दूतावासलाई भन्यो, ‘सुनिलको बुबासँग डीएनए म्याच गर्दा ५० प्रतिशत मात्रै मिल्यो । अब आमाको डीएनए रिपोर्ट चाहिन्छ ।’

आमाको डीएनए रिपोर्ट ल्याउन समय लाग्ने र निकै लम्बेतान प्रक्रिया भएकाले दूतावासले गत ३ फेब्रुअरीमा पत्र लेख्दै साउदीको विदेश मन्त्रालयलाई भन्यो, ‘यस्तो गर्न सकिँदैन । यसैबाट पत्ता लगाएर शव पठाइदिन अनुरोध गरिन्छ ।’

गत १७ फेब्रुअरीमा दूतावासले पीडित परिवार र वडाध्यक्ष शम्भु साहसँग शव ल्याउने कि नल्याउने भन्ने विषयमा भर्चुअल बैठक गर्‍यो । त्यसमा पीडित परिवारले शव नै चाहिने बताए । लगत्तै आमा सोमशिला डीएनए परीक्षणका लागि नमुना दिन गत फागुनमा काठमाडौं आइन् ।

चैतमा दूतावासका कर्मचारी आफै काठमाडौंबाट डीएनएको नमुना लिएर साउदी गएका थिए । दूतावासले रिपोर्ट पाएपछि फेरि प्रक्रिया शून्यबाटै सुरु भयो । अर्थात् दूतावास–विदेश मन्त्रालय–आन्तरिक मन्त्रालय–प्रहरी मुख्यालय–फरेन्सिक विभाग हुँदै दिलाम प्रहरी स्टेसन पुग्यो । फरेन्सिक विभागले सुनिलको डीएनए नमुना सोमशिलासँग शतप्रतिशत मिलेको पुष्टि गर्‍यो । यसरी दूतावासलाई सुनिलको शव पुष्टिका लागि डीएनएको पूरा रिपोर्ट प्राप्त गर्न नै २० महिनाभन्दा धेरै लाग्यो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024