पाथीभरा टी स्टेटको आवास क्षेत्रमा बिहानको ७ बज्दा चहलपहल सुरु भयो । टी स्टेटको ‘क्वाटर’ मा बस्दै आएका श्रमिकमध्ये कसैले चिया तयार गरे, कसैले नास्ता बनाए । चियानास्तापछि यहाँका १० जना महिला डोको बोेकेर बगानतिर लागे ।
पानी परेपछि खुलेको मौसम, चिसो बतास चलिरहेको हरियाली पाखामा चिया टिप्न थालेका ती महिला बेला बेला गीत गाउँथे भने बेला बेला अन्ताक्षरी खेल्थे । मिठा मिठा गफ गर्दै मुना टिप्दै डोको भर्ने प्रयत्न जारी थियो ।
करिब चार घण्टा चियाका मुना टिपेर उनीहरू मध्याह्नतिर कारखाना फर्किन्छन् । आफूले टिपेको हरियो पत्ती तौलिन्छन् । तौलिएको परिणाम खातामा चढ्छ । त्यही क्षण उनीहरूले बिहानभर गरेको श्रमको मूल्य कति भयो भन्ने थाहा पाउँछन् ।
१२ वर्षदेखि बगानमा काम गर्दै आएकी शशीकला राईले भन्नुभयो, “कति काम गरेँ, कति कमाएँ भन्ने कुरा थाहा पाउन महिनाको अन्तिम दिन कुर्नु पर्दैन । पत्ती तौलिनासाथ आफ्नो कमाइ कति भयो थाहा हुन्छ ।”
खाना खाएपछि उनीहरू फेरि बगान पस्छन् । दिउँसोको घामसँगै चियाका मुना टिप्ने क्रम चलिरहन्छ । साँझ डोकोभरि पत्ती बोकेर फर्किन्छन् । फेरि पत्ती तौलिन्छन् । दिनभरको कमाइको हिसाब त्यहीँ निस्कन्छ । महिनाको अन्त्यमा भने दिनदिनैको श्रम एकमुस्ट भएर हात लाग्छ ।
पाँचथरको याङवाराक–३ मा कारखाना रहेको पाथीभरा टी स्टेटमा चिया टिप्ने श्रमिकमा महिलाको सङ्ख्या लोभलाग्दो छ । उनीहरू सबैको दैनिकी उस्तै छ । बिहान बगान छिर्ने, मध्याह्न कारखाना फर्किने, चिया तौलिने पुनः खाना खाएर बिहान जस्तै बगान जाने, साँझ फर्किने अनि चिया केलाउन र सर्टिङ गर्न खट्दै अतिरिक्त आम्दानी गर्ने ।
चिया टिप्नु मात्रै उनीहरूको आम्दानीको स्रोत होइन; साँझ सर्टिङ, चिया केलाउने, प्रशोधन र प्याकेजिङलगायतका काम गर्दा अतिरिक्त पारिश्रमिक पाइन्छ । चिया टिपाइ र अन्य कामसमेत जोड्दा एक जना श्रमिकले महिनामा ४० देखि ४५ हजार रुपियाँसम्म कमाउने गरेको शशीकला बताउनुहुन्छ ।
अर्की श्रमिक भद्रिका राईले थप्नुभयो, “काम गर्दा थकाइ त लाग्छ तर आफ्नो हातले गरेको कामको पैसा आफैँ पाउँदा थकाइ बिर्सिन्छ ।” बगानमा काम गर्दा कमाइ मात्र होइन, बसाइ पनि सहज छ । कम्पनीले श्रमिकलाई आवासीय सुविधा दिएको छ । भद्रिका भन्नुहुन्छ, “स्थानीयस्तरमै उत्पादित अर्गानिक तरकारी र खानेकुरा खान पाइन्छ । स्वास्थ्यका लागि पनि राम्रो ।” आफ्नै गाउँठाउँमा रोजगारी पाएपछि परिवारसँगै बस्न पाउनु उनीहरूका लागि अर्को ठुलो खुसी हो ।
बगानको लेखा शाखामा काम गर्ने रञ्जना लिम्बू पनि घरपायकमै पाएको रोजगारीले सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “परिवारसँगै बसेर काम गर्ने अवसर पाएकी छु, सन्तुष्ट छु ।”
बगानमा खाना पकाउने कामदेखि चिया प्रशोधनका विभिन्न चरणमा पनि पाथीभराकै सञ्चालक प्रमिला अधिकारीका अनुसार चिया बगानमा मुना टिप्नेदेखि सर्टिङ गर्नसम्म महिला श्रमिककै सङ्ख्या धेरै छ । अझै पनि महिलालाई रोजगारी दिन आफू तत्पर रहेको उहाँले बताउनुभयो । रोजगारीको यस्तो अवसर हुँदाहुँदै पनि बगानमा कामदारको अभाव छ ।
याङवाराक र फालेलुङ गाउँपालिकामा फैलिएको पाथीभरा टी स्टेट करिब एक हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल छ सय रोपनीमा चिया खेती गरिएको छ । चैतदेखि मङ्सिरसम्म चिया टिपाइ हुन्छ । यही समयमा मुना टिप्ने, गोडमेल, छँटाइ र प्रशोधनको काम तीव्र हुन्छ ।
मुख्य सिजनमा दैनिक ४० देखि ५० जना श्रमिक आवश्यक पर्ने भए पनि अहिले नियमित र आंशिक गरी १८ जना हाराहारी मात्रै छन् । कम्तीमा अरू ३० जना कामदार आवश्यक पर्ने सञ्चालक राजन भट्टराई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले चियाको सबैभन्दा व्यस्त समय हो, उत्पादन बढाउन सकिने अवस्था छ तर जनशक्ति अभाव छ ।”
याङवाराक–३, चरीभन्ज्याङमा मुख्य कार्यालय रहेको पाथीभरा टी स्टेटमा उत्पादन भएको चियापत्ती आफ्नै कारखानामा प्रशोधन गरी अर्थोडक्स चिया बनाइन्छ ।