चिकित्सक भन्छन्– सुरक्षा सामग्रीविना सेफ्टिक ट्यांकीमा पस्दा टाइफाइड, हेपाटाइटिस ए र ई, श्वासप्रश्वासको समस्या र छालासम्बन्धी संक्रमण हुन्छ

14 July, 2026

मलमूत्र, विषालु ग्यास र संक्रमणको प्रत्यक्ष सम्पर्कमा रहने यी कामदारका लागि यो ज्यानकै जोखिमसँग जोडिएको काम हो । सिराहास्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनीलप्रसाद कुसवाहाका अनुसार पर्याप्त सुरक्षा सामग्रीविना सेफ्टिक ट्यांकीभित्र पस्नु अत्यन्त जोखिमपूर्ण हुन्छ ।

उनका अनुसार मानव मलमूत्रको सम्पर्कबाट टाइफाइड, हेपाटाइटिस ए र ई, छालासम्बन्धी संक्रमण हुन सक्छ । औँलाका कापबाट परजीवी आन्द्रा र मस्तिष्कसम्म पुग्न सक्छन् र अन्य संक्रामक रोग लाग्न सक्छ ।

वर्षौँदेखि बन्द रहेको ट्यांकीमा जम्मा हुने मिथेन, कार्बनडाइअक्साइड र कार्बन मोनोअक्साइडजस्ता ग्यासका कारण मानिस अचेत हुने र मृत्युसमेत हुन सक्ने डा. कुसवाहा बताउँछन् । ‘लामो समयसम्म यस्ता ग्यासको सम्पर्कमा रहनेमा श्वासप्रश्वास प्रणालीमा समस्या आउन सक्छ, अन्य दीर्घकालीन स्वास्थ्य जटिलतासमेत देखिन सक्छ,’ उनी भन्छन् ।

रक्सी सेवन गरेर ट्यांकीभित्र पस्ने पुरानो चलनले जोखिम झन् बढाउने डा. कुसवाहाको भनाइ छ । तर, यस्ता कामदार अस्पतालको इमर्जेन्सीमा पुग्ने घटना भने कमै देखिएको उनको अनुभव छ । ‘हात काटिएको, किलाकाँटी गडेकोजस्ता चोटपटक लिएर कहिलेकाहीँ आउँछन्,’ उनले भने, ‘तर, नियमित स्वास्थ्य परीक्षण गराउने चलन छैन ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024