कतार एयरवेजको जहाजबाट काठमाडौं उपत्यका प्रवेश गरेपछि नवलपरासीका ३८ वर्षीय दीपक भण्डारीले झ्यालबाट बाहिर हेर्न थाले । आकाश खुलेको थियो । हिमशृंखला सेताम्मे देखिन्थ्यो । चार वर्षपछि उनले यो दृश्य देख्दै थिए ।
जहाजबाट देखिएको काठमाडौंले उनलाई आफ्नो गाउँको बाटो, घरको आँगन र आमाको अनुहार सम्झायो । ‘देश छाडेर फर्केको मान्छेलाई आफ्नो गाउँ–ठाउँको निकै माया लाग्दो रहेछ,’ भण्डारीले भने, ‘जहाजबाट काठमाडौं देख्दा मनै आनन्द भयो । आफ्नै घरमाथि आइपुगेजस्तो भयो ।’
भण्डारी कतारमा ७ वर्षदेखि सुपरमार्केटमा सेल्सम्यानका रूपमा कार्यरत छन् । विदेश जान थालेदेखि उनले दसैंमा टीकाजमरा लगाउन पाएका थिएनन् । ‘म पहिलो पटक दसैंको मुखमा वैदेशिक रोजगारीमा उडेको थिएँ । त्यसपछिको हरेक दसैं खल्लो हुँदै आयो,’ उनले भने, ‘यसपालि बल्ल आमाको हातबाट टीका थाप्ने अवसर जुर्दै छ ।’
दसैंका लागि नै बिदामा आउन चार वर्षदेखि पर्खेको भण्डारीले बताए । ‘हरेक दुई वर्ष करार समाप्त भएपछि एक महिनाको बिदा पाइन्छ । आउने–फर्किने टिकट कम्पनीका तर्फबाट उपलब्ध हुन्छ । सुरुमा दुई वटा बिदा पुस–माघतिर भयो । त्यसपछि म आइनँ । कम्पनीलाई म दसैंमा मात्रै जान्छु भनेर बसें,’ उनले भने, ‘कम्पनीले दुई वर्षअघि पठाइदिन्छु भनेको थियो । त्यतिखेर टिकट पाइएन । गत वर्ष घरमा टीका नै भएन । यस वर्ष भने जुर्यो ।’
कतारको निर्माण कम्पनी जीसीसीमा कार्यरत सुनसरीका हरिनारायण न्यौपाने पनि १२ वर्षपछि दसैं मनाउन घर आएका छन् । ‘हाम्रो कम्पनीमा मात्रै ७ हजार नेपाली काम गर्छन् । हामी बस्ने क्याम्प क्षेत्रमा मात्रै दुई हजार जना होलान् । सबैलाई दसैंमा घर जानापाए हुन्थ्यो भन्ने रहर हुन्छ । कम्पनीले सबैलाई एकै पटक पठाउन सक्दैन । बिदामा पठाउने बेला ज–जसको पालो आउँछ, उही नै आउने हो । यो एक किसिमको लक्की ड्र जस्तै हो,’ उनले भने, ‘१२ वर्षपछि मात्र मेरो पालो आयो ।’
दसैंमा घर आउन नपाए पनि टीकाको दिन उतै रमाइलो हुने गरेको न्यौपानेको अनुभव छ । ‘टीकाको दिन हामीलाई बिदा दिन्छ । त्यो दिन बिहानैदेखि क्याम्पमा खुसी ढाल्न सुरु हुन्छ । गत वर्ष मात्रै ७२ वटा खसी ढालिएको थियो,’ उनले भने, ‘परिवारसँग दसैं मनाउन नपाउनुको दुःख त लाग्छ । तर, देशभरबाट आएका नेपाली एक ठाउँमा बसेर मनाउन पाउँदाको अर्को मज्जा बेग्लै हुँदो रहेछ ।’
कतारमा मात्रै चार लाख नेपाली कार्यरत छन् । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर खाडी क्षेत्र, मलेसिया र युरोप क्षेत्रमा मात्रै झन्डै २८ लाख नेपाली कार्यरत छन् । गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ७ लाख ९२ हजार १ सय ८७ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । तीमध्ये ठूलो हिस्सा खाडी मुलुक र मलेसियामा कार्यरत छन् । दसैंका बेला तीमध्ये केही हजार श्रमिक मात्रै घर फर्किन पाउँछन् । धेरैजसो भने परिवारबाट टाढै बसेर परदेशमै दसैं मनाउन बाध्य हुन्छन् ।
बर्दियाका तिलकप्रसाद कुमालले पनि दशकपछि आफ्नै घरमा जमरा राख्न पाउने अवसर पाएको बताए । ‘म साउदी अरब गएदेखि घरमा जमरा राख्न पाइनँ । मैले उतैबाट जमरा राख्ने विधि र पूजा गर्न सिकाउँथें । यता श्रीमतीले गर्दै आएकी थिइन् । यसपालि जमरा राख्नुअघि नै घर आइपुगें,’ उनले भने, ‘एक दशकपछि घरमा बच्चा र श्रीमतीलाई टीका लगाउन पाउँदै छु ।’
साउदीमा रहँदा भने कम्पनीको अनुमति लिई क्याम्पभित्रै जमरा राख्ने गरिएको थियो । ‘घटस्थापनाकै दिन मकै र जौ खोजेर जमरा राख्थें । माटो सब्जी मार्केटबाट लैजान्थें । लोभलाग्दो जमरा हुन्थ्यो,’ कुमालले भने, ‘टीकाको दिन बिहानै टीका लगाएर ड्युटी गइन्थ्यो । यस पटक अब साथीहरूले जमरा राख्लान् ।’
यस पटक खाडीबाट फर्किने धेरै श्रमिकमा अर्को तनाव पनि मिसिएको छ । इजरायल–इरान तनाव र हुथी आक्रमणका खबरले खाडी क्षेत्रमा कार्यरत नेपालीमा चिन्ता बढेको छ ।
युद्धको प्रत्यक्ष असर नपरे पनि त्यससम्बद्ध समाचारले परदेशमा रहेका श्रमिकको मनमा त्रास भने पारेको थियो । वर्षौंसम्म सुरक्षित ठानेको कार्यस्थलमा आक्रमणका खबर आउन थालेपछि घर फर्किने यात्रा पनि उनीहरूका लागि सामान्य यात्रा रहेन ।
साउदीबाट नेपाल आउने टिकट काट्दा पनि ढुक्क नभएको साउदीमा कार्यरत झापाका रोहितकुमार मगरले बताए । ‘म साउदी अरबमा १५ वर्षदेखि बसिरहेको छु । यहाँ बम विस्फोट भएको कहिले सुन्नुपरेको थिएन । म ढुक्क थिएँ । केही समयदेखि हुथी विद्रोहीले साउदीमा ठाउँ–ठाउँमा आक्रमण गरिरहेका छन् । विमानस्थलतिर हान्छ भन्ने त्यत्तिकै हल्ला चल्छ,’ उनले भने ।
दसैं सकेर फर्किने बेलासम्म पहिलाजस्तै शान्त भइदिए हुन्थ्यो भन्ने कामना गरेको मगरले जनाए । ‘यसपालिको दसैंमा मेरो कामना नै मेरो कार्यस्थलमा पहिलाजस्तै शान्ति छाइदिओस् भन्ने छ,’ उनले भने ।
मलेसियाको जोहोरबारुबाट फर्किएका झापाका राजन खड्काले विमानस्थलको अध्यागमन पार गरेपछि सबैभन्दा पहिले आमालाई फोन गरेको बताए । ‘मलाई टीका लगाइदिन ८५ वर्षकी आमालाई ठूलो इच्छा छ । हरेक वर्षको दसैंमा उहाँ रुनु हुन्थ्यो,’ उनले भने, ‘कहिले कोभिड, कामको जिम्मेवारी र आर्थिक अवस्थाका कारण दसैंमा घर फर्किन पाएको थिइनँ ।’
आठ वर्षदेखि भिडियो कलबाट मात्र दसैं हेर्दै आएका उनी विदेशमा चाडबाडका बेला विरक्त लाग्ने गरेको सुनाए । ‘घर आउन नपाउँदा त यो चाडबाड भन्ने नआए पनि हुन्थ्यो जस्तो लाग्थ्यो,’ उनले भने, ‘के गर्नु चित्त बुझाएर बस्नुको अरू उपाय छैन ।’
यसपालि दसैंमा बच्चाहरूसँग दसैं मनाउन पाएको खोटाङका गणेश राईले बताए । ‘बच्चाहरूसँग सँगै बसेर दसैं नमनाएको १० वर्ष पुगेको थियो । उनीहरूले दसैंमा कहिले आउने भनेर सोध्न पनि छाडिसकेका थिए । उनीहरूलाई सधैं पैसा पठाएर मात्रै हुँदो रहेनछ,’ उनले भने, ‘मैले यसपालि बिदा पाउन कम्पनीलाई चार महिना अगाडिदेखि नै बरु आफ्नै खर्चमा जान्छु भनेर निवेदन दिएको थिएँ । मेरो निवेदन स्वीकृत भएर आयो ।’
यूएईबाट फर्किएका धनुषाका सन्तोष झाले घर फर्किएपछि दसैं बल्ल दसैंजस्तो लाग्ने बताए । ‘विदेशमा पनि दसैं मनाइन्छ । टीका लगाइन्छ, मासु पकाइन्छ । तर घरको दसैंसँग त्यसको तुलना हुँदैन,’ उनले भने, ‘मलाई हरेक बिहान उठेर मन्दिर जान एकदमै मन पर्छ । यो दसैंमा त्यो इच्छा पूरा गर्छु ।’
उनका अनुसार परदेशमा पसिना बगाइरहेका श्रमिकका लागि दसैंमा घर फर्किनु बिदा नभए आफ्नै मान्छे, आफ्नै आँगन र आफ्नै पहिचानसँग पुनर्मिलन पनि हो । ‘दसैं भन्नेबित्तिकै मलाई बाल्यकालको याद आउँछ । साथीहरूसँग पिङ खेलेको, चंगा उडाएको, नयाँ लुगा लगाएको र मामाघर गएको याद आउँछ,’ उनले भने, ‘ड्युटीमा विदेशमा रहँदा यस्ता सम्झना एकै पटक आउँछन् । त्यतिखेर ज्यान मात्रै विदेशमा हुन्छ । मन त सधैं गाउँमै हुन्छ ।’
तर सबैको भाग्य यति सहज थिएन । कतारको रस्लाफानस्थित ग्यास प्लान्टमा कार्यरत मोरङका बालकृष्ण बोर्तेलले यसपालि पनि दसैं उतै मनाउँदै छन् । सात वर्षदेखि घरपरिवारका हातबाट टीका थाप्न नपाएका बोर्तेलले फोनमा भने, ‘साथीहरू घर फर्किएको फोटो हेर्दा खुसी पनि लाग्छ तर आफू जान नपाउँदा अलि खल्लो पनि लाग्छ ।’