चाडपर्वमा पनि बिदेसिनुपर्ने बाध्यता उस्तै

16 October, 2026

Kiran Adhikari

दसैं र तिहार नजिकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेसिने नेपालीको चाप उस्तै छ। चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीको क्रम बढिरहेका बेला रोजगारीको खोजीमा देश छाड्नेहरू पनि उत्तिकै छन्। परिवारसँग बसेर खुसी साटासाट गर्नुपर्ने समयमा बिदेसिनुपर्ने बाध्यता धेरै नेपालीका लागि रहरभन्दा ठूलो विवशता बनेको छ।

वर्षभरि पराइ भूमिमा पसिना बगाएर परिवारको खुसीका लागि कमाउने नेपालीहरू चाडपर्वमा घर फर्किने गर्छन्। तर, स्वदेशमै रोजगारीको अवसर नपाउँदा कतिपय नेपाली भने दसैंको मुखमै परिवार र जन्मभूमि छाडेर बिदेसिन बाध्य छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा भेटिने उनीहरूका अनुहारमा परिवारबाट टाढिनुपर्दाको पीडा र भविष्यप्रतिको आशा एकसाथ देखिन्छ। ‘दसैं आयो, तर मन खुसी छैन। परिवारसँग बस्ने बेला देश छाडेर जानुपरेको छ,’ पर्वतको कुश्माकी २७ वर्षीया शान्ति पुन मगरले भनिन्। रोजगारीका लागि साइप्रस जान बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी उनी दसैंको मुखमा बिदेसिनुपर्दा मन खिन्न भएको बताउँछिन्। परिवारसँग बसेर चाडपर्व मनाउने समयमा आफू टाढिनुपर्दा एक्लोपन महसुस भइरहेको उनको भनाइ छ।

दसैंमा देश–विदेशबाट नेपाली घर फर्किने र परिवारका सदस्य एकै ठाउँमा भेला भएर खुसी साटासाट गर्ने गर्छन्। तर, शान्तिका लागि भने यसपटकको दसैं परिवारबाट टाढिएर बित्नेछ। रोजगारीको अभावमा बिदेसिनु परे पनि परिवारको भविष्य उज्ज्वल बनाउने सपना बोकेर उनी जन्मभूमि छाड्दै छिन्। ‘म परिवारसँग नभए पनि अबका दिनमा पैसाकै कारण परिवारले दुःख भोग्न नपरोस् भन्ने चाहन्छु,’ उनले भनिन्। परिवारका आवश्यकता पूरा गर्ने र भविष्यमा सुख दिन सक्ने आशासहित बिदेसिन लागेको उनले बताइन्।

बर्दियाको बाँसगढी नगरपालिकास्थित गुरुवा गाउँकी २१ वर्षीया निशा थारू पनि दसैंको मुखमा रोजगारीका लागि दुबई जाँदै छिन्। देश, बुवाआमा र परिवार छाडेर बिदेसिनुपर्दा आफूलाई निकै नरमाइलो लागेको उनले बताइन्। उनले मन भारी बनाउँदै भनिन्, ‘नेपालमा बसेर रोजगारी गर्ने पर्याप्त अवसर छैनन्। भित्रभित्रै मन रोए पनि देश छाड्नु परेको छ।’

नयाँ सरकार गठन भएपछि स्वदेशमै रोजगारीको अवसर पाइने आशा गरे पनि त्यस्तो सम्भावना नदेखेपछि बिदेसिनु परेको उनको गुनासो छ। चाडपर्वका बेला परिवारसँग बस्न मन हुँदाहुँदै पनि रोजगारीकै लागि विदेश जानुपर्ने बाध्यता रहेको उनले बताइन्। ‘मैले चाडपर्वकै बेला रोजगारीका लागि बिदेसिनु परे पनि मेरा भाइबहिनीले भविष्यमा यस्तो अवस्था भोग्न नपरोस्,’ निशाले भनिन्।

इलामको माई नगरपालिका स्थायी घर भई हाल झापाको भद्रपुर नगरपालिकामा बस्दै आएका २० वर्षीय प्रवेश राई पनि दसैंको मुखमा दुबई जाने तयारीमा छन्। दसैंजस्तो महान् चाडमा परिवारसँग भेटघाट गरेर सँगै रमाइलो गर्न पाउनु खुसीको कुरा भए पनि यसपटक आफू बिदेसिनुपर्दा मन भारी भएको उनले बताए। परिवारसँग बसेर चाडपर्व मनाउने चाहना हुँदाहुँदै पनि पारिवारिक तथा घरायसी बाध्यताले विदेश जानुपर्ने अवस्था आएको उनको भनाइ छ।

उनले विदेश जाँदा दुःख र नरमाइलो लागे पनि भविष्यमा परिवारलाई सुख र खुसी दिन सकिने आशाले आफूले यो निर्णय लिएको बताए। उनले भने, ‘अहिले विदेश जानुपर्दा दुःख लागेको छ। तर, भविष्यमा आफूले कमाएको पैसाले परिवारलाई अझ बढी खुसी दिन सकूँ भन्ने चाहना छ।’ राईले परिवारको आर्थिक अवस्था सुधार्ने र आफन्तलाई सुखी बनाउने सपना बोकेर बिदेसिन लागेका सम्पूर्ण नेपालीलाई दसैंको शुभकामनासमेत दिएका छन्।

शान्ति, निशा र प्रवेशका कथा फरक भए पनि उनीहरूको बाध्यता एउटै छ–परिवारसँग बसेर चाडपर्व मनाउने चाहनाभन्दा रोजगारीको आवश्यकता ठूलो हुनु। दसैंमा घर फर्किने र आफन्तसँग खुसी साट्ने नेपालीको परम्पराका बीच रोजगारीकै लागि चाडपर्वको मुखमा देश छाड्नुपर्ने बाध्यता छिट्टै हटोस् भन्ने उनीहरूको चाहना छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026