चाडपर्वमा घर फर्किने नेपालीलाई जमुनाहा नाकामा यात्रु सहायता कक्ष

6 October, 2026

दसैँ, तिहार तथा छठ पर्व मनाउन भारतबाट ठुलो सङ्ख्यामा नेपाली घर फर्किन थालेसँगै बाँकेको जमुनाहा नाकामा यात्रुको सुरक्षा र सहज यात्राका लागि संयुक्त यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।

चाडपर्वका बेला स्वदेश फर्किने यात्रुले सीमा नाकादेखि गन्तव्यसम्म ठगी, लुटपाट, यातायातको समस्या तथा अन्य असहजता भोग्न नपरोस् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सहायता कक्ष स्थापना गरिएको हो। सहायता कक्षको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गर्नुभयो।

चाडपर्वलाई लक्षित गरी बाँकेमा विशेष सुरक्षा योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो। भारतबाट घर फर्किने नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिमयुक्त क्षेत्रमा सुरक्षा निगरानी बढाइएको उहाँले बताउनुभयो।

“नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ,” प्रजिअ तामाङले भन्नुभयो, “भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो।”

जमुनाहा नाकाबाट दसैँ, तिहार र छठ मनाउन स्वदेश फर्किने नेपालीको चाप बढ्ने भएकाले यात्रुको आवागमन व्यवस्थित गर्न सहायता कक्ष प्रभावकारी हुने अपेक्षा गरिएको छ। कक्षबाट यात्रुलाई गन्तव्यसम्म पुग्ने यातायात, भाडादर, बाटो तथा सुरक्षासम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउनुका साथै समस्या परेका यात्रुलाई तत्काल सहयोग र समन्वय गरिनेछ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका बेला हुन सक्ने ठगी, लुटपाट, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताउनुभयो। भारतबाट फर्किने यात्रुको चापलाई ध्यानमा राख्दै जमुनाहा नाकासहित नेपालगन्ज र कोहलपुर बसपार्कमा समेत सहायता कक्ष सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।

यात्रुको सुरक्षा र यातायात व्यवस्थापनका लागि जनपद प्रहरीसँगै ट्राफिक प्रहरीसमेत परिचालन गरिएको छ। चाडपर्वमा सीमा नाकामा हुने भीडभाड र यात्रुको बढ्दो चापलाई व्यवस्थित गर्न विशेष निगरानीसमेत बढाइएको प्रहरीले जनाएको छ।

यात्रुको गुनासो तत्काल सम्बोधन गर्ने, समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा शंकास्पद गतिविधिमाथि निगरानी गर्ने गरी सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरीले जनाएको छ।

सहायता कक्ष शुभारम्भ कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्द, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाही, इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईलगायत सुरक्षा निकायका अधिकारीको सहभागिता थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026