६ वर्षदेखि परदेशमा रहेका श्रीमान घर फर्कने दिन गन्दै थिइन् देवी जिसी पौडेल। छोरी स्मृति पनि लामो समयपछि बुवा घर आउने खबरले उत्साहित थिइन्।
भदौ १५ गते छत्रबहादुर पौडेल घर फर्किने तयारीमा थिए। तर, परिवारले कुरेको त्यो दिन कहिल्यै आएन। अब आउने पनि छैन। घर फर्कने तयारीमा रहेका मोरङको उर्लाबारी नगरपालिका–७ भद्रमारीका ५१ वर्षीय छत्रबहादुर (कमल) पौडेल मंगलबार बिहान जीवित होइन, शव बनेर घर आइपुगे। साउदी अरबमा दुर्घटनामा परेर गत साउन १४ गते उनको मृत्यु भएको थियो। मृत्यु भएको ५३ दिनपछि उनको शव घर ल्याइएको हो।
छत्रबहादुर वैदेशिक रोजगारीका क्रममा ६ वर्षदेखि साउदी अरबमा थिए। परिवारसँग सल्लाह गरेर उनी लामो समयपछि घर फर्कने तयारीमा थिए। छत्रबहादुर घर आउने भएपछि श्रीमती देवी र १९ वर्षीया छोरी स्मृतिमा खुसी छाएको थियो। तर, घर आउने दिन नजिकिँदै गर्दा परिवारमा उनको मृत्युको खबर पुग्यो।
आफन्तका अनुसार पौडेलसँग साउदीमा काम गर्ने कानुनी आधार थिएन। श्रम स्वीकृति नभएको र भिसाको म्यादसमेत सकिएको अवस्थामा उनी साउदीमै बसेर लुकिछिपी काम गरिरहेका थिए। सोही क्रममा दुर्घटना भएको पारिवारिक स्रोतले जनाएको छ। आफन्त मधन जिसीका अनुसार कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पौडेलको शव नेपाल ल्याउन समय लागेको हो। मंगलबार बिहान करिब ३ बजेतिर शव घर ल्याइपु¥याइएको उनले बताए।
शव घर आइपुग्दा परिवारले ६ वर्षदेखि बोकेको प्रतीक्षा एकाएक शोकमा बदलियो। श्रीमानको शव देखेपछि देवी सम्हालिन सकिनन्। अन्त्येष्टिका क्रममा बेहोस भएपछि उनलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो। छत्रबहादुरको मंगलबार नै उर्लाबारी नगरपालिका–४ स्थित बक्राहा घाटमा अन्त्येष्टि गरिएको छ। आफन्त, नातागोता, छरछिमेकी तथा शुभेच्छुकहरू घाटमा भेला भएर उनलाई अन्तिम बिदाइ गरे।
पौडेल परिवारका लागि उनी विदेशमा रहेका सदस्य मात्र थिएनन्। परिवारको आर्थिक जिम्मेवारी उनकै काँधमा थियो। उनको कमाइबाट श्रीमती र छोरीको दैनिकी चल्दै आएको थियो। उनको मृत्युले परिवारको आर्थिक आधार नै सकिएको आफन्त बताउँछन् । ‘घरको मूल खम्बा नै ढल्यो । उहाँकै कमाइमा परिवार चलेको थियो। अब श्रीमती र छोरी मात्रै छन्,’ जिसीले भने।
वैदेशिक रोजगारीमा रहेका नेपालीको मृत्युका घटना पटकपटक सार्वजनिक भइरहे पनि कानुनी प्रक्रिया पूरा नगरी विदेशमा बस्दा यस्ता घटनापछि परिवारले थप कठिनाइ भोग्नुपर्ने अवस्था देखिन्छ । पौडेलको मृत्युमा पनि श्रम स्वीकृति र भिसाको समस्या रहेकाले साउदी पक्षबाट क्षतिपूर्ति पाउने विषय जटिल बनेको आफन्तले बताएका छन्।
परिवारको भविष्य सुरक्षित बनाउने उद्देश्यले वर्षौं परदेशमा बिताएका पौडेलले अन्ततः घर फर्कने निर्णय गरेका थिए। श्रीमती र छोरी पनि ६ वर्षपछि उनलाई घरमै भेट्ने प्रतीक्षामा थिए। तर, उनी फर्किए — जसरी परिवारले कल्पना गरेको थियो, त्यसरी होइन। मंगलबार बिहान घरको आँगनमा छत्रबहादुरको शवसहितको बाकस आइपुग्दा ६ वर्षदेखि परिवारले बोकेको घर फर्कने प्रतीक्षा सधैंका लागि अन्त्य भएको छ। अहिले देवी र स्मृतिसँग छत्रबहादुरको साथ छैन। उनका सम्झना र अधुरा सपना मात्रै बाँकी छन्।