वंशजको नेपाली नागरिकताको निरन्तरता विदेशमा रहेका नेपालीहरूको लामो समयदेखिको महत्त्वपूर्ण माग हो। नेपालबाहिर बसोबास गरे पनि नेपाली भाषा, संस्कृति, पारिवारिक सम्बन्ध, सामाजिक मूल्य र मातृभूमिसँगको भावनात्मक सम्बन्धलाई निरन्तरता दिँदै आएका नेपाली मूलका नागरिकले आफ्नो नेपाली पहिचान कानुनी रूपमा पनि सुरक्षित रहोस् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो। यही मागलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए), नागरिकता अभियानका अभियन्ता तथा विश्वभर रहेका नेपालीले वर्षौंदेखि आवाज उठाउँदै आएका छन्।
तर, सरकार र राजनीतिक दलबाट पटक–पटक आश्वासन प्राप्त भए पनि समस्या समाधान हुने गरी ठोस निर्णय र प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। अब भने फेरि आश्वासन दिने समय होइन, निर्णय गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने समय हो। नेपालको संविधान र प्रचलित कानुनी व्यवस्थाले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरे पनि यसले विदेशमा रहेका नेपाली मूलका नागरिकका सबै सरोकारलाई सम्बोधन गरेको अनुभूति धेरैमा छैन।
एनआरएनए तथा नागरिकता अभियानमा संलग्न अभियन्ताहरूबीच पनि यस विषयमा फरक–फरक धारणा छन्। कसैले गैरआवासीय नेपाली नागरिकताको वर्तमान व्यवस्था नै पर्याप्त रहेको मान्नुहुन्छ, कसैले राजनीतिक अधिकारबाहेक नेपाली नागरिकसरह अन्य अधिकारको निरन्तरता आवश्यक रहेको बताउनुहुन्छ भने कतिपयले वंशजको नेपाली नागरिकताको निरन्तरताकै माग गर्दै आउनुभएको छ।
यी सबै सरोकारलाई समेट्ने र दीर्घकालीन रूपमा स्पष्ट समाधान दिने सबैभन्दा उपयुक्त बाटो भनेको वंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्नु हो। यस विषयमा अब विभिन्न धारणा राख्ने अभियन्ता, संघसंस्था र सरोकारवालाबीच आवश्यक संवाद र सहकार्य गर्दै साझा धारणा निर्माण गर्नुपर्छ। मागहरू विभाजित हुँदा समस्या समाधानका लागि आवश्यक राजनीतिक दबाब कमजोर हुन सक्छ। त्यसैले व्यक्तिगत वा संस्थागत मतभिन्नताभन्दा माथि उठेर नेपाली पहिचान र अधिकारको मूल प्रश्नमा एकजुट हुनु आजको आवश्यकता हो।
संविधान संशोधनका लागि राजनीतिक सहमति निर्माण गर्न सक्ने अवस्था देखिएको वर्तमान समयमा विदेशमा रहेका नेपालीहरूको यो दीर्घकालीन समस्यालाई सरकारले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्छ। सरकारबाहिर रहेका प्रमुख राजनीतिक दलहरूले समेत संविधान संशोधनका विषयमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिरहेको अवस्थामा वंशजको नागरिकताको निरन्तरताको विषयलाई पनि संविधान संशोधन तथा आवश्यक कानुनी प्रक्रियाको एजेन्डामा समेट्ने यो उपयुक्त अवसर हो।
सरकारलाई मेरो स्पष्ट आग्रह छ– अब आश्वासन होइन, लिखित प्रतिबद्धता दिनुहोस्। समाधानका लागि स्पष्ट समयसीमा तोक्नुहोस्। आवश्यक संवैधानिक, कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउनुहोस् र लामो समयदेखि प्रतीक्षामा रहेका नेपालीहरूको अपेक्षालाई ठोस निर्णयमार्फत सम्बोधन गर्नुहोस्। विदेशमा बस्दैमा नेपाली नेपालबाट टाढा भएका होइनन्। रोजगारी, अध्ययन, व्यवसाय वा अन्य विविध कारणले विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरूको नेपालसँगको सम्बन्ध भावनात्मक मात्र होइन, पारिवारिक, सांस्कृतिक र राष्ट्रिय पहिचानसँग समेत जोडिएको छ।
त्यसैले वंशजको नागरिकताको निरन्तरता कुनै व्यक्ति, संस्था वा एउटा अभियानको मात्र माग होइन; यो नेपाली मूलका नागरिकको पहिचान, अधिकार र मातृभूमिसँगको सम्बन्धसँग जोडिएको विषय हो। अब पनि ढिलाइ गर्ने हो भने विदेशमा रहेका नेपालीहरूले फेरि नयाँ सरकार र नयाँ राजनीतिक नेतृत्वसँग उही प्रश्न दोहोर्याउनुपर्नेछ- आश्वासन कहिलेसम्म ? निर्णय कहिले ? कार्यान्वयन कहिले ?
त्यसैले अब विश्वभर रहेका नेपालीहरूको साझा आवाज स्पष्ट हुनुपर्छ, आश्वासन होइन, कार्यान्वयन चाहिन्छ। नेपालसँगको हाम्रो सम्बन्ध कुनै कागजको सीमाले मात्र निर्धारण गर्ने विषय होइन। हाम्रो पहिचान, भावना र पुस्तौंदेखिको सम्बन्धलाई सम्मान गर्ने गरी राज्यले पनि स्पष्ट र दीर्घकालीन कानुनी आधार सुनिश्चित गर्नुपर्छ। अब समय आएको छ— प्रतिबद्धतालाई निर्णयमा, निर्णयलाई कानुनमा र कानुनलाई व्यवहारमा रूपान्तरण गर्ने। एक पटकको नेपाली, सधैंको नेपाली।