जिल्लाको मल्पीका युवा जन्मथलोलाई ‘कृषि गाउँ’ बनाउने अभियानमा जुटेका छन् । गाउँमै ज्वालामुखी कृषि सहकारी संस्था खोलेर उनीहरूले व्यावसायिक रूपमा कृषि थालेका छन् । सहकारीमा स्थानीय २ सय ४० युवा आबद्ध छन् । ‘बिदेसिने सपना छाडेर गाउँमा कृषि व्यवसाय सुरु गरेको छु,’ स्थानीय सुवास हुमागाईंले भने ‘इच्छा शक्ति र जाँगर भए विदेशको जत्तिकै कमाइ यहीँ हुने रहेछ । ‘ उनीसहित १० युवाले कृषि कार्यालयको सहयोगमा टनेलभित्र बेमौसमी गोलभेडा खेती गरिरहेका छन् । सहकारीमा आबद्ध भएका युवाले फरक प्रकारको कृषि व्यवसाय गरिरहेका छन् । विदेशमा श्रम गरेर फर्केका श्रीराम केसीको आम्दानी अहिले उताको चार गुणा बढी छ । ‘पसिना स्वेदशमै बगाए धेरै गर्न सकिने रहेछ,’ कुखुरापालन गरिरहेका उनले भने, ‘विदेशको भन्दा चार गुणा बढी परिवारसँगै बसेर कमाइरहेको छु ।’ कतारको सनैयामा गाडीको सामान बेच्ने काम गरेका उनी दैनिक १४ घन्टा खट्थे । खर्च कटाएर मुस्किलले २५ हजार रुप्ाैयाँ बचत हुन्थ्यो । अहिले खर्च कटाएर मासिक १ लाख रुपैयाँ बचत गर्दछन् । स्थानीय राधाकृष्ण अधिकारी, मनोज केसी, मुक्ति केसीलगायत १० युवाले कुखुरापालन गरिरहेका छन् । यसका अलावा व्यावसायिक तरकारी खेती, आलु, सुन्तला खेती र बाख्रापालनमा उनीहरू खटिरहेका छन् । ‘मल्पीलाई आगामी ३ वर्षभित्र जिल्लाकै नमुना कृषि गाउँ बनाइसक्छौं,’ सहकारीका अध्यक्ष श्रीरामले भने, ‘युवालाई कृषि पेसामा आकषिर्त गराउँदै अगाडि बढिरहेका छौं ।’ उनले सहकारीले युवाहरूलाई खेती गर्न आवश्यक पर्ने ऋण, खेती गर्ने तरिका, कृषिमा भित्रिएका आधुनिक प्रविधि, न्यून मूल्यमा तरकारीका बीउ, क्षमता अभिवृद्धि गर्न तालिम र रासायनिक मल उपलब्ध गराइरहेको बताए । ‘युवा बिदेसिने क्रम तीव्र गतिमा बढेको छ । त्यसलाई रोक्न नसके गाउँमा खेती गर्ने मान्छे नपाउने अवस्था छ,’ जिल्ला कृषि कार्यालयका प्रमुख सहदेव हुमागाईंले भने, ‘बिदेसिनबाट युवाहरूलाई रोक्न युवा लक्षित कार्यक्रम सुरु गरेका छौं ।’ युवाहरूको किसान समूह वा सहकारी बनाएर त्यसमार्फत युवा लक्षित कार्यक्रम गाउँगाउँसम्म पुर्याइरहेको उनले बताए ।