गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा

2 October, 2026

पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ। विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले कृषि तथा पशुपालनलाई व्यवसायका रूपमा अघि बढाएका छन्।

उनीहरू व्यावसायिक रूपमा अलैँची, किवी, एभोकाडो, ओखर, चिराइतोखेती तथा बाख्रापालनमा जुटेका छन्। गाउँमै मिहिनेत गरेर कृषि तथा पशुपालनबाट आम्दानी गर्न सकिने भएपछि स्थानीय युवा त्यसतर्फ आकर्षित भएका हुन्। विदेशबाट फर्किएका केही युवाले विदेशमा सिकेको सीप र अनुभव प्रयोग गर्दै व्यवसाय सञ्चालन गरेका छन्। उनीहरूले कृषि तथा पशुपालनलाई आत्मनिर्भर बन्ने माध्यम बनाएका छन्।

टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका युवा पुस्कर विष्ट विदेशबाट फर्किएपछि गाउँमै व्यावसायिक बाख्रापालनमा लागेका छन्। उनले चलाउँदै आएको ‘पुस्कर कृषि तथा पशुपालन फार्म’ मा बोयर र स्थानीय जातका बाख्रा पालिएको छ। छ वर्षअघिदेखि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका विष्टले विदेशमा भन्दा राम्रो आम्दानी भएको बताए।

“विदेश जानुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्न सके राम्रो आम्दानी हुने रहेछ”, उनले भने। अर्का युवा भीमराज विष्ट मलेसियाबाट फर्किएर गाउँमै कृषि व्यवसायमा सक्रिय छन्। उनले भोजपुर नगरपालिका–६ मा बाख्रापालनसँगै सुन्तला, कागती खेती गरिरहेका छन्। गाउँमै व्यवसाय सञ्चालन गरेर उदाहरणीय बन्न सकिने उनको भनाइ छ।

अर्का युवा लाल विष्टले पनि व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका छन्। पछिल्लो समय अलैँचीको मूल्यमा सुधार आएपछि स्थानीय युवा व्यावसायिक खेतीतर्फ आकर्षित भएको उनले बताए। नयाँ तथा पुरानो बगान गरी करिब ४० रोपनीमा अलैँचीखेती गर्दै आएको उनले बताए।

“व्यावसायिक रूपमा काम गर्दा यहीँ नै राम्रो आम्दानी गर्न सकिने रहेछ”, उनले भने, “मिहिनेत गर्न सकियो भने परिवारसँग बसेर वार्षिक चार–पाँच लाख रुपैयाँ कमाउन समस्या छैन। गाउँका धेरै युवा विदेशबाट फर्केर उद्यममा जोडिएको अवस्था छ।”

कृषि तथा पशुपालनका क्षेत्रमा युवाको सक्रियता बढेसँगै स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै उत्पादन र आम्दानी बढ्न थालेको उनको भनाइ छ।

विदेशबाट फर्किएका युवाहरूले आफ्नै जमिन, स्थानीय स्रोतसाधन र सीपको प्रयोग गरेर व्यवसाय सञ्चालन गर्न थालेपछि गाउँको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्न थालेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026