काँडा १ का हरिबहादुर बुढाका ५ छोराहरू वैदेशिक रोजगारीमा छन्। दुई छोराहरू तीन वर्षसम्म मलेसिया बसेर फेरि यही साल कतार गए। अरू तीन छोराहरू चार वर्षदेखि कतारमै वैदेशिक रोजगारीमा छन्। उनकै छिमेकी सुरेन्द्र बुढाका पनि तनि छोराहरू रोजगारीका लागि कतारमै छन्। काँडा गाविसका अधिकांश घरधुरीका युवाहरू वैदेशिक रोजगारीमै छन्। गाउँमा रोजगारी नभएपछि युवाहरू वैदेशिक रोजगारीमा जाने बाध्यता भएको हरिबहादुरले बताए। ‘छोराहरू विदेश गएपछि घरको आर्थिक स्थिति राम्रो हँुदै गएको छ,’ उनले भने, ‘देशभित्रै रोजगारीको समस्या छ, विदेश जानुको विकल्पै छैन।’ वडा नम्बर १ बाटमात्रै १ सय ३४ जना युवा वैदेशिक रोजगारीमा गएको पूर्ववडाअध्यक्ष सोभिराम बुढाले बताए। स्थानीयहरूका अनुसार युवाहरू विदेश गएपछि गाउँमा ठूलोसाह्रो काम पर्दा समस्या हुने गरेको छ। १ मा मात्रै होइन काँडा गाविसका अधिकांश घरहरू युवाविहीन बन्दै गएका छन्। दुई छोराहरू साउदी अरबमा रहेका भोला विकले दुर्गम गाउँहरूमा पनि वैदेशिक रोजगारीमा जाने परम्परा बढ्दै गएको जनाए। ‘बूढाबूढीले नै गाउँ धानिरहेका छौं,’ काँडा ९ का मोतिराम बुढाले भने, ‘गाउँमा भेला, बैठक, जन्ती, मलामी, दाउराघाँस र परिवारको पूरै जिम्मेवारी महिला, बूढाबूढीले धानिरहेका छन्।’ ‘सबै पैसा कमाउन जान थाले, कोही विदेश कोही सहरबजार, गाउँमा दुःख गरेर बस्ने कोही भएनन्,’ पूर्व वडाअध्यक्ष बुढाले भने, ‘गाउँहरू युवाविहीन हँुदै गएपछि जग्गाजमिन बाँझो हुन थालेका छन्।’ विदेशबाट फर्किएका युवाहरू सहरतिर बसाइँ सरी जाने क्रम पनि बढदै गएको छ। एकै घरका ७ जनासम्म विदेश गएको बुढाले जनाए। आमाबाबु बिरामी पर्दा हेरिदिने युवाहरू नै नभएको उनी बताउँछन्। गाविस सचिव गीता ओलीले काँडा गाविसबाट मात्रै १ हजार ८ सय जना युवाहरू वैदेशिक रोजगारीमा रहेको बताइन्।