मकवानपुरको हेटौंडा उपमहानगरपालिका – १२ अन्तर्गत पर्ने कुर्खेन्नी खोला किनारमा बालुवा चालेर जीविका चलाउने श्रमिकहरूको जीवन निकै कष्टकर रहेको छ । नदि किनारमा रहेको बगरमा कोही बालुवा चाल्छन्, कोही गिट्टी कुट्छन्, कोही खोलामा डुङ्गा खोज्दै पानीसँग जुधिरहेका भेटिन्छन् । नदि किनारमा घाम टाउकोमा चर्किएर पर्दा, बगरको बालुवा र गिट्टी तातेर पोल्छ । त्यही तातो ढुङ्गामाथि नाङ्गो खुट्टाले टेक्दै ९१ वर्षीय वृद्ध रामबहादुर स्याङतानको हातहरूले दिनभरि खोला बगरमा बालुवा कोट्याई रहेका भेटिन्छन् ।
वैशाख महिनाको गर्मी त्यसमा पनि बिहानको १२ बजेको घाम, चिरिक्क चर्केर टाउको पोल्दा समेत स्याङतानका सहासी हातहरू रोकिदैनन् । आफ्नो पुरानो घर मनहरी तार्सिगोठ बताउने उनी चर्किलो घामका पसिनाले भिजेका आफ्नो शरीरमाथिको बस्त्र खोलेर नदिको बगरका बालुवामा जीवन खोजिरहेका भेटिन्छन । छेउमा ओत लाग्न छाता–बालुवामाथि नै गाडेर काम गर्दै गरेका स्याङतानले उक्त काम गर्ने थालेको १७-१८ वर्ष भइसकेको सुनाए ।
स्याङतानले भने, ‘पहिले परिवारमा १-१ जना छोराछोरी र श्रीमती थिए । अहिले श्रीमती वितेको पनि १९ वर्ष भइसक्यो भएको एउटा छोरा पनि ४÷५ वर्ष आगाडि मात्र वितेको कुरा आखाँभरी आँशु पार्दै सुनाए । अहिले बनस्थलीमा रहेको छोरी ज्याईको घरमा बसेर यो काम गर्छु । बिहान ७ बजे खोलामा आउँछु ११ बजेतिर खाना खान जान्छु घरमा बस्न मन लाग्दैन फेरि यही फर्केर आएर बेलुकासम्म काम गर्छु । अहिले काम गर्न सक्दिनँ १७ -१८ दिन लाग्छ एक ट्याक्टर बालुवा खोज्न । त्यसबापत २ हजार रुपैंयाँ मात्र पाउने बताए ।
यस्तै एक ट्याक्टर गट्टिको १२ सय रुपैया र एक ट्याक्टर ढुङ्गाको पैसा ५ सय देखि ८ सय रुपैंयाँसम्म पाउने उनले बताए । त्यो पनि प्रहरी प्रशासन आएर हैरान पर्ने गरेको भन्दै काम गरेर खान पनि नदिएको भन्दै दुःख व्यक्त गरे । सोही स्थानमा बालुवा चाल्दै गरेको अवस्थामा ७६ वर्षीय सूर्यकुमारी वाइवा समेत भेटिइन् । सूर्यकुमारी वाइवालाई ९१ वर्षीय वृद्ध रामबहादुर स्याङ्ताने बहिनी बनाएका रहेछन् ।
दुवै जना बनस्थलीमा एकै ठाउँ बस्ने र सूर्यकुमारी बिमार भइरहेको अवस्था र स्याङतान वृद्ध अवस्था भएपछि दुवैले मिलेर काम गर्ने निधो गरेका रहेछन् । खोला बगरमा बुढा स्याङतान घामबाट जोगिन सानो छातामुनि बस्दै ढुंगा टिपिरहेका रहन्छन् । छेउमै उनकी बहिनी, हातमा सानो औजार, बालुवा खन्ने गर्छिन् । उनीहरूका अनुहारमा थकान स्पष्ट देखिन्छ, तर त्योभन्दा ठूलो देखिन्छ—बाँच्नुपर्ने बाध्यता भेटिन्थ्यो । सूर्यकुमारीको आफ्नो घर छैन । उनी बनस्थलीमा भाडामा कोठा लिएर बस्छिन् । परिवारमा छोरा, बुहारी, २ नाती र आफूसहित ५ जना रहेको भन्दै फूर्सदमा छोराले पनि खोलामा आएर सघाउने गरेको सुनाइन् ।
२०५९ सालदेखि खोला बगरमा काम गर्न थालेकी उनले महिनाको २ हजार रुपैया त कहिले त्यति पनि कमाउन नसकेको कुरा सुनाइन् । घरमा काम नगुर्न भन्छन् । तर, छोराले कमाएको बुहारीको हातमा दिन्छ । आफ्नो हातले कमाएको आफैलाई हुन्छ, लाउन खान पाइन्छ भनेर काम गर्न आउँछु । ‘सरकारले दिने गरेको बृद्धा भत्ताले खानबस्न पुग्दैन ।’
सरकारले हामी जस्तो खोला बगरमा काम गर्ने समस्यामा परेकालाई राहत दिनुपर्ने बताइन् । म त झन रोगी छु । औषधी खान जचाउन समेत पैसा नभएको कुरा बताइन् । सरकारले सञ्चालन गरेको स्वाथ्य विमासम्बन्धी बेखबर उनी स्वाथ्य विमा नहुदाँ उपचार र औषधी गर्न धौ–धौ रहेको सुनाइन् । आफूलाई घुँडा दुख्ने, निहुरेर काम गर्न नसक्ने र पेट दुख्ने रोग भएकोले गहुङ्खो काम नगर्न डाक्टरको सुझाव रहेको सुनाइन् । तर,बाच्नको लागि त काम गर्नुपर्ने नै हुन्छ, नत्र ३–४ थरी औषधी किन्न पैसा हुँदैन भन्दै दुःख व्यक्त गरिन् । यस्तै उनले सरकारले हामी जस्ता गरिबलाई गरिखान नदिएको भन्दै आक्रोश व्यक्त गरिन् ।
उनले भनिन्, ‘समय समयमा खोलामा पुलिस आएर खेदाउने गरेको छ ।’ अघिल्लो वर्षको घटना सम्झँदै गहभरि आँशु पादै आफ्नो दुःख यसरी सुनाइन्, ‘अघिल्लो वर्ष काम गर्दै थिएँ । २–४ जना पुलिस आएर बुढेसकालमा चौकीमा बस्नुपर्ला भन्दै थर्काए, धम्की दिए ।’ मैले खान लाउन गाह्रो भएर हो यस्तो काम गर्नु परेको भने । तर टेरेन यहाँबाट नगए चौकीमा लगरे थुनदिने भन्दै झनै बढी कराए । रहरले हाइन बाध्यताले बिहानदेखि घाम पानी नभनी काम गरेर खान्छौ भन्दा नि सरकारले गरिखान दिँदैन भन्दै दुःख व्यक्त गरिन् ।
यस्तै बगर छेउ उनीबाट अलि पर बगिरहेको खोलाबाट ढुङ्खा निकाल्दै गरेको अवस्थामा भेटिए ३० वर्षिय सुकुराम थिङ । कुख्रेन्नी खोलामा बगिरहेको पानीसँगै, उनीहरूको पसिना पनि बगिरहेको थियो । तर त्यो पसिनाले उनीहरूमा आशाका किरणहरु झनै बढी जगाईरहेको स्पष्ट देखिन्थ्यो । परिवारमा २ छोरा, श्रीमती र आफू रहेको बताँउदै श्रीमती समेत आफैसँग काम गर्न आउने गरेको थिङले बताए । खोलामा एक ट्याक्टर गिट्टी, बालुवा ढुङ्खा खोजे बापत १५ सय पाउने तर ३-४ दिन लाग्ने बताए । आफूसँग सीप छ तर लगानी छैन । दैनिकी खर्च जोहो गर्न विहान वेलुका खान लाउन गाह्रो भएपछि यसरी काम गर्न बाध्य भएको उनले सुनाए । घाम पनि भन्न पाईदैन दुःख विमार भए नि सुख छैन । काम गर्न गाह्रो छ । त्यसमा पनि प्रहरी आएर हैरान गर्ने गरेको उनले सुनाए ।
यस्तै श्रीमती सुकुमाया उमेरले २७ वर्ष भइन् । खोलामा आउँदा श्रीमानसँगै आउने उनको २ छोरा रहेको बताइन् । सरकारले कि काम गर्न दिनुप¥यो हाइन भने हामीलाई दाल, चामल लगायत कुराहरु दिनुपर्ने उनीहरुको भनाई थियो । सोही स्थानमा बालुवा चाल्दै गरेको अवस्थामा भेटिइन् ७२ वर्षीया कान्छीमाया तितुङ । परिवारमा श्रीमानको ५ वर्ष अघिदेखि प्यारलाइसिस भएको र ५ भाइ छोरा पनि कोही कता कोही बाहिर रहेको सुनाइन् ।
महिनाको २ हजार जति कमाई हुने भन्दै तयो पैसा बुढाको औषधी र आफ्नो औषधी उपचार गर्न समेत निकै गाह्रो परेको बताइन् । परिवारले काम गर्न नजानु भन्छन– घरमै सुतेर कस्ले पैसा दिन्छ ? र त्यही भएर खोलामा आउने गरेको बताइन् । मेरो किड्नीमा पानी जमेको छ । गाह्रो काम नगर्नु भनेको छ डाक्टरले तर यहाँ कहा सुख पाइन्छ र ? प्रेसर पनि छ रोग नै रोग बोकेर हिडेको छु भन्दै सरकारले हेर्दिनु पर्ने बताइन् । काम पनि राम्रो छैन काम निकै गाह्रो छ, राम्रो कमाई हुँदैन तर सुख पनि छैन काम नगरी भन्दै आफ्नो गुनासो पोखिन् ।