सेतोपाटी संवाददाता
जाजरकोट जिल्लाबाट देशका विभिन्न ठाउँमा ज्याला मजदुरी गर्नेहरू लकडाउनका कारण समस्यामा परेका छन्।
जाजरकोटदेखि ज्याला मजदुरी गर्न नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौं, तनहुँ, पर्सा लगायतका जिल्लामा आएका मजदुर लकडाउनका कारण खाना बस्न र घर फर्कने अप्ठ्यारोका कारण उनीहरूको दैनिकीमा समस्या परेको हो।
लकडाउनका कारण जाजरकोटका ४ सयभन्दा बढी श्रमिक समस्यामा परेको नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले सेतोपाटीलाई बताए।
कतिपय श्रमिकहरू हिँडेर अर्को ठाउँमा गएपछि गाडी पाइन्छ भन्ने गलत बुझाइका कारणले समेत समस्यामा परेको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।
‘मेरो कुराकानी भएअनुसार नुवाकोटबाट आज बिहानै जाजरकोट जगतिपुरका कृष्ण आचार्य समेतको समूह नारायणघाटसम्म पैदल जाने भनेर हिँड्यो। नारायणघाटबाट जाजरकोट फर्कने गाडी भेट्ने उद्देश्यले उनीहरू पैदल हिँडेका छन्, ‘उनले फेसबुकमा लेखेका छन्’जाजरकोटको डाडागाउँको २१ जनाको समूह नुवाकोटको पञ्चकन्यामा छन्। काठमाडौं महानगरपालिका वडा नं. ३२ बालकुमारी पुलवारि नलगाड नगरपालिकाका तिलक कामीसहित २० जनाको समूह छ।
भक्तपुर नयाँठिमीको कमेरेटारमा जगतिपुर, पुन्मा लगायतका बासिन्दाहरूको ४५ जनाको समूह छ। काभ्रेको मण्डन देउपुरमा भुरका गौरीबहादुर केसी लगायत २१ जनाको समूह छ।’
सिन्धुपाल्चोकमा जाजरकोट पुन्माको १५२० जनाको समूह रहेको र तनहुँको भानु नगरपालिकामा नलगाड नगरपालिकाका धनबहादुर चदारा लगायतको २० जनाको समूह रहेको उनले उल्लेख गरेका छन्।
‘पर्साको वीरगञ्जमा जगतिपुर, भुरतिरको एउटा समूह छ। सबै जनाका साझा समस्या छन्, खानालाई रासन छैन, घर जान गाडीको पास मिल्दैन त कतिपय सँग भाडासमेत छैन,’उनले लेखेका छन्,’मेरो सम्पर्क हुन नसकेका अरू धेरै साथीहरू विभिन्न ठाउँमा समस्या झेलिनै रहनु भएको होला।’
काम गर्ने ठाउँहरूमा ठेकेदारले पैसा छैन भनेर पठाइदिएपछि उनीहरू बिचल्लीमा परेको उनले सेतापाटीलाई बताए।
आफ्नो सम्पर्कमा आएका मजदुर पुगेको ठाउँका स्थानीय सरकार र पार्टीलाई सम्पर्क गरेर यसबारे जानकारी गराए पनि आचार्यले अझै पनि पीडितहरू स्थानीय सरकार र पार्टीको सम्पर्कमा नपुगेको भन्दै चिन्ता व्यक्त गरे।
‘सरकारका संयन्त्रहरूले सरकारले बनाएका नीतिहरूको आधारभूत कार्यान्वयनमा ध्यान देओस्, सहजतामा आकाशका तारा झार्ने गफ दिने जब समस्या आउँछ उसले उसलाई,उसले उसलाई देखाउँदै पन्छिने होडमा नलाग्न मेरो अनुरोध छ,’उनले लेखेका छन्,’मिडिया खपतका लागि गफ नगर्न र जहाँ जति सकिने हो मन, वचन र कर्मले सहयोग गर्न सम्बन्धित पक्षलाई विनम्र अनुरोध छ।’