खाडीबाट तीन सय ३६ कामदार फिर्ता ल्याउन नेपाललाई दबाब

23 March, 2020

भिसा आइसकेका ५० हजार कामदार रोकिए

खाडी क्षेत्रका विभिन्न मुलुकका रोजगारदाताले नेपाली कामदारलाई फिर्ता लैजान दबाब दिन थालेका छन् । संसारभर फैलिएको कोरोना भाइरसका कारण धमाधम कम्पनी बन्द हुन थालेपछि युएईका आबुधाबी र दुबई तथा बहराइनका सेवा क्षेत्रका रोजगारदाताले नेपाली म्यानपावर व्यवसायीलाई कामदार फिर्ता लैजान दबाब दिएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

यी देशका विभिन्न आठवटा कम्पनीले कामदार फिर्ता लैजान नेपाली म्यानपावर व्यवसायीलाई पत्राचार गरिसकेका छन् । ती कम्पनीमा तीन सय ३६ नेपाली कामदार कार्यरत छन् । संघका महासचिव सुजित श्रेष्ठका अनुसार दुबईका इन्टरकन्टिनेन्टल होटेलले एक सय २०, मिलेनियम एयरपोर्ट होटेलले ४, ग्यान्ड कज्मोपोलिटन १९ र अरबियन होटेल गु्रपले ७ नेपाली कामदारलाई फिर्ता पठाउन पत्राचार गरेको छ । त्यस्तै, बहराइनको फोर सिजन होटेलले ४८, आबुधाबीका क्राउन प्लाजा होटेलले ७८, आबुधाबी गल्फ क्लबले १३, र -याडिसन होटेलले ४७ कामदार फर्काउने भएको छ ।

लक डाउनका कारण यी कम्पनी बन्द भएका छन् । आर्थिक अवस्थामा नाजुक हुने भएपछि उनीहरूले कामदार फिर्ता पठाउने तयारी गरेको महासचिव श्रेष्ठले बताए । तर, कामदार फिर्ता ल्याउन नेपाल सक्षम नभएको उनको दाबी छ ।

वैदेशिक रोजगार विभागका अनुसार विश्वका विभिन्न मुलुकमा ४२ लाख नेपाली कामदार छन् । जसमध्ये सेवा क्षेत्रमा मात्रै ९३ हजार नौ सय ११ पुरुष र एक सय ७ महिला गरी ९४ हजार १८ कार्यरत छन् ।

सुरक्षित बस्ने वातावरण मिलाइदिन सम्बन्धित देशलाई आग्रह गरिने

सरकारले फिर्ता पठाउने तयारी गरेका कामदारलाई सम्बन्धित देशमै सुरक्षित राख्न आग्रह गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको कोरोना संक्रमण व्यवस्थापन समितिको आइतबार बसेको बैठकले तत्काल नेपाली कामदारलाई फिर्ता ल्याउन नसकिने निष्कर्ष निकालेको छ । बरु, सम्बन्धित मुलुकमा नै सुरक्षित रहने वातावरण बनाइदिन दूतावासमार्फत आग्रह गर्ने निर्णय गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार यति वेला सबै मुलुकले लक डाउन गरेका छन् । ‘रोजगारदाताले कामदार फिर्ता लैजान भने पनि हामी ल्याउन सक्ने अवस्थामा छैनौँ । त्यसैले, सम्बन्धित देशको सरकारलाई सोही मुलुकमा रहन दिने वातावरण मिलाउन आग्रह गरिनेछ,’ उनले भने । औपचारिक रूपमा कुनै रोजगारदाताले कामदार फिर्ता लैजाऊ नभनेको उनको दाबी छ ।

भिसा आएका ५० हजार कामदार रोकिए छुट्टीमा आएका पनि जान पाएनन्

कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जानका लागि तयारी अवस्थामा रहेका ५० हजारभन्दा बढी कामदार नेपालमा नै रोकिएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार भिसा आएर अन्तिम श्रम स्वीकृति लिएका करिब १७ हजार र भिसा आइसकेका ४० हजार कामदार नेपालमै रोकिएका छन् । त्यस्तै, बिदामा आएर पुनः श्रम स्वीकृति लिएका ७ हजार कामदार पनि रोकिएका छन् । श्रम स्वीकृति लिइसकेका कामदारको हकमा भिसा र श्रम स्वीकृतिको अवधि बढाउन पहल गरिने श्रेष्ठले बताए । 

यसैबीच, कोरोना प्रभावका कारण वैदेशिक रोजगारीबाट देश फर्केका कामदारलाई मुलुकमै व्यवस्थापन गर्न कोरोना संक्रमण व्यवस्थापन समितिले विभिन्न अभियान चलाउने तयारी गरेको छ । यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा जम्मा भएकोे रकमबाट छुट्टै कोष खडा गरिने भएको छ । जसमा बैंक, बिमा कम्पनी र म्यानपावर व्यवसायीको पनि योगदान रहनेछ । उक्त कोषबाट विदेशबाट फर्केका कामदारलाई विभिन्न खालका रोजगारमूलक तालिम प्रदान गर्ने तथा कर्जा सुविधा उपलब्ध गराउने बोर्डको निर्णय छ ।

चार नेपाली कामदारमा संक्रमण, एकको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट वैदेशिक रोजगारीमा गएका एक नेपाली कामदारको मृत्यु भएको छ भने चारमा संक्रमण देखिएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अनुसार लन्डनमा रहेका एक नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै, दुबई र पोर्चुगलमा दुई÷दुईजनामा संक्रमण देखिएको छ ।

रणनीति बनाउँदै छौँ : कुमारप्रसाद दाहाल, महानिर्देशक, वैदेशिक रोजगार विभाग

कोरोनाले विश्वव्यापी रूपमा प्रभाव पारेको छ । त्यसैले, भोलिका दिनमा नेपाली कामदार फर्कनुपरेको अवस्थामा के गर्ने भन्ने विषयमा विपद् व्यवस्थापन समितिले आज छलफल गरेको छ । स्टक होल्डरहरूसँग सुझाब मागेका छौँ । कामदार नेपाल ल्याउनुपरेमा वा व्यवस्थापन गर्नुपरेमा के गर्ने भन्ने विषयमा रणनीति बनाउँदै छाँै ।

एउटा कामदार फर्कियो भने पनि अवस्था गम्भीर हुन सक्छ : सुजित श्रेष्ठ, महासचिव, वैदेशिक रोजगार व्यवसायी संघ

अहिले सेवा क्षेत्रका रोजगारदाताहरूले नेपाली कामदार लैजान व्यवसायीहरूलाई मेल गरिरहेका छन् । उनीहरूले कम्पनी बन्द भएका कारण कामदार धान्न नसक्ने कारण देखाउँदै कामदार फिर्ता लैजान दबाब दिएका छन् । उनीहरूको पत्रअनुसार १५ अप्रिल २०२० पछाडि कामदार फर्काउन सक्ने देखिएको छ । तर, एउटा नेपाली कामदारलाई फर्काइयो भने सबैले त्यसको सिको गर्नेछन् । जुन नेपालले थेग्न सक्दैन । त्यसैले, मलेसिया सरकारले जस्तै ६ महिनामा आधा तलब दिएर भए पनि सोही मुलुकमा राख्न आग्रह गर्नुपर्छ ।

सम्बन्धित मुलुकमा नै राख्न अनुरोध गर्दै छाैँ : राजनप्रसाद श्रेष्ठ, कार्यकारी निर्देशक, वैदेशिक बोर्ड

यतिवेला कुनै पनि मुलुकको रोजगारदाताले कामदार लैजा भन्दैमा ल्याउन सक्ने अवस्था छैन । रोजगारदाताभन्दा पनि सो मुलुकको सरकारले भन्नुप¥यो । त्यसमा पनि सबैतिर लक डाउन भएको अवस्थामा हामीले चाहेर पनि ल्याउन सक्दैनौँ । त्यसैले, सोही मुलुकमा सुरक्षित राख्न दूतावासमार्फत आग्रह गर्दै छाँै ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024