कोरोनाले सहकर्मीको मृत्यु भएपछि काममा जान ‘डराए’ कोरियाका नेपाली

24 February, 2020

गत शनिबार कोरोनाभाइरसका कारण कोरियाको थेगुमा एकजना कोरियन नागरिकको मृत्यु भयो। उनी थेगुको एक मोटर पार्टस् कम्पनीका चालक थिए।

सोही कम्पनीमा काम गर्ने १६ जना नेपालीअहिले स्वदेश आउन चाहिरहेका छन्। आफ्नै सहकर्मीको कोरोनाभाइरसका कारण मृत्यु भएपछि उनीहरुले आफूलाई असुरक्षित महसुस गर्न थालेका हुन्।

एक कामदारले थेगुबाट मेसेन्जर कुराकानीमा भने, ‘यदि उहाँबाट अरुलाई पनि सरेको छ भने हामीलाई पनि सर्ने खतरा हुन्छ।’

सहकर्मीको मृत्यु भएपछि काममा फर्किने कि नफर्किने भनेर उनीहरु अन्यौलमा छन्। कम्पनीले काममा आउन आग्रह गरेपछि सोह्रै जना फर्किने/नफर्किनेबारे एअर्कासँग परामर्श गरिरहेका छन्।

‘आज विदा छ। अब भोलि काममा जाने कि नजाने भन्ने टुंगो भएको छैन। हामी सल्लाह गर्दैछौं,’ उनले भने।

कम्पनीले भने आफ्नो एकजना कामदारको मृत्यु भएपनि काम रोकेको छैन। अहिले मृत्यु हुने व्यक्तिसँग धेरै समसर्गमा रहेका केही कोरियन कामदारलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न भनिएको छ।

नेपाली कामदारलाई पनि कम्पनीले सकेसम्म बाहिर नजान आग्रह गरेको छ। साथै कुनै शंका लागेमा तुरुन्त सम्पर्क गर्नलाई ‘टोल फ्री’ नम्बर दिइएको छ।

कम्पनीले नेपालीहरुलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न भनेको छैन। उनीहरु पहिल्यै जसरी एउटा कोठामा तीनजना बस्दै आएका छन्।

उनीहरुले स्वदेश फर्किन चाहेको भन्दै सियोलस्थित नेपाली दूतावासलाई खबर गरेका छन्। दूतावासले छलफल गरेर भोलि खबर गर्ने जानकारी गराएको ती कामदारले सेतोपाटीलाई बताए।

‘दूतावासबाट जवाफ आएपछि अरु कुरा थाहा हुन्छ। अहिले सबै कुरा भनिहाल्न मिल्दैन’ उनले भने।

आइतबारसम्म कोरियामा कोरोनाभाइरसका कारण ५ जनाको मृत्यु भएको छ भने साढे पाँच सय मानिस संक्रमित छन्। जसमध्ये आधा बढी संक्रमित मानिस थेगुका छन्।

त्यसैले थेगुमा रहेका ७ हजार नेपालीहरु अहिले त्रसित छन्। उनीहरु अहिले बाहिर हिँडडुल गर्दा, काम गर्दा वा कोठामा बस्दा समेत मास्क र पञ्जाको प्रयोग गर्न थालेका छन्।

आइतबार सियोलस्थित नेपाली दूतावासले थेगुमा रहेका नेपालीहरुलाई सावधानी रहन आग्रह गर्दै सूचना जारी गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024