कोरिया रोजगारी तत्काल सुरु नहुने

18 March, 2021

रुद्र खड्का

 

भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ।  

कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लोपटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो।  

श्रममन्त्री गौरीशंकर चौधरीले कोरिया सरकारको माग अनुसार पूर्वाधारको काम गर्न केही आवश्यक पर्ने भएकाले कम्तीमा एक महिनायता कोरिया रोजगारी सुचारु नहुने बताए। पछिल्लो समयमा कोरियामा कोरोना भाइरसको त्रास बढेको भन्दै कोरिया सरकारले सबै आप्रवासी कामदारलाई रोक लगाएको छ  

‘भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये कतिपयको रोजगारीमा कोरिया पुगिसक्नुपर्ने अवधि सकिने भएकाले चाँडो रोजगारी सुचारु गर्न आग्रह गरिसकेका छौं,’ उनले भने, ‘रोजगारी सुचारु गर्न कोरियाले केही सर्त राखेको छ, जुन पूरा गर्न कम्तीमा एक महिना लाग्ने देखिन्छ।’  

नेपालका लागि कोरियाका राजदूतले त्यहाँको रोजगारी सुचारु गर्न बायोमेट्रिक प्रणाली सुरु गर्न, भाषा परीक्षामा नक्कली परीक्षार्थी सहभागिता रोक्न तथा कम्प्युटरमा आधारित परीक्षा प्रणाली सुरु गर्न मन्त्रालयसमक्ष आग्रह गरेको उनले बताए।  

चौधरीका अनुसार कोरियन पक्षको आग्रह बमोजिम भाषा परीक्षामा सहभागी हुनेलाई औंठा छाप लिनका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ। विगतमा भाषा परीक्षा अर्काको नाममा दिने गरेका उदाहरण फेला परेपछि कोरियन राजदूताबासले त्यस्तो कार्य रोकिनुपर्ने माग गर्दै आएको थियो।  

‘यसपटक यसमा (अर्काको नाममा परीक्षा दिने कार्य) कोरियन पक्षले गम्भीरतापूर्वक चासो दिएको छ,’ चौधरीले भने। बायोमेट्रिक प्रणालीमार्फत औंठा छाप लिन सुरु भएपछि अर्काको नाममा परीक्षा दिने कार्य रोकिने अपेक्षा गरिएको छ।  

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका प्रमुख इन्द्र गौतमले कोरोना महामारी सुरु भएयता पर्खाइमा रहेकामध्ये करिब एक हजार दुई सयले दुई वर्षअघि नै भाषा परीक्षा उत्तीर्ण गरेको पाइएको बताए। ‘अहिलेसम्मको तथ्यांक हेर्दा बाह्र सयजतिले दुई वर्षअघि नै भाषा परीक्षा उत्तीर्ण गरेको भेटिएको छ,’ उनले भने, ‘यस्तै खाले समस्यामा परेका अन्यको खोजी गर्दैछाैं।’ 

विद्यमान प्रावधान अनुसार कोरियन भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षभित्र रोजगारीका लागि कोरिया पुगिसक्नु पर्छ। भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षभित्र कोरिया जान नसके पुनः भाषा परीक्षामा सहभागी हुनुपर्छ।  

मन्त्री चौधरीले कोरोना महामारीका कारण यसपटक विशेष परिस्थिति सिर्जना भएको उल्लेख गर्दै दुई वर्षे प्रावधान खारेज हुनुपर्ने माग गरेको बताए। कोरिया कामदार पठाउने विषयमा नेपालको भन्दा कोरियन पक्षमा निर्भर हुनुपर्ने अवस्था देखिएको बताइएको छ।  

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा गत वर्षको फागुनको अन्तिम सातादेखि श्रम स्वीकृति जारी गर्न बन्द गरेको थियो। असोजपछि पुनः श्रम स्वीकृति दिन थाले पनि त्यसयता कोरियाले आप्रवासी कामदारलाई लैजान बन्द गरेको छ। 

राम्रो पारिश्रमिक पाइने भएकाले नेपालमा कोरियाको रोजगारीलाई आकर्षक मान्ने गरिन्छ। रोजगारीमा कोरिया जानेले ओभरटाइमबाहेक मासिक पारिश्रमिक कम्तीमा साढे एक लाख रूपैयाँ पाउने गर्छन्। राम्रो पारिश्रमिक पाइने भएकाले बर्सेनि कोरिया जान लाखाैं युवा भाषा परीक्षामा सहभागी हुने गरेका छन्। 

सन् २००७ यता भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने प्रक्रिया सुरु भएपछि ६० हजार बढी युवायुवती त्यहाँ पुगिसकेका छन्। गत वर्ष ६ हजार सात सयले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका थिए। इपिएस शाखा प्रमुख गौतमका अनुसार यो वर्ष कोरियाले पाँच हजार पाँच यसलाई भाषा परीक्षा उत्तीर्ण गराउने बताएको छ। यद्यपि भाषा परीक्षा कहिले सञ्चालन हुन्छ भनेर यकिन भइनसकेको उनले बताए। ‘जतिसक्दो चाँडो भाषा परीक्षा सुरु गर्नुपर्छ भन्नेमा दुई पक्षबीच छलफल भइरहेको छ,’ उनले भने, ‘यकिन मिति चाँडै निक्र्योल गर्छौं।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026