अतीन्द्र दहाल
धेरैले भन्छन्– राजनीति बिग्रिएकाले जनताले दुःख पाए, देश सकियो। परन्तु, सबै जनताको आर्थिक स्थिति सवल नबनेसम्म राजनीतिक स्थिरताले मात्रै देशमा शान्ति र सुखको अनुभूति हुँदैन। आर्थिक पक्ष विकासको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो।
त्यसैले सबै राजनीतिक शक्तिले सवल अर्थव्यवस्था र नागरिकले पर्याप्त आर्थिक उपार्जन गर्नसक्ने रोजगारी प्रबर्द्धनका लागि कार्यक्रम र वातावरण बनाउनुपर्छ। अबको राजनीति दर्शन र सिद्धान्त हैन, व्यवहार र विकास बन्नुपर्छ। अनिमात्र जनताले परिवर्तन अनुभव गर्न सक्छन्। नेपालमा आर्थिक पक्षलाई महत्त्व नदिएकै कारण परिवर्तनको अनुभूति नभएको हो। चरम बेरोजगारीका कारण असंख्य युवा विदेशिन बाध्य भएका हुन्। तिनकै रेमिट्यान्सका आधारमा देश धानिइरहेको छ। पछिल्ला तथ्यांकअनुसार वार्षिक लगभग चार खर्ब रुपियाँ रेमिट्यान्स मुलुकमा आउने गरेको छ। दैनिक हजारभन्दा बढी युवा शारीरिक श्रम गर्न खाडी मुलुक र मध्यपूर्वतिर लागिरहेका छन्। अनि प्रत्येक सरकार र यसका नीति वैदेशिक रोजगारी बढाउने सोच्छन्। त्यसैलाई बेरोजगारी समस्याको अचुक सामधान र सफलतामा गनिन्छ। सत्यतामा चाहि ँवैदेशिक रोजगारीका कारण हुने आर्थिक विकासको धरातल ज्यादै कमजोर हुन्छ। यो क्षणिक दुविधामात्र हो। यस्मा देखिएको भविष्यले भम्र र पीडामात्र दिनेछ। यो यस्तो सानो झिल्को उज्यालो हो, जसले कालरात्रि अँध्यारो मात्र निम्त्याउँछ। अहिले पनि वैदेशिक रोजगारीको कमाईको नब्बे प्रतिशत अनुत्पादक ठाउँमा खर्च भएको तथ्यांक देखिन्छ। अनि गाउँहरु रित्तिएका छन्।
बालआश्रम वा धर्मशाला जस्तो लाग्नेगरी बालबालिका र बूढापाकामात्र छन्। धनको भोक मेटाउने क्रममा जन्मिएका मन र तनका भोकहरुले समाज रुग्ण बन्दैछ। सामाजिक/राजनीतिक/आर्थिक/यौनिक र आचरणगत कुरीति पनि व्यापक छन्। यो जोखिम पार गर्न कृषिजन्य व्यावसायिकता अधिकांश मानवको बृहत्तर हित र भलाईको उपासक र साधक दुवै हुनेछन्। जसलाई देशले मुख्य प्राथकितामा राख्नुपर्छ। कृषि क्रान्तिको माध्यमबाट निकै राम्रो आर्थिक प्रगति हासिल गरेको र विश्व शक्तिमान बन्दै गरेको छिमेकी चीन यसको उदाहारण हो। अष्ट्रेलिया, फ्रान्स, जर्मनी र क्यानडा जस्ता देशको पनि सुरुवाती विकासमा कृषिको नै योगदान थियो भने अहिले पनि तिनीहरु संसारका सबैभन्दा बढी कृषिजन्य वस्तु निर्यात गर्ने राष्ट्रमा पर्छन्। युएस डिपार्टमेन्ट अभ एग्रिकल्चर, कमटी अन ट्वान्टी फर्स्ट सेन्चुरी सस्टेनेबल डेभलपमेन्ट जस्ता संस्थाहरुको अनुसन्धान प्रतिवेदनमा यी शाश्वत सत्य उजागर गरिएका छन्। कृषिको आधुनिकीकरण अहिलेको अर्थव्यवस्थालाई उचाईमा पुर्याजउने सबैभन्दा प्रमुख हतियार बन्छ। हामीमा अधिकांश खाद्य सामग्री भारत र अन्य मुलुकबाट आयातीत छन्। ठूलो मात्रामा वित्तीय राशिको प्रवाह विदेशतिर भइरहेछ। यदि त्यसलाई नियन्त्रण गर्नसके आर्थिक व्ययभारमा केही सन्तोषजनक सन्तुलन प्राप्त हुन्छ। अन्तर्राष्टिय मुद्रा कोषको सन् २०१२ को तथ्यांकअनुसार चीनले कुल ग्रार्हस्थ उत्पादनको ११ प्रतिशत जति कृषिबाट लिएको छ। संसारमा सबैभन्दा बढी प्रयोग हुने खाद्यान्नमा धान र गहँु, फलफूलमा स्याउ र मेवा, अनि गेडागुडीको सबैभन्दा बढी उत्पादन पनि चीनमा नै भएको तथ्यांकले देखाउँछ। कृषि उद्योगको स्थापना अर्को उत्पादनमूलक पक्ष हो। यसलाई व्यावसायिकरूपमा ग्रहण गर्दा लाग्ने अर्थभार अन्यको तुलनामा कमै हुन्छ।
देशका कुनै वित्तीय निकायले समेत ऋण प्रदान गर्न त्यति धेरै शंका गर्नुपर्दैन र जोखिमका आँखा उघार्नुपर्दैन। चीनले तिनै कृषिमा आधरित रहने उद्योगबाट लगभग अरु ४५ प्रतिशत राष्ट्रिय आम्दानी लिने गरेको छ। अधिकांश युवा कृषि काममा विदेशमा छन्। वर्षैपिच्छे कोरिया जान आवेदन गर्ने पचासौं हजारमध्ये अधिकांश कृषि तथा पशुपालनमा जान चाहन्छन्। सामान्यरूपमा एक युवा विदेशिँदा लाग्ने औसतमा दुई तीन लाखलाई मात्रै व्यावसायिक सोचका साथ कृषि वा पशुपालनमा लगाउने हो भने निकै राम्रो सफलता हात पर्न सक्छ। नेपालको विभिन्न भागमा सफल कृषि व्यवसाय गरिरहेकाहरुसँग केही सञ्चार माध्यमले लिएका अन्तर्वार्तामा उनीहरु त्यस्तै सानो रकमबाट उद्यम सुरु गरेको बताउँछन्। कृषिको बजारका लागि श्रम र अन्य सबै आधारको आवश्यकताको उपयुक्त व्यवस्थापन गर्न तुलनात्मकरूपमा सजिलो हुन्छ। किनकि हामी अब जापानमा जस्तो प्रविधि, विकशित देशमा जस्ता अन्तरिक्ष यात्री वा वैज्ञानिक दक्षता भएका मानवस्रोत उत्पादन गर्न त त्यति धेरै अब्बल रहँदैनौं तर सामान्यरूपमा दक्ष र व्यावसायिक कृषक उत्पादन गर्न सक्ने सम्भावना सहज र प्रचुर रहन्छन्। विश्वको ध्यान सेवा आधारित अर्थ बजार र औद्योगिक प्रतिस्पर्धाको क्षेत्रमा तल्लीन हँुदा कृषि तथा फलफूल बजारको व्यापक बिस्तार आर्थिक सुधारको राम्रो पक्ष बन्नेछ। किनकि संसारको कुनै पनि सभ्यताले खाद्य बजार प्रतिस्थापन गर्न सक्दैन। कृषिसँग सम्बन्धित भएर लेख्ने ज्ञाताहरु माइकल पोलान, वेन्डल बेरी, नोभेला कारपेन्टर, डान कोपरले समेत मानवको प्रथम र अन्तिम आवश्यकतामा खाद्यान्न राखेका छन्। उनीहरुले आफ्ना विभिन्न पुस्तकमा संसारको मुहार फेर्न कृषि नै उपयुक्त र दीर्घकालीन पेशा भनेका छन्। पोलनाको इन डिफेन्स अफ द फुड, कारपेन्टरको द फार्म सिटी, कोपरको बनना द फेट अभ द फ्रुट द्याट चेन्ड द वर्ल्ड र पर्ल एस वकको द गुड अर्थ जस्ता लेखनले थुप्रै मानिसलाई कृषितर्फ आकर्षित गर्दैछ, विश्व अर्थतन्त्रको एक सवल योगदानकर्ता बनाउन सघाइरहेको छ। ती सम्भावनाको सार्थकताका लागि हाम्रो भूगोल, मानव साधन र स्रोत तथा अधिकांश कुराले साथ दिएको छ। हामी अपार जनसंख्या भएका चीन र भारतको बीचमा छांै।
ती देश औद्योगिक स्तरोन्नतिर उन्मुख भएका बेला, हामीले उनीहरुको स्तरमा औद्योगिकीकरणलाई मलजल गर्न नसक्ने हँुदा कम्तिमा त्यस देशमा बन्ने खाद्य बजारमा अथाहा निर्यात गर्न सक्नुपर्छ। त्यसले हामीलाई ठूलो टेवा प्रदान गर्छ। अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट नामक एक विश्वस्तरीय संस्थाको द राइज अभ चाइना एण्ड इन्डिया भन्ने प्रतिवेदनमा समेत यो आशय उल्लेख छ। अत्यन्तै महँगो मूल्यमा क्रय/विक्रय हुने नगदे कृषि बाली अलैंची, चिरैतो, यार्सागुम्बा जस्ता बालीको व्यावसायिक खेतीले जनताको आयआर्जन स्तरलाई अर्थतन्त्रमा नै व्यापक सुधार हुनेगरी सहयोग गर्छ, हामीमा यसको प्रचुर सम्भावना छ। पशुपालनको आधुनिकीकरणमा गएर गाई भैंसी बाख्रालगायत् सरकारले केही समय पहिले खुला गरेको व्यावसायिक मृग र अस्ट्रिच पालन गर्ने हो भने सबैको आर्थिक स्तरोन्नति सम्भाव्य हुन्छ। विज्ञान र प्रविधिमा हामी पछि छांै, त्यो अवस्थामा कृषि बजारको विस्तार र व्यवसायीकरण नै यस्तो अचुक र बहुआयामिक पक्ष बन्न सक्छ, जसले अर्ध दक्ष बेरोजगार मानिसलाई प्रत्यक्षरूपमा उनीहरुको क्षमता र दक्षताअनुसारको जीविकोपार्जन गर्ने उपाय दिन्छ। पछिल्लो समयमा कृषिबाट नै जीवन, जगत, सोच र सवलतामा दरिलो सफलता प्राप्त गर्ने मानिसको संख्या बाक्लिँदैछ। कृषिमा भविष्य देख्नेहरुको संख्या बढ्दैछ। त्यसैले यदि कृषिलाई व्यावसायिकरूपमा अंगिकार गर्ने हो भने जसरी अरब राष्ट्र आज तेलको कारण संसारको ध्यानाकर्षण गर्न सक्ने बनेको छ, नेपालले पनि कृषिमार्फत् त्यो क्षमता राख्न सक्छ।
आर्थिक सफलतालाई घनिभूत बनाउन कृषिको बृहत्तर आधुनिकीकरण गर्नु हाम्रो देशका लागि सबैभन्दा दीर्घकालीन सवलता हो। निराशा र हीनताबोध साँच्दै अरब, कोरिया र कुबेत सोच्ने सबै मन अब आफ्नै बारी, खोरिया र खेतमा फर्कनुपर्छ। त्यहीँ पसिना खसाउनुपर्छ र श्रम फुलाउनुपर्छ। रेमिट्यान्सबाट आएको पैसाले देश त चलेको छ तर युवा विदेशिँदा भित्रिएका भन्न मिल्ने र नमिल्ने आमसमस्याको क्षति यति छ कि जो जतिसुकै पैसा तिरे पनि पुरण गर्न सकिन्न। तसर्थ, देशमै कृषिको व्यावसायीकरण गर्न राज्यले रोजगार नीतिमार्फत् यसको प्रतिनिधित्व गर्नुपर्छ। नागरिकको सोच परिवर्तन हुनुपर्छ। आधुनिक र व्यावसायिक कृषिलाई पहिलो लक्ष्य बनाउँदै कोरिया र कुवेत नभई हाम्रै खोरिया र खेतले देशको मुहार चम्काउनुपर्छ।