वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका भूकम्प पीडित नेपालीले आफ्ना परिवारलाई भेट्न नेपाल फर्कन चाहेमा दूतावासले सहयोग गर्ने जनाएको छ।
भूकम्प पीडितले विदा नपाए सहजिकरण गरी विदा मिलाउन समेत दूतावासले सहयोग गर्ने आश्वासन दिएको छ। तर, अहिलेसम्म कुनै पनि नेपाली सहयोग माग्न दूतावास भने नआएको दूतावासले जानकारी दिएको छ।
दुतावासले भूकम्पबाट पीडित आफ्ना परिवारसँग भेट्न नेपाल फर्कन कम्पनीसँग समन्वय गरी बिदा मिलाइ दिन लागेको छ। परिवारमा मृत्यु भएको अवस्थामा परम्परागत रितिथिति गर्नका लागि बिदा नमिलेको भएमा दूतावासमा सम्पर्क गर्न कामदारलाई सूचित गरिएको हो।
कोरियाको विदेश मन्त्रालयका अधिकारीसँग नेपाली कामदारका लागि बिदा मिलाईदिन औपचारिक आग्रह गरिएकोमा सकरात्मक प्रतिक्रिया पाएको दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलालै जानकारी दिए।
विदेश मन्त्रालयका अधिकारीले साना तथा मझौला उद्योग मन्त्रालयमा तत्काल परिपत्र गर्ने नेपाली दूतावासलाई गत साता बिस्वस्त पारेको थियो। नेपाली कामदार साना तथा मझौला उद्योग मन्त्रालयको मातहत रहने कम्पनीमा कार्यरत रहेका हुन्छन्।
के ही युवा भूकम्प पश्चात आफ्नै पहलमा आफन्त भेट्न नेपाल पुगेका छन्। दूतावासले दिएको जानकारीअनुसार हालसम्म बिदाको लागि पहल गरिदिन दुतावासमा कामदारद्वारा अनुरोध गर्न गरिएको छैन।
श्रम मन्त्रालयले परराष्ट्र मार्फत आफन्त मृत्यु भइ नेपाल फर्कन चाहने कामदारको बारेमा दुतावाससँग जानकारी मागेको थियो। नेपाल फर्कन समस्यामा परेको कामदार हालसम्म नरहेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराईएको श्रम सहचारी अनिल गुरुङले बताए।
केहि नेपाली युवा उद्धार तथा राहतमा खट्ने गरी नेपाल पुगेका छन्। एउटा स्टार फा यडेसनले आफ्ना केही सदस्य भूकम्पले बढी प्रभावित काभ्रे र सिन्धुपाल्चोकमा खटिएको सस्थाका सल्लाहकार यम श्रेष्ठले जानकारी गराए।
२८ हजारको संख्यामा रहेका नेपाली कामदारमा अधिकांश भूकम्पबाट प्रभावित परिवारका रहेका छन्। परिवार र आफन्तमा मृत्यु तथा भौतिक सम्पति क्षति भएको परिवारका सदस्य यहाँ रहेपनि नेपाल बिदामा नगएको गोरखा परिवार समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी गराए।