कोरियाबाट फर्केकालाई सीबीटी

28 March, 2013

कोरियाबाट रोजगारी गरेर वैधानिक रूपमा स्वदेश फिरेका नेपालीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पुनः कोरिया जान अब कम्प्युटर प्रणालीमा आधारित परीक्षा (सीबीटी) सञ्चालन हुने भएको छ । नेपालमा पहिलो पटक बिहीबारदेखि ५ दिनसम्म सञ्चालन हुने भाषा परीक्षा ‘ईपीएस टपिट’ मा २ सय ४५ परीक्षार्थी छन् ।

‘ईपीएस टपिट’ गर्दैमा कोरिया जान पाइने ग्यारेन्टी नभए पनि रोजगारीका लागि आवेदन गर्न अनिवार्य रूपमा यो परीक्षा उत्तीर्ण हुनुपर्छ । कोरियाको रोजगार तथा श्रम मन्त्रालयअन्तर्गत मानव संशाधन विकास सेवा -एचआरडी) ले सञ्चालन गर्ने यो परीक्षा सीबीटीबाट भएलगत्तै कोरियामा पुगेर उसैले नतिजा प्रकाशन गर्छ । एचआरडी कोरियाले छिटोछरितो, निष्पक्ष र पारदर्शी रूपमा गर्नका लागि सीबीटी सुरु गरेको हो । उसले क्रमिक रूपमा कागजमा आधारित परीक्षा (पीबीटी) विस्थापित गर्दै लैजाने नीति लिएको छ ।

नियमित सीबीटी सञ्चालनका लागि ललितपुरको ग्वार्कोमा ईपीएस सेन्टर नेपालले कार्यालय स्थापना गरेको छ । सीबीटी हलको बुधवार रोजगार तथा श्रममन्त्री हरिप्रसाद न्यौपाने र एचआरडी कोरियाका उपाध्यक्ष ली चोङ बुकले संयक्त रूपमा उद्घाटन गरे । हलमा ३० वटा कम्प्युटर छन् । १ घन्टा १० मिनेटको परीक्षा सोधाई र बोलाई -लिस्निङ एन्ड स्पिकिङ) मा आधारित हुने र नतिजा चैत ३० मा गर्ने ईपीएस नेपाल शाखाले जनाएको छ ।

मन्त्री न्यौपानेले ईपीएस उत्तीर्ण भएको अनुपातमा नेपालीले कोरियामा कम रोजगार पाएको भन्दै अवसर बढाउन कोरियाबाट आएका एचआरडी अधिकारीसूग आग्रह गरे । ‘यो समस्यालाई कूटनीतिक माध्यमबाट सम्बोधन गर्न हामी कोरिया सरकारसूग आग्रह गछौर्ं,’ न्यौपानेले भने,’ ईपीएस उत्तीर्ण गरेर पनि ८ हजारभन्दा बढी नेपालीले रोजगारीका लागि पर्खिरहेका छन् ।’

एचआरडी कोरियाका उपाध्यक्ष ली चोङ बुकले नेपाली इमान्दार र लगनशील भएकाले कोटा बढाउन पहल गर्ने बताएका छन् । उनले अहिले सञ्चालन हुन लागेको परीक्षाले फर्केका कामदारलाई पुनः अवसर दिलाउन सुरु गरेको भन्दै कोरियाका विभिन्न क्षेत्रमा नेपाली कामदारका लागि पहल गर्ने बताए । ईपीएसअन्तर्गत हालसम्म कोरियामा हालसम्म १६ हजार ३ सय नेपाली कामदार पुगेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026