इपिएस मार्फत दक्षिण कोरिया गएर समयमै स्वदेश फर्केका कामदारलाई पुनःकोरिया लैजान कोरिया मानव संसाधन विकास (एचआरडी) ले जेठ ३० गते परीक्षा लिने भएको छ।
रोजगार अनुमती प्रणाली (इपिएस)अन्तर्गत कोरिया पुगेर वैधानिक रुपमा बसी स्वदेश फर्केका कामदारका लागि लिइने कम्प्युटरमा आधारित परीक्षा (सिबिटी)को कार्यतालिका नेपालको वैदेशिक रोजार विभाग इपिएस शाखाले सोमबार सार्वजनिक गरेको हो । परीक्षाका लागि जेठ ५ देखि ९ सम्म फारम बुझाउनुपर्ने शाखाले जनाएको छ । त्यस्तै जेठ २२ गते परीक्षा तालिका सार्वजनिक हुने र जेठ ३० गते परीक्षा हुनेछ । परिक्षाको नतिजा असार १९ गते हुने सूचनामा छ । यसअघि लिइएको सिबिटी परीक्षामा ८ सय ८२ जना सहभागी भएकोमा चैतमा २ सय ५ जना उतिर्ण भएको नतिजा शाखाले सार्वजनिक गरेको थियो । परीक्षामा सहभागी उतिर्ण कामदारले चैत २३ गतेदेखि कामका लागि निवेदन दिएर कोरिया जाने प्रक्रियामा सहभागी बनेको शाखाले जनाएको छ । शाखा प्रमुख डिल्ली बाँस्तोलाले सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने बताए । ‘कोरियामा ३ वर्र्षभन्दा बढी वैधानिक रुपमा बसेर फर्केका कामदारका लागि लिइने परीक्षा भएकोले उनीहरुको अनुभव हुने भएकाले प्राथमिकतामा पर्छन,’उनले भने । सिबिटी परिक्षामा उतिर्ण कामदारको लागत इपिएस कामदारको भन्दा न्यून हुने पनि बाँस्तोलाले बताए । इमान्दार र मिहिनेती हुने हुनाले नेपाली कामदारको माग कोरियामा बढ्दो छ। ‘वैधानिक भएर बस्ने कामदारका लागि कोरियामा अवसर आइरहन्छ,’ उनले भने।