कुवेतबाट थप १५० जना नेपाली आज आउँदै

12 June, 2020

३० जेठ, काठमाडौं । कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना शुक्रबार काठमाडौं आउँदैछन् । बिहीबार ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको सरकारले प्राथमिकताका आधारमा शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो । 

विदेशबाट आउने नागरिकको व्यवस्थापनमा नेपाली सेना खटिइरहेको छ । एक सैनिक अधिकृतले अनलाइनखबरसँग भने, ‘कुवेतबाट नेपाली लिएर विमान उडिसकेको छ, उहाँहरु ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनु हुनेछ ।’

विमानस्थलबाट साझा यातायातको बसमा राखेर उनीहरुलाई उपत्यकामा तयार गरिएको होल्डिङ सेन्टरमा लगिनेछ । बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती महिला छन् ।

उनीहरुमध्ये सम्बन्धित प्रदेशमा जान नसक्ने ४९ जनालाई छहारी होममा राखिएको छ भने १० जनालाई कोहिनुर होटलमा राखिएको छ । कोहिनुरको व्यवस्थापन स्वरोजगार महिला संघले गरेको हो ।

अन्य सबै महिला सम्बन्धित प्रदेशतर्फ पठाइएका छन् । त्यहाँ उनीहरुले १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । 

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठबाट उद्दार गर्न सुरु गरेको छ । प्राथिमकताका आधारमा विदेशबाट नेपाली नागरिक ल्याउने गरी सरकारले तयारी गरेको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024