कामको प्रलोभनमा मकाउ पठाउने पक्राउ

27 May, 2014

वैदेशिक रोजगारीको प्रलोभन दिएर मकाउमा नेपाली युवायुवती लगेर अलपत्र पार्ने समूह पक्राउ परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले युवायुवती लगेर अलपत्र पारेको आरोपमा रामकुमार थापा, विनोद श्रेष्ठ र अनु चाम्लिङलाई पक्रेको हो। स्रोतका अनुसार काठमाडौंमा सक्रिय समूहले आकर्षक रोजगारीको प्रलोभन देखाएर युवतीलाई विदेशमा लगेर गलत धन्दामा लगाउने र युवाहरुसँग रोजगारीको नाममा मोटो रकम असुल्ने सूचनाका आधारमा ब्युरोको एक टोली उनीहरुको खोजीमा खटिएको थियो।

सो समूहमा रामकुमार, विनोद र अनु रहेको खुलेपछि प्रहरीले उनीहरुको गतिविधिमाथि निगरानी गरेको थियो। प्रहरीले उनीहरुविरुद्ध मानव बेचबिखनको अभियोग लगाएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। समूहमा अन्य कारोबारीसमेत हुनसक्ने सूचना आएकाले प्रहरी अन्यको पनि खोजी गरिरहेको छ।

पछिल्लो समय वैदेशिक रोजगारीको बहानामा ठगीमा सक्रिय समूहको पक्राउ क्रम बढेको छ। आकर्षक रोजगारीको बहानामा मोटो रकम असुलेर विदेशमा लगेर अलपत्र छाड्ने, राम्रो कम्पनीमा रोजगारीको प्रस्ताव राखेर डान्स बारहरुमा जबर्जस्ती काम गर्न बाध्य बनाउने समूहको पक्राउ क्रम बढेको छ।

एक साताअगाडि मात्र ब्युरोले वैदेशिक रोजगारीको सिलसिलामा श्रम स्वीकृतिको स्टिकर र भिसा लागेको नेपाली राहदानीसहित बंगलादेशी नागरिक फेला पारेको थियो। प्रति राहदानी ३ लाख रुपैयाँमा बिक्री गर्न सक्रिय रहेको अभियोगमा ब्युरोको टोलीले कुमार पुरी र पूर्णबहादुर मगरलाई पक्रेको थियो।

प्रहरी अनुसन्धानमा उनीहरुले १४ वटा नेपाली राहदानी २९ लाख ५० हजारमा बिक्री गरेको खुलाएको थियो। सो गिरोहमा सक्रिय एक नेपाली र अर्का बंगलादेशीको पहिचान खुले पनि उनीहरु भने पक्राउ परेका छैनन्।

वैदेशिक रोजगारीको बहानामा ठगी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट डेढ वर्ष कैद र १ लाख जरिवाना तोकेको लामा इन्टरनेसनल प्रालिका अध्यक्ष विष्णुबहादुर लामा ब्युरोकै सक्रियतामा पक्राउ परेका थिए। लामाले बहराइनमा रोजगारी दिने प्रलोभन दिएर ३ सय २० जना सर्वसाधारणको २ करोड १० लाख रुपैयाँ ठगी गरेको अभियोग लागेको थियो। २०६६ मा फैसला भएपछि फरार लामाको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024