कलिङ भिसामा आएकालाई पूरानै संयन्त्रबाट पठाउनुपर्ने माग

22 January, 2019

तुलसी सुवेदी

वैदेशिक रोजगार व्यवसायीले मलेसियाको कलिङ भिसा आएकालाई पुरानै संयन्त्रबाट पठाउनुपर्ने माग गरेका छन्। वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा मंगलबार कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी मलेसियामा कलिङ भिसा प्राप्त कामदारलाई पूरानै संयन्त्रबाट पठाउन माग गरेका हुन्।

उनीहरुले म्यानपावर व्यवसायीको धरौटी अत्याधिक बढाउन लागेको पनि आपत्ति जनाएका छन्। उनीहरुले १० हजार शुल्कमा कामदार पठाउन नसक्नेसमेत कार्यवाहक प्रधानमन्त्रीलाई जानकारी गराए। व्यवसायीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको अहंकारले गर्दा  वैदेशिक रोजगार व्यवसाय चौपट हुन लागेको बताएका छन्।

कार्यवाहक प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले मन्त्री बिष्टको कार्यशैलीले दुई देशबीचको सम्बन्ध बिग्रन थालेको बताए। कलिङ भिसा प्राप्त ९ हजार भन्दा बढी कामदारलाई छिटो भन्दा छिटो पुरानै संयन्त्रमार्फत् पठाउनुपर्ने व्यवसायीहरुले अध्यक्ष गुरुङले जानकारी गराए।

अध्यक्ष गुरुङले मन्त्री बिष्टले अवैधानिक भनेका भीएलएन र वन स्टेप सेन्टर जस्ता संस्थालाई मलेसियाले नै वैधानिक रूपमा दिएकाले थप बहसको जरुरी नभएको दावी गरे। ती संस्थालाई खारेजीको प्रक्रियामा लग्नु मन्त्रीको गलत कदम भएको गुरुङले जिकिर गरे।

व्यवासायीको कुरा सुनेपछि कार्यवाहक प्रधानमन्त्री पोखरेलले व्यवसायीको जायज माग पूरा गर्ने प्रतिवद्वता व्यक्त गरे। श्रममन्त्री र प्रधानमन्त्रीसँग छलफलका गर्ने प्रतिवद्वता व्यक्त गरे। ‘तपाईंहरू डकुमेन्टका साथ न्याय खोज्न आउनुभएको छ, मैले यसलाई सम्बन्धित ठाउँमा छलफलका लागि पठाउँछु’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024