भिजिट भिसामा कम्बोडिया पुगेर गैरकानुनी काममा लगाइएका २० नेपाली ‘डिपोर्ट’मा परेका छन् । गिरोहको योजनामा जुवा, क्यासिनो, अनलाइन ठगी लगायतमा संलग्न नेपालीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर डिपोर्ट गरेको हो ।
गैरकानुनी काममा लगाइएपछि कागजातविहीन बनाइएका नेपालीलाई थाइल्यान्डस्थित नेपाली दूतावास र कम्बोडियास्थित गैरआवासीय नेपाली संघको समन्वयमा फिर्ता गरिएको हो ।
संगठित गिरोहले भिजिट भिसामा लगेर त्यहाँ फैलाइएको आपराधिक गतिविधिमा लगाउने र त्यस क्रममा कागजातसमेत नियन्त्रणमा लिने गर्दा सयौं नेपाली नागरिक बेवारिस बन्न पुगेका छन् ।पछिल्लोपटकको तथ्यांकअनुसार सन् २०२२ मा १ हजार ९७७ जना, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ जना नेपाली भिजिट भिसामा कम्बोडिया पुगेको देखिन्छ ।
यसरी गएकाहरू गिरोहको प्रलोभनमा पर्ने र सरकारले अपरेसन चलाएपछि पक्राउपछि जेलमा समेत पुग्ने गरेका छन् । कम्बोडिया प्रहरीले पक्राउ गरेर हिरासतमा रहेकामध्येका २० जनालाई उद्धार गरी नेपाल फिर्ता गरिएको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ ।
गत माघ दोस्रो साता कम्बोडियाको राष्ट्रिय प्रहरीले अनलाइन ठगीविरुद्धको अपरेसनमा बाभेट सहरको क्यासिनोमा छापा मारी २ हजारभन्दा बढी विदेशी नागरिक पक्राउ गरेकामा ३० नेपाली परेका थिए । त्यहाँको प्रहरीले १४ माघमा भान छेङ क्यासिनोको २२ भवनमा एकैपटक छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पर्यटक भिसामा गएका मध्येका ३० नेपाली पनि परेका थिए ।
यसअघि कम्बोडियाबाटै थाइल्यान्ड दूतावासको समन्वयमा २९ फागुनमा २१ नेपालीलाई उद्धार गरी नेपाल फिर्ता गरिएको थियो ।