दिनप्रतिदिन तापक्रम बढ्दै गइरहेको कतारमा श्रम मन्त्रालयले तीन महिनासम्म दिउँसोको समयमा काममा लगाउन नपाउने भन्दै स्थानीय कम्पनीलाई सचेत बनाएको छ ।
उसले जुन १५ बाट अगस्ट ३१ सम्म बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म बाहिरको काममा नलगाउन कम्पनीलाई निर्देशन दिएको हो । श्रम मन्त्रालयले दिउँसोको समयमा काममा लगाइएको भेटिएमा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । ‘रोजगारदाताले कामदारलाई नियमअनुसार तोकिएको समयमा मात्रै काम लगाउनु होला,’ श्रम तथा सामाजिक मन्त्रालयले सूचना जारी गर्दै भनेको छ, ‘त्यस्तो समयमा हाम्रा श्रम निरीक्षकहरू कार्यस्थलको अनुगमनमा आउनेछन् ।’ जुन पहिलो सातासम्म यहाँ ४६ डिग्रीसम्म तापक्रम बढेको ताप मापन विभागले जनाएको छ । यो तापक्रम सेटेम्बर मध्यसम्म जारी रहनेछ । ५० डिग्रीभन्दा माथिको तापक्रम बढेको सरकारी निकायले जनाएको खण्डमा बाहिर पूर्ण रूपमा हिँडडुलदेखि काम गर्न प्रतिबन्द लगाउने बताइएको छ । धेरैजसो ठूला कम्पनीहरूले ड्युटी समयसमेत परिवर्तन गरेका छन् । ‘हाम्रो कम्पनीले रातको समयमा काम लगाउन थालिसकेको छ,’ इन्जिनियर नरेशकुमार श्रेष्ठले भने, ‘साँझ ६ बजेदेखि १ र बिहान १ बजेदेखि ११ बजेसम्म दुई सिफ्ट लागू भइसकेको छ ।’ दिउँसो काम गर्न निकै कठिन हुने निर्माणाधीन क्षेत्रमा काम गर्नेहरू बताउँछन् । ‘स्काफफोल्डिङ गर्दा फलाम समात्नुपर्छ । फलाम एकदमै तातेको हुन्छ । समात्नै गार्हो हुन्छ,’ चितवनका कृष्णबहादुर रानाभाटले भने, ‘जीउ पनि पानीले निथु्रक्क भिजेको हुन्छ । पूरै पौडी खेेलेको जस्तो हुन्छ ।’ पोखराका यमबहादुर हमालले बाध्यताले यसरी भिज्ने गरी काम गर्नु परेको बताए । ‘एकले अर्कालाई हेर्दै काम गर्ने हो,’ उनले भने, ‘उसले सक्छ भने म पनि सक्छु भनेर काम गर्छु ।’ उनीहरूले पसिना बग्ने भएकाले साथमा नुन चाट्दै काम गर्ने गरेका छन् । डाक्टरहरूले यस्तो मौसममा मुटुका रोगीहरूले काम गर्न नहुने बताउँछन् । ‘बाहिर तातो भएको अवस्थामा सबैभन्दा बढी मुटु रोगी जोगिनुपर्छ,’ कतारमा कार्यरत नेपाली डाक्टर नरेन्द्र शाक्यले भने । यही समयमा धेरै नेपालीलाई हृदयघात हुने गरेको छ ।