कतारबाट फर्किएर लुम्लेमा कफी व्यवसाय गर्ने नविन

27 November, 2024

Harikrishna Gautam

लुम्लेका युवा नविन देवकोटाले कुस्मा–पोखरा सडकमा दैनिक १ सय कपभन्दा बढी कफी बेच्छन्। वैदेशिक रोजगारीको सिलसिलामा कतारमा करिब साढे दुई बर्ष बिताएर फर्किएका देवकोटाको सडक छेउमा ‘लुम्ले कफी स्टेट’ मा बिहानैदेखि साँझसम्म भिडभाड हुन्छ। 

आफ्नै गाउँमा उत्पादन गरेको जैविक कफीको बजारीकरणमा सक्रिय देवकोटाले ५ वर्षदेखि सडक छेउमा रहेको आफ्नै जग्गामा सानो कन्टेनरमा क्याफे सञ्चालन गरेर ग्राहकलाई कपीको स्वादले आकर्षित गरिरहेका छन्। उनी भन्छन्, ‘गाउँको कफीले बजार पाएको छ, स्वादले ग्राहक तानेको छ।’

दैनिकजसो मध्यपहाडी लोकमार्ग हुँदै गन्तव्यतर्फको यात्रामा निस्किएका कफीका पारखीलाई अहिले लुम्लेमा देवकोटाको ‘लुम्ले कफी स्टेट’ले कफी पिउनलाई रोक्ने गरेको छ। २९ वर्षीय नविनले कतारमा सिकेको सीपका साथै यूएईलगायतका विभिन्न स्थानमा पुगेर लिएको अन्तर्राष्ट्रियस्तरको तालिमको अनुभवलाई आफ्नै क्याफेमा प्रयोग गरिरहेका छन्। 

उनले भने, ‘अहिले गाउँमा कफी खेती गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ, मैले विदेशमा सीप सिके, गाउँमै आएर प्रयोग गरे।’ उनका अनुसार सडक छेउमा एकान्त वातावरणमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा घुम्न आउने पर्यटकसँगै स्थानीय पनि पुग्ने गरेका छन्।  

विदेश पर्यटकले समेत यहाँ स्वाद लिएर स्थानीय  जैविक कफी लैजाने गरेकोमा देवकोटा मख्ख छन्। आफ्नै बाँझो जग्गा जमिनको सदुपयोग गर्ने गरी गाउँ फर्किने सुनाउँदा उतै काम गर्न अनुरोध गरेको स्मरण गर्दै अहिले कतारमै रोक्न खोज्नेहरू नै खुसी भएको बताए।  

देवकोटाले वरिस्टामा कफी बनाउने तालिम लिएपछि अन्तर्राष्ट्रियस्तरमै कफी कल्चरका बारेमा समेत अध्ययन गरेको बताए। आमा दुर्गादेवी देवकोटाका अनुसार नविनलाई नर्सरी उत्पादनदेखि प्रशोधनसम्मको जानकारी छ। कफीको बोट र धुलो पनि प्याकेजिङ गरेर बेच्ने भएकाले त्यसको बजारीकरण र ब्रान्डिङमा परिवारले पनि साथ दिएको छ।  

देवकोटाले करिब १७ रोपनीमा जग्गामा आफ्नै बीउ नर्सरीसमेत आफ्नो कफी आउटलेटमा लगानीसँगै स्थानीयलाई समेत प्रोत्साहन गरेका छन्। उनले कफीको महत्वबारे र गुणस्तरका बारेमा तालिम दिएका यूवाहरुले अहिले धमाधम व्यवसाय समेत सञ्चालन गरिरहेका छन्। 

म्याग्दीकी उद्यमी प्रमिला जोशी श्रेष्ठ वैदेशिक रोजगारीबाट फर्किएपछि आफ्नै गाउँमा कफीको स्वाद चखाउन व्यस्त देवकोटा युवा पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताइन्। देवकोटाजस्ता युवा उद्यमीलाई राज्यका निकायबाट समेत प्रोत्साहनको आवश्यकता रहेको श्रेष्ठको भनाई छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024