एजेन्ट खारेजीको सात महिना, ठगीका उजुरी ४४ प्रतिशत घट्यो

1 February, 2020

मुकुन्द गैरे

काठमाडौं माघ १७ गते । बैदेशिक रोजगारीमा ‘एजेन्ट’ प्रथा खारेज करीब सात महिनाको अवधिमा नै व्यक्तिगत ठगीको उजुरीमा ४४ प्रतिशतले कमी आएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ठगी आरोपितहरूका बिरुद्ध ८१ प्रतिशत बढी मु्द्दा दर्ता गरेको थियो ।

अर्काेतिर ठगीमा उजुरीकर्ताले दाबी गरेको बिगो रकममा ३० प्रतिशतले गिरावट आएको छ भने विभागले आरोपितहरूका बिरुद्ध अदालतमा दाबी गरेको बिगो रकम ३७ प्रतिशतले बढेको विभागको भनाई छ ।

बैदेशिक रोजगारीमा जान चहानेहरू ऐजेन्ट मार्फत धेरै ठगिएको गुनासा पछि सरकारले गत जेठमा खारेज गरेको थियो ।नेपाल प्रहरीसँगको हालैको सम्झौताले व्यक्तिगत ठगीका घटना थप नियन्त्रण हुने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारको नाममा हुने ठगी कम गर्न वैदेशिक रोजगार विभागले प्रहरीसँग केही समय अघि सम्झौता गरेको थियो ।

वैदेशिक रोजगार विभागले मेनपावरका एजेन्ट खारेज गरे पनि अहिले मेनपावरमा एजेन्टको काम गरिरहेका छन् । तर उता नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिष्णु गैरे ‘एजेन्ट’ शब्द नै खारेज भईसकेकोले उनीहरूसँग आफूहरूको सम्बन्ध नभएको बताउँनुहुन्छ ।

वैदेशिक रोजगार विभागले एजेन्ट खारेज गरे पनि झोले एजेन्ट काठमाडौंदेखि गाउँ– गाउँसम्म सञ्जाल छ । देश वैदेशिक रोजगारको एजेन्टको अवैधानिक रुपमा काम गर्नेको संख्या एकिन नभए पनि चार देखि पाँच हजारको हाराहारीमा रहेको अनुमान छ । तर वैधानिक रुपमा दर्ता भएका मेनपावर कम्पनीको संख्या ८५४ रहेका छन् ।

वैदेशिक रोजगारमा जाने कामदारको लागी फ्री भिसा फ्रि टिकटको प्रावधान लागु गरे पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन् । मेनपावर व्यवसायीहरूले कामदारबाट सिधै पैसा दिँदा कारवाही हुने डरले एजेन्टबाट रकम लिने गरेको बैदेशिक रोजगारीमा सममस्या परेकाहरूलाई कानुनी सहायता दिदै आएको पिपुल्स फोरम अन्तर्गत निःशुल्क कानुनी सहायता परियोजनाका संयोजक सुदीप देवकोटा बताउनुहुन्छ ।

पछिल्लो समय वैदेशिक रोजगारको नाममा एजेन्टहरुले यूरोपमा राम्रो कमाई हुने लोभ देखाएर पैसा उठाएर सम्पर्क विहीन हुने घटना बढीरहेको देवकोटा बताउनुहुन्छ । युरोप अमेरिकाका नाममा ठगीने व्यक्ति धेरै पढेलेखेका रहेको उहाँको अनुभव छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मप्रसाद भुसाल वैदेशिक रोजगारीमा हुने ठगी रोक्न नेपाल प्रहरीसँग विभागले सहकार्य गरेको बताउँदै आगामी दिनमा ठगी कम हुदैं जाने उहाँको विश्वास छ ।

अब कुनै व्यक्ति वैदेशिक रोजगारीको नाममा ठगिए सिधै नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सक्ने उहाँको भनाई छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024