इ-डिभी भर्नेको घुइँचो

24 October, 2011

निर्मल घिमिरे

अमेरिका बसोबासको सपना बोकेर डिभी चिट्ठा भर्नेको अहिले बढेको छ। यस वर्ष असोज १८ गते सुरु भएको चिट्ठा भर्ने समय कात्तिक १९ गते सकिँदैछ।

‘दसैंले गर्दा सुरुमा धेरैले भर्न पाएका थिएनन्,’ गोश्वारा हुलाक कार्यालयका वरिष्ठ हुलाक अधिकृत बन्धुप्रसाद बास्तोला भन्छन्, ‘अन्तिममा भर्नेरूरुको चाप एक्कासि बढ्दा तलमाथि पर्न सक्ने आशंका धेरैमा भएकाले अहिले आवेदनकर्ता बढी आउँछन्।’

अमेरिकामा आप्रवासीलाई व्यवस्थित किसिमले भित्राउन चिट्ठाका माध्यमबाट ‘डाइभर्सिटी भिसा’ (डिभी) मा सरिक हुनेको संख्या नेपालमा वर्षेनी बढ्दै गएको यस क्षेत्रमा लागेका व्यवसायीहरू बताउँछन्। चिट्ठा भराउन गोश्वारा हुलाकबाहेक थुप्रै निजी व्यवसायी सक्रिय छन्।

शंकरदेव क्याम्पसनजिकै ‘यारा डिजिटल’का सञ्चालक यमनाथ लम्साल अहिले डिभी भर्नेको संख्या ह्वात्तै बढेको सुनाउँछन्। ‘अघिल्लो वर्ष भरेर नपाएकाहरूले त्यसपछि पनि वर्षेनी भर्न छाड्दैनन्,’ सात वर्षदेखि यो व्यवसाय चलाउँदै आएका लम्साल भन्छन्, ‘त्यसबाहेक प्रत्येक वर्ष उल्लेखनीय संख्यामा नयाँ आवेदक थपिँदै गएका छन्।’ लम्सालका अनुसार उनको केन्द्रबाट अहिले दैनिक चार सयले इडिभी भर्ने गरेका छन्।

बानेश्वरस्थित इ-जोनमा इडिभी भर्न आएका बर्दियाका अनुपम न्यौपाने अहिले यी केन्द्रका कर्मचारीलाई भ्याइनभ्याई भइरहेको सुनाउँछन्। फोटो खिच्ने, मितिलाई अंग्रेजी क्यालेन्डर अनुकूल बनाउने र भर्नेजस्ता ठाउँमा कर्मचारीहरू व्यस्त देखिन्छन्। यस्ता स्थानमा युवायुवती कै चाप बढी देखिन्छ। अन्य केन्द्रहरू जत्तिकै भिड न्युरोडको ‘इ स्पट’मा पनि देखियो।

वर्षेनी इ-डिभी भर्नेमध्यमै पर्छन् उदयपुरका हरि खतिवडा। ‘तीनपटक लगातार प्रयास गरिसकें,’ खतिवडा भन्छन्, ‘आफैसँग आएर सँगै भर्नेहरू अमेरिका पुगिसकेको सम्झँदा थाम्न नसकेर लगातार भर्ने गरेको छु।’ उनले आफ्नो साथमा डिभी भरेका तीन जना

उडिसकेको जानकारी पनि दिए।

मुलुकमा बढ्दो बेरोजगारीले यस्तो चिट्ठा भर्नेहरूलाई आकर्षित गर्दै आएको वरिष्ठ हुलाक अधिकृत बाँस्तोला बताउछन्। ‘अवसरको कमी देखेर अन्य मुलुक पाए पनि जान खोज्ने युवा पुस्ता बढ्दै गएका छन्,’ उनी भन्छन्, ‘यस्तोमा अमेरिका जाने मौकाको प्रयास गर्न चाहना राख्ने बढ्दै जानु अस्वाभाविक होइन।’

बाँस्तोलाका अनुसार सरकारी कार्यालय भएकाले विश्वसनीयता बढी हुन्छ भन्दै हुलाकमा आएर धेरैले इ-डिभी भर्ने गरेका छन्। त्यसबाहेक निजी क्षेत्रका धेरैले लिने शुल्कभन्दा गोश्वारा हुलाकमा निकै कम पर्ने जानकारी पनि उनले दिए। यहाँ प्रतिव्यक्ति ८५ रुपैयाँ दस्तुर लिने गरिएको छ। त्यसैगरी दुई जनाको भर्दा एक सय १० रुपैयाँ र परिवारका निम्ति एक सय ३५ रुपैयाँ तोकिएको छ।

‘यस्तो चिट्टाका निम्ति अन्तिम समयमा सबै मुलुकबाट जाने मेलको मात्रा बढेर जाम हुने डर धेरैमा पाइन्छ,’ बाँस्तोला भन्छन्, ‘त्यसैले पनि यो समयमा भिड बढेको हो।

गत वर्ष मुलुकभरबाट दुई लाख जनाले यो चिट्ठामा सहभागिता जनाएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024