अस्ट्रेलियाको नयाँ भिसा नीतिले नेपाली विद्यार्थीलाई कस्तो असर पार्ला?

6 October, 2026

Sunita Sitaula

अस्ट्रेलियाले विद्यार्थी भिसासम्बन्धी नियममा कडाइ गरेको छ।

नयाँ नीति अनुसार डिप्लोमा, ब्याचलर र मास्टर्स तहमा पढ्न अरू देशबाट जाने विद्यार्थीले सामान्यतः परिवारका सदस्यलाई डिपेन्डेन्टका रूपमा अस्ट्रेलिया लैजान पाउने छैनन्।

त्यस्तै, अस्ट्रेलिया पुगेपछि कलेज वा विश्वविद्यालय परिवर्तन गरेका विद्यार्थीले नयाँ विद्यार्थी भिसाका लागि अस्ट्रेलियाबाटै आवेदन दिन नपाउने व्यवस्था गरिएको छ। उनीहरूले भिसाका लागि अस्ट्रेलिया बाहिर गएर आवेदन दिनुपर्ने हुन्छ।

विद्यार्थी भिसामा अस्ट्रेलिया सरकारको नयाँ नीतिले त्यहाँको शिक्षा क्षेत्रमा कस्तो असर पार्छ भन्ने विषयमा हामीले अस्ट्रेलियामै कलेज सञ्चालन गर्दै आएका सुवान्स साह र गणेश केसीसँग कुराकानी गरेका छौं।

नयाँ व्यवस्थाले सबभन्दा पहिले अस्ट्रेलिया पढ्न जाने आकर्षणमै असर पार्न सक्ने सिड्नीस्थित अस्ट्रेलियन इन्टरनेसनल एकेडेमीका सञ्चालक सुवान्स साह बताउँछन्।

‘एक त परिवार ल्याउन नपाइने, अर्को यहाँ आएपछि कलेज परिवर्तन गरेर यतैबाट भिसा आवेदन दिन पनि नपाइने। यी दुवै कुराले विद्यार्थीलाई अस्ट्रेलिया आउने कि नआउने भनेर सोच्न बाध्य पार्छ,’ सुवान्सले भने।

उनका अनुसार यी परिवर्तन सुरूमा १२ महिनाको अवधिमा क्रमशः लागू गर्ने भनिएको थियो। तर सरकारले अक्टोबर २ देखि एकै पटक लागू गर्‍यो। अस्ट्रेलिया पुगिसकेका विद्यार्थीलाई समेत नयाँ व्यवस्थामा समेटिएकाले उनीहरूलाई केही समय ‘ग्रेस पिरियड’ दिनुपर्ने उनको भनाइ छ।

‘नयाँ भिसा नियम नयाँ विद्यार्थीलाई मात्र होइन, पुरानालाई पनि लागू गरिदिए। कम्तीमा ग्रेस पिरियड दिनुपर्थ्यो,’ उनले भने, ‘यहाँ आइसकेको मान्छेलाई त्यस्तो दुःख दिनु हुँदैन। त्यो चाहिँ अन्याय भयो एकदमै।’

अस्ट्रेलिया पुगेपछि कलेज वा विश्वविद्यालय परिवर्तन गर्नु विद्यार्थीका लागि सामान्य भएको उनी बताउँछन्। विषय नमिलेको, कलेजको अवस्था वा पढाइसँग सम्बन्धित अन्य कारणले विद्यार्थीले पढिरहेको संस्था परिवर्तन गर्दै आएका छन्।

तर अब यसरी संस्था परिवर्तन गर्न नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन अस्ट्रेलिया बाहिर जानुपर्ने हुन्छ।

यसले विद्यार्थीको पढाइसँगै बसाइ र दैनिक जीवनमै समस्या पार्न सक्छ। देश बाहिर गएर भिसा प्रक्रिया पूरा गर्नुपर्ने भएपछि बसाइ, घरभाडा र आफूसँग भएका सामान व्यवस्थापन गर्नसमेत उनीहरूलाई समस्या हुने देखिन्छ।

विशेषगरी नेपालबाट अस्ट्रेलिया जाने धेरै विद्यार्थीले पढाइसँगै काम गरेर आफ्नो अध्ययन खर्च व्यवस्थापन गर्छन्। कतिपय विद्यार्थी परिवारका सदस्यसँगै अस्ट्रेलिया जान्छन् र परिवारका एक सदस्यले काम गरेर अर्को पढ्ने योजनामा हुन्छन्।

नयाँ व्यवस्थाले अस्ट्रेलियामा आफ्नो पढाइ र बसाइको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने विषय चुनौतीपूर्ण बनेको सुवान्सले बताए।

‘एक जना काम गर्ने, एक जना पढ्ने हुन्छ। तर अहिले नयाँ नियमले पूरा शिक्षा उद्योगमै ठूलो धक्का पारेको छ,’ उनले भने।

एउटै विश्वविद्यालय वा शैक्षिक संस्थामा रहेर उच्च तहको अध्ययनमा जाने विद्यार्थीले भने अस्ट्रेलियाबाटै आवेदन दिन सक्ने उनले बताए।

अब विद्यार्थीले अस्ट्रेलियामा पढ्ने निर्णय गर्नुअघि पटक पटक सोच्नुपर्ने अवस्था सिर्जना भएको छ। नयाँ नीतिले विद्यार्थीको आवेदनमा समेत ठूलो असर परेको देखिन थालेको छ।

अहिले विदेशबाट नयाँ विद्यार्थी भर्नाका लागि आउने सोधपुछ लगभग शून्यमा पुगेको सुवान्सले बताए।

‘बाहिरबाट भिसा दिएको छैन। हाम्रो कलेजमा अहिले सोधपुछ शून्य छ,’ उनले भने, ‘आफ्नै खल्तीबाट पुनः लगानी गर्दै चलाउँदै छु।’

पछिल्लो नीतिगत कडाइका कारण विद्यार्थीले अस्ट्रेलियाको विकल्पसमेत खोज्न थालेका छन्। क्यानडा, बेलायत, न्युजिल्यान्ड र जापानलाई वैकल्पिक अध्ययन गन्तव्यका रूपमा हेर्न थालिएको उनले बताए।

सुवान्स सन् १९९९ मा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए। त्यसअघि उनी काठमाडौं विमेन्स कलेजमा रसायनशास्त्र पढाउँथे।

अस्ट्रेलिया पुगेपछि सूचना प्रविधि अध्ययनसँगै पार्टटाइम काम गरेका उनले स्नातकोत्तर तहको पढाइमा विश्वविद्यालय ‘टप’ गरे। अनि त्यही विश्वविद्यालयमा जागिर पाए।

सन् २००५ देखि २०१२ सम्म उनले विश्वविद्यालयको बिजनेस विभाग प्रमुख भएर काम गरे। त्यसपछि सन् २०१७ देखि आफ्नै कलेज चलाउँदै आएका छन्।

कलेज सुरू गरेको एक वर्षमै थप दुई ठाउँमा शाखा विस्तार गरे पनि पछि ती शाखा बन्द गर्नुपरेको उनले बताए।

मूलतः अस्ट्रेलियाको शिक्षा क्षेत्र सरकारी नीतिमा धेरै निर्भर छ। सरकारले आप्रवासन घटाउने नीति लिँदा त्यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय विद्यार्थी र उनीहरूमा निर्भर निजी कलेजमा पर्छ।

अस्ट्रेलियन प्यासेफिक इन्टरनेसनल कलेजका सञ्चालक गणेश केसी पनि नयाँ व्यवस्थाले नेपाली विद्यार्थीको संख्या घटाउन सक्ने बताउँछन्।

पछिल्लो डेढ वर्षयता नेपालबाट अस्ट्रेलिया पढ्न जाने विद्यार्थीले भिसा पाउन कठिन भइरहेको उनको अनुभव छ। त्यसमाथि परिवारका सदस्य लैजान नपाउने व्यवस्थापछि अस्ट्रेलिया अध्ययन गन्तव्य बन्ने आकर्षण कम हुने उनी बताउँछन्।

‘अस्ट्रेलिया बहुसांस्कृतिक देश हो। एउटै देशका धेरै विद्यार्थी ल्याउनेभन्दा पनि विभिन्न देशका विद्यार्थीको मिश्रण छ। त्यही भएर नेपालीलाई भिसा कम नै थियो। नयाँ नीतिले त पढ्न आकर्षण नै घट्छ,’ गणेशले भने।

विद्यार्थीको आकर्षण घट्दा त्यसको प्रत्यक्ष प्रभाव अस्ट्रेलियामा कलेज सञ्चालन गरिरहेका संस्थामा पर्ने उनले बताए।

गणेश विगत १८ वर्षदेखि अस्ट्रेलियाको शिक्षा क्षेत्रमा काम गर्दै आएका छन्। सन् १९९७ मा अस्ट्रेलिया पुगेका उनले त्यसबीच फाइनान्स, शिक्षा र रियल–इस्टेट लगायत क्षेत्रमा काम गरे। पछिल्लो आठ वर्षदेखि भने उनी आफ्नै कलेज सञ्चालन गर्दै आएका छन्।

उनको कलेजमा सूचना प्रविधि, किचन म्यानेजमेन्ट, हस्पिटालिटी, कन्स्ट्रक्सन र बिजनेस लिडरसिप लगायत विषयका १४ वटा कोर्स सञ्चालनमा छन्। प्रत्येक सिजनमा विभिन्न देशका तीन सयदेखि चार सय नयाँ विद्यार्थी कलेजमा आउँछन्।

कुल विद्यार्थीमध्ये करिब ३० प्रतिशत नेपाली विद्यार्थी छन्। बाँकी विद्यार्थी कोरियन, मंगोलियन, चिनियाँ लगायत विभिन्न देशका छन्।

‘भिसा सम्बन्धी नीतिमा हुने परिवर्तनले नेपाली मात्रै नभई अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या र कलेजको समग्र गतिविधिमा समेत असर पार्छ,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026