भूमिकास्थान नगरपालिका–८ लात्तेबाँजमा पाल्पाका मजदुर र स्थानीयबीच झगडा हुँदा १३ जना घाइते भएका थिए । भदौ २३ गते स्थानीय र मजदुरबीच वादविवादपछि राती ९ बजेतिर झगडा भएपछि आपसमा कुटाकुट भएको थियो ।
प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा ९ जना, दुई जना सन्धिखर्कको छाँया अस्पताल प्रा.लि.र अर्घाखाँची अस्पतालमा दुई जनाको उपचार भएको थियो । अहिले सबै घाइते अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु लात्तेबाँझ घटना हुनुभन्दा दुई दिनअघि मात्र पाल्पाबाट मजदुरीका लागि त्यहाँ आएका थिए ।
मजदुर र स्थानीयबीच द्वन्द्व भएपछि सन्धिखर्कमा रहेका भूमिकास्थान नगरपालिका–८ का वडाध्यक्ष राजकुमार श्रेष्ठलाई स्थानीयले खबर गरेर बोलाएका थिए ।
झगडालाई साम्य पार्न गएको दाबी गरेका श्रेष्ठलाई प्रहरीले घटनाको आठ दिनपछि पक्राउ गरेको छ । मंगलबार साँझ सन्धिखर्कस्थित घरबाटै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि थुनामा राखेको छ ।
प्रहरी नायब उपरीक्षक दिवस जिसीले घाइते दिलबहादुर रास्कोटीले बुटवल प्रहरी कार्यालयमा जाहेरी दिएपछि श्रेष्ठलाई नियन्त्रणमा लिएको बताए । ‘लात्तेबाँज घटनामा श्रेष्ठसहित ७ जना स्थानीयले मजदुरमाथि आक्रमण गरेको भन्दै किटानी जाहेरी छ,’ उनले भने, ‘त्यसैको आधारमा हामीले श्रेष्ठलाई अनुसन्धानका लागि पक्राउ गरेका हौं । ५ दिने म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’ श्रेष्ठ बाहेक अरुलाई पनि पक्राउ गरिने उनले बताए । जाहेरी दिने व्यक्तिसहित घाइतेलाई प्रहरी कार्यालयमा बोलाइएको छ ।
पाल्पा निर्वाचन क्षेत्र–२ का सांसद डा. माधवबहादुर थापाले आफ्नो क्षेत्रका मजदुर कुटिएको विषयमा संसदमा कुरा उठाएका थिए । ‘सामान्य भनाभनको विषयलाई लिएर स्थानीयले मजदुरलाई घाइते हुने गरी कुटपिट गर्नु राम्रो होइन,’ उनले इकान्तिपुरसँग भने, ‘निमुखा मजदुरलाई यसरी कुट्नु हुँदैन ।’ मजदुर कुट्ने माथि जाहेरी दिँदा पनि प्रहरीले लिन नमानेको उनको आरोप छ । उनले मजदुर माथि स्थानीय प्रशासनले अन्याय गरेको बताए ।
मजदुरहरु लात्तेबाँजमा सल्लाका मुढा लोड गर्न आएका थिए । प्रहरीका अनुसार वडाध्यक्ष श्रेष्ठले घटनालाई मथ्थर पार्न, शान्त बनाउन गएको बयान दिएका छन् । घटनामा अभिभावकीय भूमिका खेलेका वडाध्यक्षमाथि झुटा आरोप लगाएर पक्राउ गराइएको श्रेष्ठ परिवार बताउँछन् ।
प्रहरीका अनुसार सबै घाइते उपचारपछि डिस्चार्ज भएर घरमा पुगिसकेका छन् । घाइते भएकामध्ये पाल्पा रैनादेवी गाउँपालिका–८ का रेसम राना, सोही वडाका विवेक पंगेनी, किशोर रास्कोटी, तिलक घर्ती, लालबहादुर राना, जितबहादुर राना, सोमबहादुर घर्ती र अर्घाखाँची पाणिनि गाउँपालिका–२ का भरत रोका र भूमिकास्थान नगरपालिका–८ का महेश श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पतालमा, रैनादेवी–८ का डिलबहादुर रास्कोटी र पाणिनि–२ का मुकेश सूर्यवंशीको अर्घाखाँची अस्पताल र भूमिकास्थान नगरपालिका–८ का महेश श्रेष्ठ, सचिन श्रेष्ठको सन्धिखर्कस्थित छाँया अस्पताल प्रा.लि.मा उपचार भएको थियो ।
घटनापछि प्रहरी कार्यालयमा पुगेर जाहेरी दिँदा प्रहरी प्रमुख दिवस जिसीले लिन नमानेर अन्याय गरेको र सांसदले संदनमा कुरा उठाएपछि बल्ल जाहेरी लिएको आरोप मजदुरको छ । जिसीले भने सुरुमा आएको जाहेरी हेर्दा मुद्दा कमजोर हुन्छ भनेर सच्याएर बलियो बनाएर ल्याउन घाइतेलाई अनुरोध गरेको बताए । पक्राउ परेका श्रेष्ठ कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।