अरब जानेको स्वास्थ्य परीक्षण शुल्क घट्ने

15 January, 2012

साउदी अरब जाने कामदारको स्वास्थ्य परीक्षण जिम्मा पाएको गाम्का नेपालले स्वास्थ्य परीक्षण शुल्क एक साताभित्र घटाउने छ। गाम्काले दुई साताअघि स्वास्थ्य परीक्षण शुल्क ४ हजार रुपैयाँ पुर्‍याएको थियो। यसअघि साउदी जाने कामदारले ३ हजार २ सय रुपैयाँमात्र तिर्नुपर्थ्यो। 

गल्फ सहयोग परिषद (जिसिसी) बाट मान्यताप्राप्त मेडिकल सेन्टर एसोसिएसन (गाम्का) मा १२ मेडिकल सेन्टर छन्। ‘गाम्काले एक साताभित्रै शुल्कवृद्धि फिर्ता गर्ने प्रतिबद्धता गरेको छ,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष हंशराज वाग्लेले शनिबार नागरिकसँग भने।

संघले कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएको विरोधमा साउदी कामदार नपठाउने निर्णय गरेको थियो। वाग्लेका अनुसार एक साताभित्रै गाम्काको कार्यसमिति बैठक बसेर यसको निर्णय जिसिसीलाई जानकारी गराएपछि शुल्कवृद्धि फिर्ता हुने सहमति भएको छ। 

गाम्काले नेपाली कानुन उल्लंघन गर्दै आफूखुसी स्वास्थ्य शुल्क तोकिरहे पनि सरकारी निकायले कुनै कारबाही गर्न सकेको छैन।

वैदेशिक रोजगार ऐन २०६४ मा विदेश जाने कामदारको स्वास्थ्य शुल्क २ हजारमात्र लिन पाइने प्रावधान छ। साउदी, ओमान र बहराइन जाने नेपाली कामदारले १२ मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गर्नुपर्छ। गाम्काबाट मान्यता नपाएका मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गरेकाको भिसा लाग्दैन।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024