अमेरिका लैजाने भन्दै एक करोड ४२ लाख असुलेर मेक्सिकोमा पुर्‍याई अलपत्र बनाउने वडाध्यक्ष पक्राउ 

13 May, 2026

अमेरिका लैजाने भन्दै एक युवतीलाई मेक्सिकोमा लगेर अलपत्र बनाउने व्यक्ति पक्राउ परेका छन्। एक करोड ४२ लाख असुलेर एक युवतीलाई अलपत्र बनाएको आरोपमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ का अध्यक्ष शिवबहादुर थापालाई प्रहरीको मानव बेचबिखन ब्युरोेले सोमबार पक्राउ गरेको हो।

उनले एक युवतीलाई ६० लाख रुपैयाँमा अमेरिका लैजाने भन्दै सुरुमा दुबईको होटेलमा लगेर राखेका थिए। पछि २८ अगस्त २०२४ मा दुबईबाट बहराइन, टर्की, ब्राजिल, पेरू, कोलम्बिया लगिएको थियो। यसरी एक वर्ष अवधिमा आफूलाई विभिन्न ठाउँमा राखेर शारीरिक तथा मानसिक यातना दिनुका साथै विभिन्न व्यक्तिबाट बलात्कारसमेत भएको पीडितले बताएकी छिन्।

त्यसपछि पीडितले नेपाल फर्काउन अनुरोध गर्दा थापाले थप पैसा मागेको ब्युरोका एसपी राजन लिम्बूले बताए। युवतीले ९८ हजार नौ सय अमेरिकी डलर हालेपछि उनले आफ्नो एजेन्टमार्फत पानामाको जंगल हुँदै मेक्सिको पुर्‍याएका थिए। अमेरिका छिराउन नसकेपछि युवतीले नेपाल फर्काउन आग्रह गर्दा उनले थप २० हजार डलर मागेको र दिन नसकेपछि त्यसपछि अलपत्र छाडेर सम्पर्कविहीन बनेका थिए। पछि ती युवती अमेरिका बस्ने आफन्तसँग समन्वय गरी नेपाली दूतावासको सहयोगमा गत २ वैशाखमा नेपाल फर्किएकी थिइन्। नेपाल फर्किएपछि उनले दिएको उजुरीका आधारमा ब्युरोले वडाध्यक्ष थापालाई पोखराबाट पक्राउ गरेको हो। उनलाई मानव तस्करीको कसुरमा अनुसन्धान अघि बढाइएको एसपी लिम्बूले बताए।

त्यस्तै, अमेरिका पठाइदिने आश्वासनमा ६५ लाख असुलेर मेक्सिको पठाउने दाङका लोकमान खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनले पठाएका युवकलाई अमेरिकी सुरक्षाकर्मीले सीमामा पक्राउ गरी १४ महिना जेल राखेका थिए। गत २४ चैतमा उनी नेपाल फर्किएपछि उजुरी गरेका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024