अमेरिकाले नेपाली विद्यार्थीसँग लिने भिसा शुल्क घटायो

3 April, 2019

दुई सय डलर लिँदै आएकोमा  अब १६० डलर मात्र

अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीसँग भिसा प्रोसेसिङका नाममा अमेरिकी दूतावासले लिँदै आएको २ सय डलर अब नलिने भएको छ । दुई देशबीच भिसा पारस्पारिकताको कार्यान्वयनका क्रममा नेपालले अतिरिक्त शुल्क नलिन गरेको आग्रहमा अमेरिकी दूतावास राजी भएको हो ।

‘एक महिनाभित्र दूतावासले कार्यान्वयन गर्ने प्रतिबद्धता आज पनि दोहोर्‍याएको छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसबाट हाम्रो करोडौँ जोगिनेछ ।’  अब नेपाली विद्यार्थीले अमेरिकी भिसाका लागि एक सय ६० डलर मात्र तिरे पुग्छ । हरेक वर्ष करिब १२ हजार नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका जाने गर्छन् । जसअनुसार कम्तीमा नेपालीको २ करोड ४० लाख रुपैयाँ बचत हुनेछ । 

 

गत १ जनवरीदेखि लागू हुने गरी नेपाल र अमेरिकाबीच पर्यटक भिसामा पारस्पारिकता लागू गर्ने निर्णय भएको थियो । यद्यपि, औपचारिक उद्घाटन सोमबार भएको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलले सोमबार तीन अमेरिकी पर्यटकलाई पाँचवर्षे बहुप्रवेशी भिसा प्रदान गरेका हुन् । कार्यक्रममा सहभागी काठमाडौंस्थित अमेरिकी दूतावासका कन्सुलर माइकल मोसीले अतिरिक्त शुल्क नलिने प्रक्रिया अघि बढेको र छिटै कार्यान्वयन हुने बताए । 

 

नेपाल सरकारले भिसा नलागेको अवस्थामा पनि आवेदन शुल्क फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, त्यसलाई भने दूतावासले अस्वीकार गरेको छ । भिसाको आवेदन दिनेमध्ये करिब १५ प्रतिशत नेपालीले मात्र अमेरिकी भिसा पाउँछन् । भिसा नलागे पनि शुल्क भने तिर्नुपर्छ । जापानी दूतावासलगायतले भिसा नलागेको अवस्थामा शुल्क फिर्ता गर्छन् । 

 

अमेरिकी बालबालिकालाई पनि भिसा शुल्क लाग्ने 

 

नेपालले १० वर्षमुनिका विदेशी बालबालिकालाई निःशुल्क भिसा दिँदै आएको थियो । तर, अब भने अमेरिकी बालबालिकासँग भिसा शुल्क लिने भएको छ । नेपालका १० वर्षमुनिका बालबालिकासँग अमेरिकाले शुल्क लिने भएकाले आफूहरूले पनि अमेरिकी बालबालिकासँग भिसा शुल्क लिन थालेको अध्यागमन विभागका महानिर्देशक पौडेलले बताए । 

 

तीन महिनामा पाँच अमेरिकीले लिए बहुप्रवेशी भिसा 

 

अमेरिका जाने नेपालीले पाँचवर्षे बहुप्रवेशी भिसा पाएजस्तै अमेरिकीले पनि नेपालमा एक सय ६० डलरमा बहुप्रवेशी भिसा पाउँछन् । तीन महिनाको अवधिमा पाँचजना अमेरिकीले मात्रै यस्तो भिसा लिएको महानिर्देशक पौडेलले बताए । सम्झौताअनुसार अमेरिकीहरू एक वर्षमा एक सय ८० दिन बस्न पाउँछन् । अन्य देशका पर्यटक एक वर्षमा बढीमा एक सय ५० दिन मात्र बस्न पाउँछन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024