मणि दाहाल
गत जनवरीमा केन्याको नैरोबीस्थित विमानस्थलमा उत्रिँदा भीमदत्त नगरपालिका–११, भुजेलाका जितु अधिकारीका हातमा नियुक्तिपत्र थियो। त्यसमा लेखिएको थियो– मुम्बासास्थित होटल ‘दिल्ली सिक्स’ मा वेटर। तलब मासिक १ हजार २ सय अमेरिकी डलर।
‘कामदारको रूपमा अफ्रिका जानेहरू सम्पर्कमा आउन चाहँदैनन्। त्यहाँ उनीहरूको अवस्था राम्रो छैन। उनीहरू आर्थिक तथा शारीरिक शोषणमा पर्ने गरेका छन्’
हिन्दु महासागरको तटमा अवस्थित पर्यटकीय तथा व्यापारिक नगरी मुम्बासा पुगेपछि उनले चाल पाए उनी ठगिएका रहेछन्। ‘केको काम पाउनु, उल्टै होटलमा बन्धक बनाएर राखियो,’ नेपाल फर्केका अधिकारीले नागरिकसँग भने, ‘हामीले घरबाट पैसा मगाएर नेपाल फर्कियौं।’
रोजगारीका लागि भन्दै केन्या पुर्याटएर ठगिएकामा अधिकारी एक्ला थिएनन्। करिब दुई महिना लगाएर उनी नेपाल फर्के। ‘त्यहाँ हामी १२ जना थियौं,’ उनले भने, ‘अझै एकजना साथी फर्कन सकेको छैन।’
त्यहाँ बस्दाको खर्च र नेपाल फर्कन लागेको हवाई टिकट गरी उनको १० लाख रुपैयाँ खर्च भएको छ। उनले भने, ‘एकजना बराबर ६ लाख रुपैयाँ दलाललाई बुझाएका थियौं।’
पैसा फिर्ता पाउने आसमा उनी अहिले काठमाडौंमा छन्। उनीलगायत अन्यले वैदेशिक रोजगार विभागमा कारबाही र क्षतिपूर्ति माग गर्दै निवेदन दिएका छन्। तर, उनलाई पुरै पैसा असुली हुनेमा शंका छ। ‘भर्खरै एकजना दलाल पक्राउ पर्योप,’ उनले भने, ‘अरु चाहिँ सम्पर्कविहीन छन्।’
उनीमात्रै होइन। राम्रो रोजगारीको लोभमा पछिल्लोपटक अफ्रिका लगेर अलपत्र पर्नेको संख्या बढ्दै गएको छ। ‘केन्यामा मात्रै एक सयभन्दा बढी अलपत्र परेका नेपालीलाई भेटेँ,’ उनले भने, ‘केहीलाई युरोप पुर्या्उने भन्दै अलपत्र पारेर छाडिएको छ।’
दक्षिण अफ्रिका, माडागास्कार, घाना, नाइजेरिया, तान्जानिया, केन्या लगायतका देशमा रोजगारीका लागि भन्दै लगेर छाड्ने गरिएको छ। यो कार्यमा नेपाली र भारतीय दलाल बढी सक्रिय छन्। नेपालबाट श्रम स्वीकृतिबिनै भारतीय तथा नेपाली दलालले भारतको बाटो हुँदै गैरकानुनी रूपमा अफ्रिका जाने अधिकांश अलपत्र पर्ने गरेका छन्।
गैरआवासीय नेपाली संघ अफ्रिकाका संयोजक हिक्मत थापाले पछिल्लो समयमा अफ्रिकामा राम्रो रोजगारीको आश्वासन दिएर ठगी गर्ने क्रम बढेको बताए। उनले भने, ‘अफ्रिका आउनुअघि नेपालीले सतर्कता अपनाउनुपर्छ।’ भारतका बाटो हुँदै नेपालीलाई अफ्रिका ल्याउने गरिएको थापाको भनाइ छ। उनले भने, ‘त्यस्ता व्यक्तिहरू ठगिने सम्भावना बढी छ।’
अफ्रिकामा रोजगारीका लागि आउनुअघि सावधानी अपनाउनुपर्ने त्यहाँ रहेको नेपालीका सुझाव छ। एनआरएन केन्याका अध्यक्ष कुलबहादुर कार्कीले रोजगारीमा जाने स्थानको बारेमा त्यहाँ पुगेका नेपालीसँग पुरै जानकारी लिएर मात्रै आउन सुझाव दिएका छन्।
अफ्रिकाका ११ वटा देशमा एनआरएनको शाखा गठन भएको छ। एनआरएन तान्जानियाका अध्यक्ष भरत रिजालले रोजगारीका लागि अफ्रिका आउन लागेका व्यक्ति क्म्पनीबारे सोधपुछ गर्नुपर्ने बताए।
‘हामीसँग सम्पर्क राखे एक दुई दिनमा रोजगारीमा जान लागेको कम्पनीबारे जानकारी दिनसक्छौं,’ रिजालले नागरिकसँग भने, ‘यसो गरेमा अफ्रिका आउने व्यक्तिलाई ठगिनबाट जोगाउन सकिन्छ।’ उनले तान्जानियाको नेपाललाई ‘अन एराइलभ’ भिसाको दुरुपयोग गरी ठग्ने गरेको बताए।
‘तान्जानियामा तीन महिनाका लागि एन एराइभल भिसा पाइन्छ,’ रिजालले भने, ‘त्यसैले विभिन्न देशमा काम लगाइदिने भन्दै दलालले तान्जानिया पुर्यााउने गरेका छन्। तर, पछि त्यसै छाडेर भाग्ने गरेका छन्।’
उनले श्रम विभागको स्वीकृतिबिना आउने नेपाली आर्थिक तथा शारीरिक शोषणाको जोखिम रहेको बताए। तान्जानियामा श्रम स्वीकृति नलिई तीनमहिने पर्यटक भिसामा नेपाली महिला डान्सबारमा काम गर्ने गरेको भन्दै उनले त्यस्ता महिला बढी शारीरिक तथा आर्थिक शोषणमा परेको बताए।
‘उहाँहरू (कामदार) को रूपमा जानेहरू सम्पर्कमा आउन चाहँदैनन्। उनीहरूको काम गर्ने अवस्था त्यहाँ राम्रो छैन,’ रिजालले भने, ‘उनीहरू आर्थिक तथा शारीरिक शोषणमा पर्ने गरेका छन्।’
एनआरएनको पहलमा सन् २०१० मात्रै गैरकानुनी तान्जानियामा बसेको भन्दै जेल परेका नेपालीलाई स्वदेश फर्काइएको थियो।
अफ्रिका महादेशमा सीपमुलक रोजगारीको मात्रै अवसर रहेको भन्दै रिजालले भने, ‘तान्जानियामा स्तातक गरेको व्यक्तिले मात्रै श्रम स्वीकृति पाउँछ।’
केन्याका अध्यक्ष कार्की दक्ष व्यक्तिलाई मात्रै अफ्रिका आउन सुझाव दिन्छन्। ‘अफ्रिकामा शारीरिक श्रम गर्ने व्यक्तिको जागिर पाउने सम्भावना छैन,’ उनले भने, ‘उनीहरूले व्यवसायिक, प्राविधिक र व्यवस्थापक तहका कर्मचारीलाई मात्रै रोजगारी दिने गरेका छन्।’
कार्कीले दक्ष व्यक्तिलाई पनि आउँदा पनि एनआरएन वा नेपाली दूतावासमा मात्रै सम्पर्कमा राखेर आउन सुझाव दिए। पूर्वी अफ्रिकाका विभिन्न देशमा ५ हजार नेपाली काम गर्दै आएका छन्।