अपहरणको केही महिनामै विपिनको हत्या, केही दिनपछि मात्रै शव नेपाल पठाइने

15 October, 2025

खेमराज जम्मर कट्टेल

गत वर्ष ७ अक्टोबरमा हमासद्वारा अपहरण परेका नेपाली विद्यार्थी विपिन जोशीको हत्या अपहरणपछि केही महिनामै गरिएको अन्तर्राष्ट्रिय मिडियाहरूले स्रोतलाई उद्धृत गर्दै पुष्टि गरेको छ। इजरायली सेनाले गाजाबाट फेला परेका चार शवमध्ये एक विपिनको रहेको पुष्टि गरेसँगै उनको मृत्युको आधिकारिक घोषणा भएको हो।

इजरायली सेना (आइडीएफ)का अनुसार, गाजाबाट उद्धार गरिएका शवहरूमध्ये दुई इजरायली र एक नेपालीको परिचय पत्ता लागेको हो। फोरेन्सिक परीक्षणपछि विपिन जोशीकै शव भएको पुष्टि गरिएको हो। प्रारम्भिक अनुसन्धानले देखाएको छ कि अपहरणको केही महिनाभित्रै हमासले विपिनको हत्या गरेको हो।

इजरायलस्थित नेपाली दूतावासका अनुसार विपिन जोशीकी आमा र बहिनी पुष्पा जोशी अहिले अमेरिकामा छन्। उनीहरू यो शुक्रबारसम्म नेपाल फर्कने तयारीमा छन्। उनीहरू नेपाल पुगेपछि मात्र इजरायल सरकारले विपिनको शव नेपाल पठाउने प्रक्रिया अघि बढाउने जनाएको छ। यसका लागि आवश्यक सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न केही दिन लाग्नेछ।

इजरायली अधिकारीहरूले शव फेला परेको स्थान र परिस्थितिबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन्, तर सैनिक स्रोतहरूले भनेका छन् कि शव अत्यन्तै कठिन अवस्थामा गाजाको भित्री भागबाट निकालिएको थियो।

विपिन गत वर्ष हमासको आतंकवादी आक्रमणका क्रममा नोभा संगीत महोत्सवमा आक्रमण गरेको समयमा फसेका थिए। सो घटनामा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने, विपिन मात्र लामो समयसम्म ‘बन्दी’को सूचीमा रहेका एक्ला नेपाली थिए।

उनको मृत्युको खबरले इजरायलमा रहेका नेपाली समुदायलाई गहिरो दुःखमा डुबाएको छ।

इजरायलका राजदूत समूहद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली
इजरायलमा रहेका विभिन्न देशका राजदूतहरूको समूहले गाजामा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको हत्या प्रकरणमा गहिरो दुःख र संवेदना प्रकट गरेका छन्। संस्थाले एक विज्ञप्ति जारी गर्दै नेपालको सरकार, नेपाली जनताप्रति र विपिन जोशीको परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

‘हामी गाजामा बन्धक अवस्थामा रहेर निर्मम रूपमा हत्या गरिएका नेपाली नागरिकको परिवारप्रति गहिरो शोक व्यक्त गर्छौं,’ विज्ञप्तिमा भनिएको छ। समूहले उक्त घटनालाई क्रूरतापूर्ण आतंकवादी हमला भन्दै ती युवा इजरायलमा शिक्षा र अवसर खोज्न आएका थिए भन्ने उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘एक निर्दोष जीवनको यस दुःखद क्षतिमा हामी नेपालका जनतासँग सहानुभूति प्रकट गर्छौं। यो क्रूर कृत्यले हाम्रो साझा मानवीय मूल्यहरू जीवनको पवित्रता, शान्ति र करुणाको स्मरण गराउँछ।’

इजरायलस्थित राजदूत समूहले नेपाल र इजरायलबीचको मित्रता र मानवीय सम्बन्ध अझ गहिरो बनाइराख्ने प्रतिबद्धता पनि जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026